© 2026
पाल्पा ।
एक दशकअघि खोरियामा खयर लगाएका रम्भा गाउँपालिका–पिपलडाँडाका वीरबहादुर घर्तीले यस वर्ष खयर बिक्रीबाट साढे आठ लाख रुपैयाँ हात पारे । औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग हुने खयर बिक्रीबाट घर्तीका छिमेकी बलबहादुर रानाले पनि झन्डै १० लाख रुपैयाँ आम्दानी गरेको बताए ।
पछिल्लो दशकमा कालीगण्डकी नदी किनारका गाउँबस्तीका लागि खयर आम्दानीको मुख्य स्रोत बनेको छ । नगदे बालीका रूपमा स्थापित खयरले स्थानीय किसानको आयआर्जनमा समेत महत्वपूर्ण योगदान पुर्याउन थालेको कृषकहरू बताउँछन् । स्थानीयका अनुसार पिपलडाँडा गाउँमा मात्र यसको व्यावसायिक खेतीबाट एक सयभन्दा बढी परिवारले मुख्य आम्दानीको स्रोत बनाएका छन् ।
खयर औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग हुनुअघि दाउराका रूपमा मात्र प्रयोग हुने गरेको थियो । यसको ओसारपसारमा कानुनी जटिलता रहे पनि २०६० सालदेखि त्यस्तो जटिलता हटेपछि खयरको व्यावसायिक खेती सुरु भएको स्थानीय विश्व अर्याल बताउँछन् । वन कार्यालयले समेत खयरको वृक्षारोपणमा जोड दिएपछि यसको खेती विस्तार हुँदै गएको उनको भनाइ छ ।
बगनासकाली गाउँपालिका–यम्घा, मन्द्रानका हुमनाथ न्यौपानेले यस वर्ष खयरबाट राम्रो आम्दानी भएपछि १० रोपनी क्षेत्रफलमा नयाँ बिरुवा रोपण गरेको बताए । भौगोलिक बनोट तथा हावापानीका हिसाबले गर्मी क्षेत्र खयरका लागि उपयुक्त हुने भएकाले नदी किनारमा यसको उत्पादन राम्रो हुने गरेको उनले बताए । त्यसैले आफूले खयर खेतीलाई व्यावसायिक अभियानकै रूपमा अघि बढाएको उनको भनाइ छ ।
पछिल्लो समयमा वन्यजन्तुका कारण खेतीयोग्य जमिनमा खेती गर्न छाड्ने क्रम बढेको छ । कृषकलाई आम्दानीसँग जोड्न स्थानीय सरकारले डिभिजन वन कार्यालयसँग समन्वय गरी स्थानीय स्तरमै बिरुवा उत्पादन तथा वृक्षारोपणलाई अभियानका रूपमा सञ्चालन गरेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउँछन् ।
डिभिजन वन कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा खयरबाट मात्र दुई करोड रुपैयाँ बराबरको कारोबार भएको छ । तानसेन नगरपालिकाको अर्गली, बगनासकाली गाउँपालिकाको खानीगाउँ, यम्घा, राम्दी, रम्भाको पिपलडाँडा, हुँगी, रामपुर नगरपालिकाको गेझा तथा निस्दीका बाकामलाङ, मित्याल र गल्धालगायतका गाउँमा खयरको व्यावसायिक खेती हुने गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङ बताउँछन् ।
निस्दी गाउँपालिका–बाकामलाङका पूर्णबहादुर नेपालीले यस वर्ष आफ्नो बारीभरि खयरले ढाकेको बताए। एकपटक लगाएपछि सामान्य गोडमेल गरे पुग्ने र बिरुवा आफैं बढ्दै जाने भएकाले खयर खेती सहज रहेको उनको भनाइ छ । प्रविधिले खयरलाई करिब २० वर्षमा परिपक्व हुने बताए पनि कृषकहरूले १० वर्षमै काटेर बोक्रा हटाई प्रतिकेजी ५५ देखि ६० रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् । एउटा बोटबाट करिब दुई क्विन्टलसम्म उत्पादन हुने उनले बताए ।
“खयरको बजार हामीले खोज्नुपर्दैन । व्यापारी घरमै आउने भएकाले बिक्री गर्न निकै सजिलो भएको छ,” नेपालीले भने ।
खयर खेतीलाई प्रवर्द्धन गर्न रामपुर र निस्दी गाउँपालिकाले समेत समन्वय गरेपछि रामपुर र निस्दीमा सब–डिभिजन नर्सरी स्थापना गरी बिरुवा वितरण गरिएको वन कार्यालयले जनाएको छ ।
वन विकास अधिकृत मुना शर्माका अनुसार आर्थिक वर्ष २०७९/८० देखि २०८०/८१ सम्म ४ लाख ४ हजार ८४ वटा, २०८१/८२ मा ४ लाख २ हजार ४ सय ७ वटा र २०८२/८३ मा ५१ हजार ७३ वटा खयरका बिरुवा वितरण गरिएको थियो । गत आर्थिक वर्षमा २ लाख ८ हजार ६ सय ३८ क्युफिट खयर निर्यात हुँदा नेपाल सरकारलाई करिब ५८ लाख रुपैयाँ राजस्व संकलन भएको शर्माले बताइन् ।
खयरको कारोबारमा २० जनाभन्दा बढी व्यवसायी संलग्न छन् । वन तथा जंगलमा खयर कटानदेखि लोडिङसम्म करिब पाँच सय मजदुरले दैनिक एक हजार रुपैयाँका दरले रोजगारीको अवसर पाउने गरेका छन् ।
निस्दी गाउँपालिका–बाकामलाङका ३८ वर्षीय हुमबहादुर सुनारले खयरको कारोबारमा संलग्न व्यवसायीको काम गरेबापत वार्षिक करिब एक लाख रुपैयाँ आम्दानी गर्दै आएको बताए। खयर व्यवसायमा संलग्न मजदुर तथा ज्यालामा काम गर्ने अधिकांश स्थानीय नै रहेको उनले बताए ।
“वार्षिक रूपमा ८० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गरेर बचत गर्नेहरू पनि छन्,” सुनारले भने ।