Butwal Today

प्लास्टिकको विकल्प बन्दै बिजयसालका गिलास

२२ श्रावण २०८३, शुक्रबार
अ+
अ-

चन्द्रौटा ।

प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोगले वातावरणमा चुनौती थपिरहेका बेला कपिलवस्तुमा बिजयसाल (विजयसार) को काठबाट गिलास उत्पादन सुरु गरिएको छ । परम्परागत नेपाली शैली र प्राकृतिक जीवनशैलीलाई जोड दिँदै हस्त निर्मित काठका गिलास बजारमा ल्याइएको हो ।

कपिलवस्तु नगरपालिका–४, तौलिहवास्थित विन्दवासिनी काष्ठ उद्योग र कोइलीचौर सामुदायिक वनले बिजयसालको काठबाट गिलास उत्पादन गरी बजारमा ल्याएका हुन् । स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोग गरी तयार गरिएका गिलासले प्लास्टिकजन्य सामग्रीको विकल्प प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

नेपाली दक्ष कारिगरद्वारा तयार गरिएका गिलास घरायसी प्रयोगसँगै कार्यालय तथा उपहारका रूपमा समेत प्रयोग गर्न सकिने उत्पादक तथा वन क्याम्पस पोखराका स्ववियु सभापति अभिषेक शर्माले बताए । “नेपाली परम्परा, प्राकृतिक जीवनशैली र स्थानीय हस्तकलाको प्रवर्द्धन गर्ने उद्देश्यले गिलास उत्पादन सुरु गरेका हौँ,” शर्माले भने ।

बिजयसालको काठ आयुर्वेदिक दृष्टिले समेत महत्त्वपूर्ण मानिन्छ । नेपाल तथा भारतका विभिन्न स्थानमा बिजयसालको भाँडोमा रातभर पानी राखेर बिहान खाली पेट पिउने चलन अझै पनि रहेको बताइन्छ । आयुर्वेदमा बिजयसार काठको विशेष महत्त्व रहेको उल्लेख पाइन्छ ।

बिजयसालको भाँडोमा राखिएको पानी पिउँदा शरीरको प्राकृतिक सन्तुलन कायम राख्न, पाचन प्रणालीलाई सहज बनाउन, ताजगी र स्फूर्ति प्रदान गर्न तथा रगतमा चिनीको सन्तुलन कायम राख्न सहयोग पुग्ने कपिलवस्तुका आयुर्वेदिक स्वास्थ्यकर्मी गोपाल बन्जाडेले बताए ।

प्लास्टिकको प्रयोग घटाउने तथा प्राकृतिक सामग्रीको प्रयोग बढाउने उद्देश्यले सुरु गरिएको उत्पादनलाई आगामी दिनमा विस्तार गर्ने योजना रहेको कोइलीचौर सामुदायिक वन, बाणगंगाका अध्यक्ष कुन्तामणि भुसालले बताए ।

पछिल्लो समय प्राकृतिक जीवनशैली अपनाउने र रासायनिक तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग कम गर्ने उपभोक्ताको रुचि बढ्दै गएकाले बिजयसालका गिलास उत्पादन सुरु गरिएको उनको भनाइ छ । “अहिले सुरुवाती चरणमा गिलास उत्पादन गरेका छौँ । बजारको माग र उपभोक्ताको रुचिअनुसार आगामी दिनमा बिजयसालको काठबाट अन्य सामग्रीसमेत उत्पादन गर्ने योजना छ,” भुसालले भने ।

उत्पादनलाई स्थानीय बजारमा मात्र सीमित नराखी भविष्यमा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्यसमेत राखिएको छ । स्थानीय काठ, नेपाली सीप र परम्परागत हस्तकलालाई जोडेर उत्पादन गरिएका सामग्रीले वातावरणमैत्री जीवनशैलीसँगै स्थानीय स्तरमा रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?