© 2026
दाङ । दाङमा आजसम्म कुल ९४ प्रतिशत जमिनमा धान रोपाइँ सम्पन्न भएको छ ।
दाङमा कुल ७४ हजार ३३६ हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये झन्डै ५० प्रतिशत जमिनमा धान खेती हुन सक्दैन । जिल्लामा ३७ हजार २२५ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेकोमा आजसम्म ३४ हजार ९९१ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।
देउखुरी उपत्यकाको लमही नगरपालिका तथा राप्ती, गढवा र राजपुर गाउँपालिकामा सिँचाइ सुविधा पुगेको छ ।
घोराही उपमहानगरपालिकामा आठ हजार ९७ हेक्टर, तुलसीपुर उपमहानगरपालिकामा छ हजार ७९५ हेक्टर, दङ्गीशरण गाउँपालिकामा तीन हजार ४१२ हेक्टर, गढवा गाउँपालिकामा तीन हजार २८० हेक्टर र लमही नगरपालिकामा तीन हजार २५० हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ ।
त्यसै गरी, राप्ती गाउँपालिकामा तीन हजार २४५ हेक्टर, राजपुर गाउँपालिकामा तीन हजार १०३ हेक्टर, शान्तिनगर गाउँपालिकामा दुई हजार ७५० हेक्टर, बबई गाउँपालिकामा दुई हजार १५० हेक्टर तथा बङ्गलाचुली गाउँपालिकामा एक हजार १४३ हेक्टर क्षेत्रमा धान खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्रसार अधिकृत आशा भण्डारीले राससलाई बताइन् ।
यहाँका किसानले सावित्री, मनसुली, राधा–४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस–३१२ लगायत वर्णशङ्कर जातका धान तथा कम पानी हुने क्षेत्रमा सुक्खा–१, सुक्खा–२ र सुक्खा–३ जातका बीउ रोप्ने गरेका छन् ।
त्यस्तै, स्थानीय तिल्की र सिम्ठारो जातका धान पनि केही किसानले खेती गर्दै आएका छन् । गत वर्ष दाङमा ३५ हजार ३२८ हेक्टर जमिनमा एक लाख ४४ हजार २६४ मेट्रिक टन धान उत्पादन भएको थियो ।