Butwal Today

सुस्तामा एसएसबीसँग हुने छलफल स्थगित

१९ श्रावण २०८३, मंगलवार
अ+
अ-

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा अस्थायी बाँध निर्माणको विषयलाई लिएर स्थानीयवासी र भारतीय सशस्त्र सीमा बल ९एसएसबी० बिच सोमबार तय गरिएको छलफल अन्तिम समयमा स्थगित भएको छ ।

भारतीय पक्षका एक एसएसबी जवानलाई सर्पले डसेपछि उपचारमा खटिनुपरेकाले छलफल स्थगित गरिएको जनाइएको छ । आइतबार अस्थायी बाँध निर्माणको क्रममा उत्पन्न विवादपछि दुवै पक्षबिच सोमबार औपचारिक छलफल गर्ने सहमति भएको थियो । तर भारतीय पक्षबाट आकस्मिक परिस्थिति उत्पन्न भएपछि बैठक हुन नसकेको हो ।

सुस्ता बचाउ अभियानका संयोजक तथा सुस्ता गाउँपालिका–५ का वडा सदस्य आदम खाँका अनुसार एसएसबीका कमान्डरले सोमबार बिहान टेलिफोनमार्फत आफ्ना एक जवान सर्पदंशको शिकार भएकाले उपचार व्यवस्थापनमा व्यस्त रहनुपरेको जानकारी दिँदै निर्धारित छलफलमा सहभागी हुन नसक्ने बताएका थिए ।

उनका अनुसार छलफल स्थगित भए पनि आइतबार भएको अनौपचारिक संवाद सकारात्मक रहेको छ । भारतीय पक्षले आफूहरूले चिनो लगाएको स्थानसम्म स्थानीयवासीले अस्थायी बाँध निर्माण गर्न सक्ने मौखिक सहमति जनाएको उनले जानकारी दिए ।

“भारतीय पक्षले चिनो लगाइएको स्थानसम्म अस्थायी बाँध निर्माण गर्न मौखिक सहमति दिएको छ,” खाँले भन्नुभयो, “अब दुवै पक्षको समय मिलाएर पुनः छलफल गर्ने सहमति भएको छ ।”

आइतबार दिउँसो सुस्ता क्षेत्रमा अस्थायी बाँध निर्माणका क्रममा तनाव उत्पन्न भएको थियो। स्थानीयवासीले नेपाली भूमिमा बाढी र कटान नियन्त्रणका लागि अस्थायी बाँध निर्माण गरिरहेका बेला भारतीय सशस्त्र सीमा बल ९एसएसबी० नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन बाँध भत्काएको आरोप लगाएपछि स्थिति तनावपूर्ण बनेको थियो ।

स्थानीयवासी र एसएसबीबीच केही समय विवाद र भनाभनको अवस्था सिर्जना भए पनि पछि दुवै पक्षबिच संवादमार्फत तनाव साम्य पारिएको थियो। त्यस क्रममा विवादित विषयलाई वार्ताबाट समाधान गर्ने सहमति भएपछि सोमबार छलफल गर्ने निर्णय गरिएको थियो ।

स्थानीयवासीले सुस्ता क्षेत्रमा बर्सेनि हुने नारायणी नदीको कटानबाट बस्ती र खेतीयोग्य जमिन जोगाउन अस्थायी बाँध निर्माण आवश्यक रहेको बताएका छन् । उनीहरूले सीमावर्ती क्षेत्रमा देखिएका यस्ता समस्या दुवै देशका सम्बन्धित निकायबिच आपसी समझदारी र समन्वयका आधारमा समाधान गर्नुपर्ने धारणा राखेका छन् ।

यसैबिच, दुवै पक्षले संवादको माध्यमबाट समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकाले छलफलको नयाँ मिति छिट्टै तय हुने अपेक्षा गरिएको छ । स्थानीयवासीले सीमा क्षेत्रमा शान्ति, आपसी विश्वास र सहकार्य कायम राख्दै दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?