Butwal Today

रोल्पामा जिप दुर्घटना: चालकसहित १० जना घाइते

१९ श्रावण २०८३, मंगलवार
अ+
अ-

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–५ हान्जाबाङमा मंगलबार भएको जिप दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका सबैलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गंगादेव गाउँपालिका–१ भुर्तिबाट तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खोल्सामा खसेपछि दुर्घटना भएको हो । जिप चालक गंगादेव गाउँपालिका–१ निवासी २२ वर्षीय दिलकुमार वली रहेको र दुर्घटनापछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चालकलाई कुनै गम्भीर चोट नलागेको प्रहरीले बताएको छ ।

प्रहरीले दिउँसो १२ः१० बजे दुर्घटनाको सूचना प्राप्त भएको र त्यस लगत्तै १२ः१५ बजे प्रहरी सहायक निरीक्षक खेमराज पौडेलको कमान्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको जनाएको छ ।

प्रहरी टोली दिउँसो १ बजे घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेको प्रहरीले बताएको छ । घाइतेहरूलाई तत्काल उद्धार गरी जुगार स्वास्थ्य चौकीमा पुर्‍याइएको र सामान्य उपचारपछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गंगादेव गाउँपालिका–१ गोठीखोला निवासी ४१ वर्षीय धर्मराज डाँगीको बायाँ खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । सोही स्थानकी ७७ वर्षीया सपुरी डाँगीको आँखामा सामान्य चोट लागेको प्रहरीले बताएको छ ।

गंगादेव गाउँपालिका–१ कै २३ वर्षीय पलबहादुर घर्तीमगरको अनुहार र काँधमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । जिपका सहचालक २४ वर्षीय चित्रराम वलीको शरीरभित्र गम्भीर चोट लागेको प्रहरीले बताएको छ ।

त्यसैगरी त्रिवेणी गाउँपालिका–७ दर्बै निवासी २८ वर्षीया मनिका डाँगीको बायाँ खुट्टा र टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । उनका ४ वर्षीय छोरा प्रदीप डाँगीको अनुहार र बायाँ खुट्टामा सामान्य चोट लागेको प्रहरीले बताएको छ ।

माडी गाउँपालिका–१ जबाङ दमुरी निवासी २५ वर्षीय पृथ्वी पुन मगरको टाउको र ढाडमा मध्यम प्रकृतिको चोट लागेको प्रहरीले जनाएको छ । माडी गाउँपालिका–१ झिनुवा निवासी तथा जिपका साहु २८ वर्षीय हरि वलीको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । भारतको मोतिहारी जिल्ला घर भई कवाडी खरिद गर्ने २५ वर्षीय सन्तोष सहनीको टाउको र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि जिप घटनास्थलमै रहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । घटनासम्बन्धी थप विवरण सङ्कलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?