© 2026
बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई विद्यालय परिसर तथा विद्यालयले सञ्चालन गरेका सटरहरूमा मदिराजन्य र सुर्तीजन्य पदार्थको बिक्री–वितरण तत्काल बन्द गर्न निर्देशन दिएको छ।
प्रमुख प्रशासकीय अधिकृत दीपक झवालीद्वारा जारी पत्रमा विद्यालय परिसरमा मदिरा र सुर्तीजन्य पदार्थको बिक्री–वितरण भइरहेको विषयमा व्यापक जनगुनासो प्राप्त भएको उल्लेख गरिएको छ। यस्ता गतिविधिले विद्यार्थीहरूको स्वास्थ्य, अनुशासन र पठनपाठनमा प्रत्यक्ष नकारात्मक प्रभाव पार्ने भएकाले तत्काल रोक लगाउन निर्देशन दिइएको हो। उपमहानगरले सबै विद्यालयलाई तत्काल यस्ता गतिविधि बन्द गर्न आग्रह गर्दै नियमित अनुगमन गरिने जनाएको छ। निर्देशन उल्लंघन गर्ने विद्यालय वा सम्बन्धित पक्षलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ।
नगर प्रमुख खेलराज पाण्डेले विद्यालय ज्ञान आर्जन गर्ने पवित्र स्थल भएकाले त्यहाँ मदिरा र सुर्तीजन्य पदार्थको बिक्री कुनै पनि हालतमा स्वीकार्य नहुने बताए। विद्यार्थीको स्वास्थ्य र भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले निर्णयलाई कडाइका साथ कार्यान्वयन गराइने उनको भनाइ छ।यस सम्बन्धमा उपमहानगरपालिकाले इलाका प्रशासन कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय बुटवल तथा सबै वडा कार्यालयलाई समेत जानकारी गराउँदै प्रभावकारी अनुगमन र कार्यान्वयनका लागि आवश्यक समन्वय गर्न अनुरोध गरेको छ।
विद्यालय क्षेत्रलाई सुरक्षित, स्वस्थ र विद्यार्थीमैत्री बनाउने उद्देश्यले यो निर्णय कार्यान्वयनमा ल्याइएको उपमहानगरपालिकाले जनाएको छ।