© 2026
नेपालको इतिहासमा धेरै महान् व्यक्तित्वहरू जन्मिएका छन् । कोही राजनीतिक परिवर्तनका लागि चिनिए, कोही साहित्यिक जागरणका लागि, कोही सामाजिक रूपान्तरणका लागि र कोही आध्यात्मिक चेतनाका लागि ।
यिनै महान् व्यक्तित्वहरूमध्ये योगमाया न्यौपाने एक विशिष्ट र अद्वितीय नाम हो । उहाँले नेपाली समाजमा व्याप्त अन्याय, अत्याचार, विभेद, शोषण, भ्रष्टाचार, छुवाछुत र कुरीतिविरुद्ध आवाज उठाउनुभयो । उहाँ केवल एक महिला मात्र हुनुहुन्नथ्यो, उहाँ एउटा आन्दोलन, एउटा विचार र एउटा युगको नाम हुनुहुन्थ्यो ।
भोजपुर जिल्लाको षडानन्द नगरपालिका–१, नेपालेडाँडामा विसं १९२४ सालमा श्रीलाल उपाध्याय न्यौपाने र चन्द्रकला न्यौपानेकी ज्येष्ठ पुत्रीका रूपमा उहाँको जन्म भएको थियो । त्यो समय नेपाली समाज अन्धविश्वास, अशिक्षा, विभेद र रूढिवादी परम्पराले जकडिएको थियो । महिलाहरूलाई शिक्षाबाट वञ्चित गरिन्थ्यो ।
उनीहरूको जीवन घरको चार पर्खालभित्र सीमित हुन्थ्यो । उनीहरूलाई स्वतन्त्र रूपमा बोल्ने, लेख्ने वा आफ्नो विचार व्यक्त गर्ने अधिकार थिएन । यही परिवेशमा हुर्किनुभएकी योगमायाको बाल्यकाल अत्यन्त कष्टपूर्ण रह्यो ।
समाजको प्रचलन अनुसार आठ वर्षको उमेरमै उहाँको विवाह भयो । विवाहपछि उहाँले घरेलु हिंसा, मानसिक पीडा र सामाजिक अपमान सहनुप¥यो । केही समयपछि उहाँको श्रीमानको निधन भयो । त्यसपछि समाजले उहाँलाई विधवाको रूपमा हेर्न थाल्यो ।
त्यो समयमा विधवाहरूले असह्य अपमान र यातना भोग्नुपर्ने अवस्था थियो। समाजले उनीहरूको स्वतन्त्रतालाई सीमित गरिदिएको थियो । योगमायाले आफ्नो जीवनमा तीनपटक विवाह गर्नुभयो । त्यो समय महिलाका लागि यस्तो निर्णय असम्भवजस्तै मानिन्थ्यो । तर, उहाँले समाजका गलत परम्परालाई चुनौती दिँदै आफ्नो जीवनलाई आफ्नै ढङ्गले अघि बढाउनुभयो ।
उहाँका जीवनका यी अनुभवहरूले उहाँलाई समाजका विकृति र विसङ्गतिहरूलाई नजिकबाट बुझ्ने अवसर प्रदान गरे । केही समयपछि उहाँ आसाम पुग्नुभयो । त्यहाँ उहाँले आध्यात्मिक चिन्तन, ध्यान र साधनामा आफूलाई समर्पित गर्नुभयो । त्यहीक्रममा उहाँको सम्पर्क विभिन्न समाज सुधारकहरूसँग भयो । समाजमा व्याप्त अन्याय, शोषण, छुवाछुत, जातीय विभेद, लैङ्गिक असमानता र भ्रष्टाचारका विरुद्ध आवाज उठाउनुपर्छ भन्ने चेतना उहाँमा अझ प्रबल हुँदै गयो ।
योगमायाले आफ्ना अनुभव, भावना र विचारहरूलाई कविता, भजन र काव्यमार्फत व्यक्त गर्न थाल्नुभयो । उहाँका रचनाहरूले समाजमा चेतनाको नयाँ लहर ल्याए । उहाँका शब्दहरू केवल धार्मिक उपदेशमा सीमित थिएनन्, ती सामाजिक जागरणका सशक्त माध्यम पनि बने । त्यो समयमा नेपालमा राणा शासनको अत्याचार चरम सीमामा पुगेको थियो ।
गरिब किसान, मजदुर र महिलाहरूले अनेक प्रकारका अन्याय सहनुपथ्र्यो । धनी र शक्तिशाली वर्गले कमजोर वर्गमाथि शासन गरिरहेको थियो । न्याय र समानताको कुरा केवल कल्पनामा सीमित थियो ।
\यस्तै परिस्थितिमा योगमायाले समाज सुधारको अभियान सुरु गर्नुभयो । उहाँले सती प्रथा, बालविवाह, बहुविवाह, छुवाछुत, जातीय विभेद र महिलामाथि हुने अत्याचारको विरोध गर्नुभयो । उहाँले महिला र पुरुषबीच समान अधिकार हुनुपर्ने, विधवा विवाहलाई मान्यता दिनुपर्ने, किसान तथा श्रमिकमाथिको शोषण अन्त्य गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने र समाजमा सुशासन कायम गर्नुपर्ने माग राख्नुभयो । उहाँले समाज सुधारका लागि चौबीस बुँदे माग प्रस्तुत गर्नुभएको थियो ।
ती मागहरूमा महिला अधिकार, सामाजिक न्याय, धार्मिक सुधार, आर्थिक समानता, भ्रष्टाचार नियन्त्रण र नैतिक शासन व्यवस्थाको स्थापना प्रमुख रूपमा समावेश थिए । उहाँले पुरोहितवाद, अन्धविश्वास र शोषणको अन्त्य हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले जनताको अधिकारलाई सर्वोपरि मान्नुपर्ने कुरामा जोड दिनुभयो ।
योगमायाले आफ्ना अनुयायीहरूसँग मिलेर तत्कालीन शासकहरूलाई पटक–पटक आफ्ना मागहरू सुनाउनुभयो । उहाँ काठमाडौँसम्म पुग्नुभयो र तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरसमक्ष आफ्ना मागहरू प्रस्तुत गर्नुभयो । सुरुआतमा आश्वासन दिइएपनि ती मागहरू कार्यान्वयन भएनन । त्यसपछि पनि उहाँ निरन्तर रूपमा समाज सुधारको अभियानमा लागिरहनुभयो ।
विसं १९९५ सालमा उहाँले आफ्ना अनुयायीसहित अग्नि समाधि लिने योजना बनाउनुभएको थियो तर राज्यले उक्त योजनालाई रोक्यो र उहाँसहित धेरै अनुयायीहरूलाई पक्राउ गरियो । जेलबाट मुक्त भएपछि पनि उहाँले आफ्नो अभियानलाई निरन्तरता दिनुभयो ।
अन्ततः विसं १९९८ साल असार २२ गते हरिशयनी एकादशीका दिन योगमायाले आफ्ना ६८ जना अनुयायीसहित अरूण नदीमा जलसमाधि लिनुभयो । यो घटना नेपालको इतिहासमा अन्यायका विरुद्ध गरिएको सबैभन्दा साहसी विद्रोहमध्ये एक मानिन्छ ।
उहाँको शरीर समाप्त भयो, तर उहाँको विचार, साहस र सङ्घर्ष अमर बन्यो । योगमाया केवल धार्मिक साधिका मात्र हुनुहुन्नथ्यो । उहाँ समाज सुधारक, दार्शनिक, कवि, राजनीतिक चेतनाकी संवाहक र परिवर्तनकी प्रतीक पनि हुनुहुन्थ्यो। औपचारिक शिक्षा हासिल गर्न नपाए पनि उहाँले आफ्नो अनुभव र चिन्तनका आधारमा समाजलाई नयाँदिशा दिनुभयो ।
आज नेपालमा महिला अधिकार, समानता, सामाजिक न्याय र समावेशी लोकतन्त्रका बारेमा चर्चा भइरहेका बेला योगमायाको योगदान झन् महत्वपूर्ण देखिन्छ । उहाँले उठाउनु भएका धेरै विषयहरू आजपनि सान्दर्भिक छन ।
\नेपाल सरकारले योगमायाको योगदानको सम्मान गर्दै उहाँका नाममा विद्यालय स्थापना गर्ने निर्णय गरेको छ । उहाँका विषयमा पुस्तकहरू लेखिएका छन्, अनुसन्धानहरू भएका छन् र उहाँको जीवनलाई नेपाली इतिहासको एउटा महत्वपूर्ण अध्यायका रूपमा स्वीकार गरिएको छ । योगमायाले समाजलाई एउटा महत्वपूर्ण सन्देश दिनुभएको थियो—अन्यायका विरुद्ध आवाज उठाउनु नै सबैभन्दा ठूलो धर्म हो । सत्य, समानता र न्यायका लागि गरिने सङ्घर्ष कहिल्यै व्यर्थ हुँदैन ।
आज योगमायालाई सम्झँदा म केवल विगतलाई स्मरण गरिरहेकी छु बरु भविष्यको बाटो पनि खोजिरहेका हुन्छौँ । उहाँको जीवनले हामीलाई साहस, त्याग, समर्पण र परिवर्तनको प्रेरणा दिन्छ । योगमाया वास्तवमै नेपालको इतिहासमा चम्किरहेको एउटा अमर नक्षत्र हुनुहुन्छ । उहाँको विचार र योगदानले आगामी पुस्तालाई सदैव प्रेरित गरिरहनेछ ।
योगमायाप्रति हार्दिक श्रद्धाञ्जली ।