Butwal Today

बँदेलबाट मकै जोगाउनै सकस

१८ श्रावण २०८३, सोमबार
अ+
अ-

सल्यान  । बर्सेनि जङ्गली जनावरको उपद्रो र बालीनालीमा क्षतिपछि सल्यानका किसानहरू विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै चिन्तित बनेका छन् ।

जिल्लाको धेरैजसो स्थानीय तहका वस्तिहरूमा बँदेल, बाँदर लगायतका जङ्गली जनावरको उपद्रो बढेपछि किसानहरू चिन्तित बनेका हुन् । मकैमा घोगा र दाना लाग्न नपाउँदै जङ्गली जनावरले बाली तहसनहस पार्न थालेपछि वर्षभरि के खाने भन्ने चिन्ताले किसानलाई सताएको छ ।

दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीका अनुसार गाउँपालिकाको वडा नं. ३ स्थित डौंरीखोला, मैनेरी लगायतका बस्तीहरूमा बँदेलको आतङ्क अत्यधिक बढेको छ ।

“जङ्गली जनावरका कारण किसानहरू विस्थापित हुने अवस्थामा पुगिसकेका छन्,” अध्यक्ष केसीले भने, “अब तत्काल आवश्यक कानुन निर्माण गरेर वा नीतिगत निर्णय लिएर यसको स्थायी समाधान खोजिनुपर्छ ।”

बनगाड, कालिमाटी, कपुरकोट, दार्मा, छत्रेश्वरी, कुमाख, सिद्धकुमाख, त्रिवेणी, बागचौर, शारदामा वनजंगल नजिक रहेका बस्तीहरूमा बर्सेनि बँदेल, दुम्सी, बाँदर र खरायोले मकै तथा अन्य बालीनालीमा क्षति पुर्‍याउँदै आएका छन् । पछिल्ला केही वर्षहरूमा यो समस्या झनै अझ बढेको स्थानीयको भनाइ छ ।

त्रिवेणी गाउँपालिका वडा नं ५ डाँडासल्लेका किसान रमेश गिरिले जङ्गली जनावरका कारण खेतीकिसानी गरेर जीविकोपार्जन गर्न मुस्कील परेको गुनासो गरे । “मकैमा घोगा हाल्ने बेला नै बँदेलले आएर सबै बाली सखाप पारिदिन्छ”, गिरिले भने, “दिनभरिको थकाइ र वर्षभरिको मेहनत एकै रातमा सखाप हुन्छ ।”

यस्तै कपुरकोट–३ का किसान चन्द्र बहादुर वलीले बँदेल र बाँदरको हैरानीका कारण खेती नै नगर्ने अवस्था आइसकेको बताए । हुल बाँधेर आउने बँदेलले रातको समयमा किसानको मकै लगायतका बाली केही समयमै नष्ट गर्ने गरेका छन् । बारी बाँझो नराख्नका लागि भन्दै मकै रोपेका किसानहरूले बँदेलले सखाप पार्छ भन्ने निश्चित भएका कारण गोडमेल समेत नगरेको बताउँछन् ।

जिल्लामा आ.व. २०८२।८३ मा मात्रै १७९ जना किसानले जङ्गली जनावरले बालीनालीमा क्षति गरेको भन्दै क्षतिपूर्तिका लागि डिभिजन वन कार्यालयमा निवेदन दिएका थिए । राहतका लागि झन्जटीलो प्रक्रिया तथा कतिपयलाई थाहा नहुँदा धेरै जनाले निवेदन दिँदैनन् ।

कपुरकोट गाउँपालिका वडा नं ३ का ७९ जनालाई सात लाख पाँच हजार ९६० रुपियाँ, शारदा नगरपालिका वडा नं ३, ५ र १० का ४० जनालाई तीन लाख ४१ हजार र त्रिवेणी गाउँपालिका वडा नं ५ र ६ का १० जनालाई एकलाख रुपियाँ राहत रकम उपलब्ध गराइएको डिभिजन वन कार्यालयले जनाएको छ ।

अन्य ४८ जनाको राहत रकम आई नसकेको तथा दुई जनाको रकम आए पनि हस्तान्तरणको प्रक्रियामा रहेको वन अधिर्कत अञ्जना शर्माले जानकारी दिइन् ।

वन कार्यालयको कार्यक्षेत्रमा पर्ने कालिमाटी ६ मा बाघ आक्रमणमा मृत्यु भएका एक जना व्यक्तिको परिवारलाई रातह रकम १० लाख, बँदेल आक्रमणमा घाइते कुमाख ४ मा एक जनालाई उपचार र राहत रकम एक लाख सात हजार ३६२ र कालिमाटी ३ मा बाघको आक्रमणबाट ३ वटा बाख्रा मरेकोमा पशुधन क्षतिबापत ३० हजार रुपियाँ उपलब्ध गराइएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?