Butwal Today

अर्घाखाँचीमा हिन्दु–मुस्लिम युवाको सद्भाव कार्यक्रम  

१६ श्रावण २०८३, शनिबार
अ+
अ-

अर्घाखाँची । 

अर्घाखाँचीमा हिन्दु र मुस्लिम समुदायका युवाहरूले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्दै शनिवार सन्धिखर्कस्थित शान्ति बगैँचामा सद्भाव कार्यक्रम सम्पन्न गरेका छन् ।

तराई–मधेसका केही जिल्लामा पछिल्लो समय देखिएका सामाजिक तथा साम्प्रदायिक तनावका घटनाप्रति चिन्ता व्यक्त गर्दै अर्घाखाँचीका जेन्जी युवाहरूले जिल्लामा आपसी भाइचारा, मेलमिलाप र सद्भाव कायम रहेको सन्देश दिन संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन् ।

हिन्दु र मुस्लिम समुदायका युवाहरूले एक अर्काले लगाउने परम्परागत टोपी साटासाट गरे, अङ्कमाल गरे र एउटै स्थानमा बसेर आपसी सम्मान तथा विश्वासको उदाहरण प्रस्तुत गरेका छन् । सहभागीहरूले धर्म फरक भए पनि सबै नेपालीको साझा पहिचान आपसी सम्मान, सहिष्णुता र एकता भएको बताएका थिए ।

युवाहरूले कुनै पनि प्रकारको धार्मिक वा साम्प्रदायिक द्वन्द्वले समाजलाई कमजोर बनाउने भएकाले सबै समुदायबिचको सद्भाव अझ बलियो बनाउन आवश्यक रहेको धारणा राखेका थिए ।

उनीहरूले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलाइने भ्रम र घृणाको राजनीतिभन्दा माथि उठेर एक अर्काको संस्कार, संस्कृति र विश्वासको सम्मान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका सहभागी युवा नसिब खानले अर्घाखाँचीमा सबै समुदायबिच सदियौँदेखि कायम रहेको भाइचारालाई अझ मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनका अनुसार, “हामी सबै नेपाली हौँ । हाम्रो धर्म फरक हुन सक्छ, तर हाम्रो सम्बन्ध, सम्मान र सहअस्तित्व एउटै हो । अहिले देशका केही स्थानमा देखिएका घटनाले हामीलाई सचेत बनाएको छ । त्यसैले हामीले ‘हामी सँगै छौँ’ भन्ने सन्देश दिन यो कार्यक्रम गरेका हौँ ।”

सहभागी युवाहरूले धार्मिक विविधता नेपालको शक्ति भएको उल्लेख गर्दै कुनै पनि समुदायप्रति विभेद, घृणा वा हिंसालाई स्वीकार गर्न नसकिने स्पष्ट पारे । उनीहरूले शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई सकारात्मक भूमिका खेल्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?