© 2026
रोल्पा । वर्षा यामसँगै रोल्पाका पहाडी गाउँहरू यतिबेला कोदो रोपाइँको चटारोले भरिएका छन् । जिल्लाका लुङग्री, सुनछहरी, परिवर्तन, गंगादेव, माडी तथा सुनिलस्मृति गाउँपालिकाका किसान मकैबारीबीच कोदो रोप्न व्यस्त छन् ।
स्वास्थ्यवद्र्धक रैथाने अन्नका रूपमा कोदोको माग बजारमा निरन्तर बढ्दै गएपछि किसानमा यसको खेती विस्तार गर्ने उत्साह पनि बढेको छ ।
कृषि ज्ञान केन्द्र रोल्पाका प्रमुख महेन्द्रकुमार ओझाका अनुसार यस वर्ष समयमै वर्षा भएकाले कोदो रोपाइँ अनुकूल रूपमा अघि बढिरहेको छ । विशेषगरी लुङग्री गाउँपालिकाका सातै वडामा रोपाइँ तीव्र गतिमा भइरहेको छ ।
हालसम्म गाउँपालिकाको आधाभन्दा बढी क्षेत्रफलमा कोदो रोपाइँ सम्पन्न भइसकेको छ भने बाँकी क्षेत्रमा पनि किसान खेतबारीमा व्यस्त छन् ।
लुङग्री गाउँपालिकाका कृषि शाखा प्रमुख भूपेन्द्रकुमार पाण्डेका अनुसार आर्थिक वर्ष २०८२ र ८३ मा गाउँपालिकामा ३५२ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको थियो । उक्त क्षेत्रबाट ५२८ मेट्रिक टन (५ हजार २८० क्विन्टल) उत्पादन भएको तथ्याङ्क छ । उत्पादनसँगै बजारीकरणलाई पनि व्यवस्थित बनाइएकाले किसानले उत्पादित कोदो बिक्री गर्न कठिनाइ भोग्नुपरेको छैन ।
उनका अनुसार स्थानीय सहकारी संस्थाले कोदोको बजार विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । लुङग्री गाउँपालिका–५ स्थित लुङग्री सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले मात्रै गत वर्ष ७० क्विन्टल कोदो सङ्कलन गरी काठमाडौँ, नेपालगन्ज, बुटवल, झापा, दाङ, तुलसीपुर, सिराहा र सप्तरीलगायतका जिल्लामा बिक्रीका लागि पठाएको थियो । यसबाहेक किसानहरूले व्यक्तिगत रूपमा करिब १०० क्विन्टल कोदो विभिन्न बजारमा बिक्री गरेका छन् ।
बजारमा कोदोको माग बढ्दै गएपछि व्यापारीहरू आफैँ गाउँमा पुगेर किसानबाट प्रत्यक्ष खरिद गर्न थालेका छन् । यसले किसानलाई उत्पादन विस्तारतर्फ थप प्रेरित गरेको छ । गाउँपालिकाले पनि कोदो उत्पादन वृद्धि गर्ने उद्देश्यले विभिन्न स्थानलाई पकेट क्षेत्र घोषणा गरी व्यावसायिक खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
नेपाल सरकारले यस वर्षदेखि हरेक साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’का रूपमा मनाउने निर्णय गरेपछि कोदो संरक्षण र प्रवर्द्धनका गतिविधि थप सक्रिय भएका छन् । सोही अवसरमा कृषि ज्ञान केन्द्र रोल्पाले लुङग्री गाउँपालिका–६ गुम्चालमा दोस्रो राष्ट्रिय कोदो दिवस विशेष कार्यक्रमका साथ मनाउने तयारी गरेको छ ।
“कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा रैथाने बालीको संरक्षण, उत्पादन वृद्धि, बजारीकरण तथा नयाँ पुस्तामा कोदोप्रतिको आकर्षण बढाउने उद्देश्य राखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
लुङग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाले रैथाने बाली संरक्षणलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए । उनका अनुसार महिला समूह, सहकारी संस्था तथा कृषकसँगको सहकार्यमा उत्पादन वृद्धि, सङ्कलन केन्द्र स्थापना, बजारीकरण तथा अनुदान कार्यक्रम सञ्चालन भइरहेका छन् ।
“कोदोबाट बन्ने स्वास्थ्यवद्र्धक परिकारलाई होटल तथा बजारसँग जोड्ने, किसानलाई उत्पादन बढाउन प्रोत्साहन गर्ने र बजार सुनिश्चित गर्ने काम गरिरहेका छौँ,” अध्यक्ष थापाले भने ।
उनले गुम्चाल क्षेत्रको ऐतिहासिक महत्व स्मरण गर्दै विगतमा भोकमरीका बेला यही क्षेत्रमा उत्पादन भएको कोदोले छिमेकी जिल्लाका नागरिकको जीवन धान्न सहयोग पुगेको उल्लेख गरे । अहिले त्यही रैथाने बाली संरक्षण गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ छ ।
लुङग्री गाउँपालिका–६ का वडाध्यक्ष जोखबहादुर बुढाथोकीले विकट भूभागमा पनि कोदो राम्रो उत्पादन हुने सम्भावना रहे पनि पछिल्ला वर्षमा खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दा उत्पादन घट्दै गएको बताए । कोदो लामो समयसम्म सुरक्षित भण्डारण गर्न सकिने बाली भएकाले यसको उत्पादन र बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने उनको धारणा छ ।
पूर्व कार्यपालिका सदस्य टेकबहादुर सुनारले गाउँबाट युवा जनशक्ति रोजगारी र शिक्षाका लागि बाहिरिँदै जाँदा कृषि क्षेत्रमा श्रम अभाव बढेको बताए । उनका अनुसार उत्पादनमुखी कृषिमा किसानलाई आकर्षित गर्न प्रभावकारी अनुदान, प्रविधि र बजारको सुनिश्चितता आवश्यक छ ।
यद्यपि पुराना पुस्ताका किसानले भने परम्परागत कृषि संस्कृति जोगाइरहेका छन् । लुङग्री–४ का ६८ वर्षीय किसान असारी सुनारका अनुसार जेठमा बीउ राख्ने र साउन लागेसँगै असारे गीत गाउँदै सामूहिक रूपमा कोदो रोप्ने चलन अहिले पनि जीवित छ । यसले कृषि उत्पादनसँगै स्थानीय संस्कृति संरक्षणमा पनि योगदान पु¥याएको उनले बताए ।
यद्यपि लुङग्री गाउँपालिकामा उत्पादन र बजारीकरणको व्यवस्थित अभिलेख रहे पनि जिल्लाका अन्य गाउँपालिकामा भने अझै विस्तृत तथ्याङ्क अभाव रहेको छ । सुनछहरी, परिवर्तन, गंगादेव, माडी र सुनिलस्मृति गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि उत्पादन, बजारीकरण तथा पकेट क्षेत्रको व्यवस्थित अभिलेख राख्ने तयारी गरेका छन् ।
विगतमा ‘गरिबको अन्न’ भनेर चिनिने कोदो अहिले स्वास्थ्यप्रति सचेत उपभोक्ताको रोजाइ बन्दै गएको छ । कोदोको ढिँडो, आटो र अन्य परिकारप्रति सहरका उपभोक्ताको आकर्षण बढ्दै जाँदा यसको बजार निरन्तर विस्तार भइरहेको किसानहरू बताउँछन् ।
सरकार, कृषि ज्ञान केन्द्र, स्थानीय तह, सहकारी संस्था र किसानबिचको सहकार्यले रोल्पामा कोदोको संरक्षण, उत्पादन वृद्धि र बजारीकरणमा सकारात्मक आधार तयार भएको छ ।
उत्पादन घट्दै गएको चुनौतीलाई सम्बोधन गर्दै आधुनिक प्रविधि, बजार पहुँच र प्रोत्साहन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके रोल्पाको कोदो राष्ट्रिय पहिचान बोकेको महत्त्वपूर्ण कृषि उपजका रूपमा स्थापित हुने अपेक्षा सरोकारवालाले गरेका छन् ।