© 2026
‘बाघको संरक्षण जैविक विविधताको प्रवर्द्धन’ भन्ने नाराका साथ विश्व बाघ दिवस आज मनाईदैछ । नेपालमा मानव र बाघबिच त्यति घनिष्ठ सम्बन्ध छैन ।
थुप्रै मानिसले बाघकै कारण ज्यान गुमाउनु परेको छ । कतिपय जङ्गल किनारका बस्ती असुरक्षित छन् । तर, बाघ हाम्रो प्रकृतिको अमूल्य सम्पदा भएकोले यसको संरक्षणमा भने कुनै पनि प्रकारको ढिलाइ गर्नु हुँदैन ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले हरेक बर्ष जुलाई २९ का दिन यो दिवस मनाउने घोषणा गरे अनुसार नेपालमा पनि यो दिवस मनाइदै आइएको छ । खास गरी नेपालमा पछिल्लो वर्षहरूमा बाघको सङ्ख्या बढेसँगै बाघको आक्रमणबाट मानिसको ज्यान जाने घटना पनि बढिरहेका छन् ।
वासस्थान र आहाराका लागि विभिन्न प्रजातिका वन्यजन्तुको कमीले बाघ संरक्षण थप जटिल बन्दै गएकोमा संरक्षणकर्मीहरूको चिन्ता छ । अबको दिनमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र चोरी सिकारी नियन्त्रण गर्न आवश्यक रणनीति आवश्यक छ ।
बाघ संरक्षण र यससँग सम्बन्धित विभिन्न ऐन–नियमको प्रभावकारी कार्यान्वयन गराउनेतर्फ अव ध्यान दिनु जरुरी छ । तीव्र र अव्यवस्थित बसाइसराइ, भू–उपयोग नीतिको अप्रभावकारी कार्यान्वयन तथा अनधिकृत उपयोग लगायतका कारण बाघको सङ्ख्या दोब्बर पु¥याउने लक्ष्य हासिल गर्न सकिए पनि त्यसको निरन्तरता भने चुनौतीपूर्ण छ ।
बाघ सम्बन्धी अधिकांश द्वन्द्वका घटना स्थानीयको जीविकोपार्जनसँग जोडिएका छन् । वन स्रोत सङ्कलन गर्न जाँदा, जैविक मार्गबाट आवतजावत गर्दा, सांस्कृतिक पर्व र खेतीका लागि पानी कुलो जुटाउन ओहोरदोहोर गर्दा स्थानीयको बाघसँग द्वन्द्व भएको अवस्था छ ।
तसर्थ यो द्वन्द्वको समाधान कसरी गर्ने भन्ने विषयमा चिन्तन गर्नु जरुरी छ । वन्यजन्तु अति प्रभावित स्थानीयको जीविकोपार्जन र जोखिम व्यवस्थाका लागि भने यसको एकदमै न्यून हिस्सा मात्र पुग्ने गरेको छ । त्यसले उनीहरूका समस्या जस्ताको जस्तै छन् ।
बाघको अपत्यासित सङ्ख्या वृद्धिले अति प्रभावितको जीविकोपार्जन र न्यूनतम बाँच्न पाउने अधिकार थप जोखिमपूर्ण बनेको छ । एकातर्फ बाघको सङ्ख्या दोब्वर बनाउने लक्ष्य सफलता उन्मुख छ भने अर्कोतर्फ त्यसबाट प्रभावितको सङ्ख्या बढ्दै जाने जोखिमका कारण बाघ संरक्षण चुनौतिपूर्ण बन्दै गएको छ ।
त्यसको कारण प्रभावितको पहिचान गरी रोजगारी र निजी पर्यटन व्यवसायको लाभ वितरण गर्न सकिएको छैन । बाघ संरक्षण र त्यसको उपलब्धिलाई स्थानीय समुदायको लाभ र हानीसँग जोडनु जरुरी छ । तसर्थ जबसम्म बाघ संरक्षणलाई प्रभावितको जीवनसँग गाँसेर हेरिँदैन, संरक्षण अभियान पनि अपुरो हुन्छ ।
नेपालका सन्दर्भमा जहाँ बाघको उपस्थिति छ, त्यहाँ स्थानीय प्रभावित भइरहने र अन्य क्षेत्रका जनता यसको लाभ र हानीसँग जानकार नहुने अवस्था छ । यसले बाघ संरक्षण फगत वातावरण तथा जैविक विविधता विज्ञानमा चासो राख्ने केही अगुवाबाहेक अरूको निमित्त खासै सरोकारको विषय बन्न सकेको देखिँदैन् ।
जबसम्म बाघ संरक्षणलाई राष्ट्रिय प्रतिष्ठाको विषय बनाई यसका नाममा हुने आयलाई राष्ट्रिय आयका रूपमा पारदर्शी तरिकाले अति प्रभावितलाई लाभ र अवसरको पूर्व सुनिश्चितता गरिँदैन, तबसम्म संरक्षण चुनौतीपूर्ण नै रहनेछ ।
बाघ संरक्षणमा नेपालले उच्चतम सफलता हासिल गरेको छ तर, बाघ बढेसंगै बाघ र मानववीच द्वन्द्व बढ्ने अवस्था देखिएकोले अवका दिनमा बाघ र मानवबीचको द्वन्द्व कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा गहनढंगले सोच्नु जरुरी छ । बाघ दिवसकै सन्दर्भमा नेपालमा बाघकै कारण बर्षेनी दर्जनौं नेपालीले मृत्युबरण गर्नुपरिरहेको छ । वन्यजन्तु संरक्षण गर्दा मानव अस्तित्वमाथि यो खतराको कुरा हो ।
बाघले बर्षेनी मानवीय क्षति गर्दैछ । अतः आगामी दिनमा बाघको संरक्षणसंगै बाघको सुरक्षित बासस्थानको व्यवस्थापन गर्नुपर्ने खाँचो छ ।