© 2026
गुरु पूर्णिमाले गुरु—चेलाको सम्बन्ध सुमधुर बनाउने, ज्ञानको ज्योति बाली अन्धकार हटाउने र निरन्तर व्यक्तित्व विकासका लागि कर्म गर्न उत्प्रेरित गर्दछ । हिन्दु पात्रो अनुसार प्रत्येक वर्ष असार पूर्णिमाको दिनलाई गुरु पूर्णिमा भनिन्छ ।
नेपाल, भारत र अन्य देशहरूमा पनि मनाइने गुरु पूर्णिमाको दिन विभिन्न आध्यात्मिक एवम् प्राज्ञिक गुरुहरूको सम्मान स्वरूप उहाँहरूको योगदानको स्मरण गर्ने, परम्परागत रूपमा रहेको गुरु—शिष्य सम्बन्धप्रति कृतज्ञता प्रकट गर्ने, गुरुहरूबाट प्राप्त ज्ञानको ज्योतिले अन्धकार हटाउन मद्दत गर्ने भएकोले ज्ञान आर्जनका लागि उत्प्रेरित हुने र मानिसले आध्यात्मिक एवम् वैयक्तिक विकासका लागि प्रेरणा प्राप्त गर्ने गरिन्छ । पूर्णिमा नेपालका हिन्दु एवम् बौद्ध दुवै धर्मावलम्बीहरूले धार्मिक महत्वकासाथ मनाउने गर्दछन् ।
हिन्दुहरूले ऋषि वेद ब्यासको जन्मदिनलाई गुरु पूर्णिमाका रूपमा मनाउँछन् । ब्यास ऋषिले वेद (चार वेद: ऋग्वेद, यजुरवेद, समवेद, र अथर्ववेद) को रचना गर्नुभएको थियो । उहाँले वेदका साथै महाभारत जस्ता पवित्र हिन्दु ग्रन्थहरूको रचना गरेको स्मरण गर्दै ब्यास पूर्णिमा पनि भनिन्छ । त्यसैगरी आदि गुरु भगवान शिवले सप्तऋषिहरूलाई योग विज्ञान शिक्षण गर्नुभएको दिनको रूपमा पनि मनाइन्छ ।
हिन्दुहरूले असार पूर्णिमालाई ध्यान, योगा, प्रतिबिम्बन जस्ता आरोग्य अभ्यासको उत्सवका रूपमापनि मनाउने गर्दछन् । बौद्धमार्गीहरूले भने भगवान बुद्धले असार पूर्णिमाका दिन ज्ञान प्राप्तिपछि पहिलोपटक सारनाथमा ज्ञान प्रबचन दिनुभएको अर्थमा महत्वपूर्ण दिनका रूपमा मान्दछन् । यिनीहरूले यस दिनलाई धर्मचक्र प्रबर्तन दिवसका रूपमा मनाउने गर्दछन् ।
त्यस दिन बुद्धले पाँचजना शिष्यलाई ज्ञान प्रबचन दिनुभएको थियो । यी पाँच शिष्यहरूले बुद्धका बचनको पालना गर्ने र आध्यात्मिक जागरणको प्रतिवद्धता प्रकट गरेका थिए । बुद्धका अनुयायीहरूले तीन महिने वर्षामास मनाउने परम्परा पनि सुरू गरे । असार पूर्णिमाबाट सुरू हुने वर्षा मास असोजसम्म चलिरहन्छ । यस समयमा बुद्धिष्ट परम्परा अनुसारका पुजापाठ, प्रबचन, ध्यान र दान गरिन्छ ।
त्यसैगरी जैन धर्मावलम्बीहरूले भगवान महावीरले इन्द्रभूति गौतमलाई पहिलो शिष्य र भिक्षुहरूको नेतृत्वकर्ताका रूपमा नियुक्त गरेको र जैन भिक्षु संघको स्थापना भएको दिनको सम्मानमा गुरु पूर्णिमालाई मनाउने गर्दछन् । जैन धर्मावलम्बीहरूले गुरु पूर्णिमादेखि चतुर्मास मनाउँछन् । त्यस समयमा यिनीहरू योग ध्यान तपस्या, उपबास र आध्यात्मिक अध्ययन गर्दछन् ।
यसरी विभिन्न धर्मावलम्बीहरूले गुरु पूर्णिमा आ—आफ्नै मूल्य मान्यता अनुसार मनाउँछन् । तर केही साझा मान्यताहरू छन् । संस्कृत भाषामा गु को अर्थ अन्धकार र रू को अर्थ हटाउनु भन्ने लाग्दछ । अर्थात् गुरूले अज्ञानताको अन्धकारलाई चिरेर ज्ञानको दियो बाल्ने भएकोले ती गुरुहरूको सम्मानमा गुरु पूर्णिमा मनाइने गरिएको हो ।
गुरु पूर्णिमाले गुरूको महत्व सम्झाउँछ । वास्तवमा सांसारिक भौतिक पदार्थहरूको क्षणिक आयु हुने र आध्यात्मिक ज्ञान नै दिगो र वास्तविक ज्ञान भएको रहस्योद्घाटन वेद ब्यास, बुद्ध र महावीरजस्ता गुरूहरूले बताउनु भएको हुनाले गुरूको महत्व भौतिक ज्ञान हस्तान्तरणमा मात्र सिमित हुनुहुदैन भन्ने सन्देश गुरु पूर्णिमाले दिएको हुन्छ । भागवत गीतामा श्रीकृष्ण भन्नुहुन्छ– तद्विद्घि प्रणिपातेन परिप्रश्रेन सेवाय, उपदेक्ष्यन्तिते ज्ञानम् ज्ञानीनस्तत्वदर्शिनः ।। (४.३४) अर्थात् कुनै आध्यात्मिक गुरूसँग अनुशासित, आदर्शवान, जिज्ञासु, र सेवक भै ज्ञान प्राप्त गर्नु । जस्ले ज्ञान प्राप्त गरेको छ, उसैले नै तिमीलाई ज्ञान सिकाउन सक्नुहुन्छ ।
श्रीकृष्णको यो भनाइबाट वर्तमान आधुनिक शिक्षा पद्धतिमा संलग्न शिक्षक तथा विद्यार्थीले समेत सिक्नुपर्ने विचार प्राप्त हुन्छ । शिक्षक स्वयम् आदर्श नमुना हुनुपर्छ । शिक्षकमा विषयवस्तुको पूर्ण ज्ञान हुनु आवश्यक छ । अर्थात् विद्यार्थीका जिज्ञासा समाधान गर्ने क्षमता शिक्षकमा हुनु आवश्यक छ । त्यसैगरी अनुशासन, आदर्श चरित्र, जिज्ञासा एवम् खोजमूलकब्यवहार र सेवाकर्म आध्यात्मिक र आधुनिकदुवै शिक्षा पद्धतिका लागि आवश्यक सिपहरू हुन् ।
आधुनिक शिक्षाले जीवनोपयोगी सिप, पेशागत सिप, अनिवार्य सिपहरू भनेर ब्याख्या गरिएका समालोचनात्मक एवम् सिर्जनात्मक चिन्तन सिप, ब्यक्तित्वनिर्माण, सञ्चार एवम् अनुसन्धनात्मकसिपहरू र ज्ञानको हस्तान्तरण, र जनशक्तिनिर्माण जस्ता कार्यहरूकालागि ती ऐतिहासिक पौराणिक आध्यात्मिक गुरूहरूका विचारले आधार निर्माण भएको देखिन्छ । अर्थात् ती सन्देशमा नवीनतम र निरन्तर खोजीका लागि उत्प्रेरित गरिएको पाइन्छ । आधुनिक शिक्षाको सफलता पनि मूलतः विषयवस्तुको ज्ञानका साथै जिज्ञासा, अनुसन्धान वा खोजी कार्य, सफ्ट स्किल र समाजमाती ज्ञानको प्रयोगमा निर्भर गर्दछ । यस कार्यमा गुरूको अहम् भूमिका हुन्छ ।
तर गुरूले शिष्यलाई आध्यात्मिक ज्ञानको ज्योतिसमेत दिनुहुन्छ भने शिक्षकले भौतिक ज्ञान दिनुहुन्छ । भौतिक ज्ञानको हस्तान्तरण गर्दैगर्दा सिर्जनात्मक चिन्तन र जीवनोपयोगी सिपहरूको विकास सँगसँगै भयो भने सुन्दर मानव सभ्यता निर्माण गर्न शिक्षाको सहयोगी भूमिका रहन्छ । तसर्थ गुरूको गुरूत्व बुझाउनका लागिपनि गुरु पूर्णिमाको महत्व देखिन्छ ।
पछिल्ला केही वर्षमा नेपालमा शिक्षक र विद्यार्थीको सम्बन्ध दरार बढिरहेको सुनिन्छ । शिक्षकले गर्ने विभिन्न प्रकारका हिंसा, दुब्र्यवहारका कारण शिक्षक र विद्यार्थीकाबीच द्वन्द्व बढिरहेको छ भने विद्यार्थीमा पनि अनुशासन, इमान्दारिता, जिज्ञासा, खोजीकार्य, जीवनोपयोगी सिप विकास, सिर्जनात्मक एवम् नवीनतम चिन्तन सिप र व्यक्तित्व निर्माणका पक्षहरू कमजोर छन् । पाठ्यक्रममा नैतिक चरित्र निर्माणभन्दा भौतिक सतही ज्ञानको भार बढिरहेका कारण नयाँ पुस्तामा ज्ञानको उन्माद बढेको पाइन्छ ।
यद्यपि गुरु पूर्णिमाका दिन विद्यार्थीहरूले फेसबुक वा मेसेञ्जर वा फोनमार्फत शिक्षकहरूलाई शुभकामना दिने, शिक्षकहरूका महिमा झल्कने खालका फेसबुक कमेन्ट लेख्ने, पत्रपत्रिकामा गुरूपूर्णिमाको बारेमा लेख समाचार छापिने र कहीं कतै केही शिक्षकहरूलाई सम्मान गर्ने गरेको पाइन्छ, शिक्षक तथा विद्यार्थीले आ—आफ्नाब् यवहार र भूमिकाको आत्मसमिक्षा गर्नुपर्ने देखिन्छ ।
यसका लागि शिक्षकमा ज्ञान र त्यसको हस्तान्तरण विधिको ज्ञान, विद्यार्थीलाई पढ्ने र आदर्श ब्यवहार गर्ने वानी हुनु आवश्यक छ भने विद्यार्थीमा अनुशासन, आज्ञापालन, लगनशीलता, धैर्यता जस्ता वानी आवश्यक छ । निरन्तर अध्ययन, आदर्श ब्यवहार, आदरार्थी बोली, नैतिकता, सदाचारिता, इमान्दारिता, जिज्ञासा, खोज अनुसन्धान, सिर्जनात्मक एवम् नवीनतम चिन्तन, सूचना प्रविधि एवम् मानव सेवाकार्य जस्ता ब्यवहार शिक्षक र विद्यार्थी दुवैमा हुनु आवश्यक छ । आजको दिनले यी सिप विकास गर्नका लागि सबैलाई प्रेरणा मिलोस् । गुरु पूर्णिमाको सबैमा शुभकामना ।