Butwal Today

गुरु पूर्णिमा, ज्ञानको महापर्व

१३ श्रावण २०८३, बुधबार
अ+
अ-

ज्ञान मानव सभ्यताको सबैभन्दा ठुलो उपलब्धि हो । ज्ञानविना मानिसको जीवनदिशाहीन हुन्छ । धन, शक्ति र प्रतिष्ठाले क्षणिक सफलता दिलाउन सक्छन्, तर ज्ञानले जीवनलाई अर्थ, उद्देश्य र मर्यादा प्रदान गर्छ । यही ज्ञानको दीप प्रज्वलित गर्ने व्यक्तित्व गुरु हुन् ।

गुरु केवल पाठ्यपुस्तकका अध्यापक मात्र होइनन्, जीवनका मूल्य, सत्यको खोजी, नैतिक आचरण, अनुशासन, करुणा र आत्म विकासको मार्ग देखाउने पथ प्रदर्शक पनि हुन । त्यसैले पूर्वीय सभ्यतामा गुरुको स्थान अत्यन्त उच्च मानिएको छ ।

यही गुरु परम्पराको सम्मान स्वरूप प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन गुरूपूर्णिमा मनाइन्छ । हिन्दु धर्म र बौद्ध धर्म दुवैले यस दिनलाई अत्यन्त पवित्रपर्वका रूपमा स्वीकार गरेका छन् । दुवै परम्पराले ज्ञानलाई मानवजीवनको उज्यालो मानेका छन्, यद्यपि त्यसको दार्शनिक व्याख्या आआफ्नै दृष्टिकोणबाट गरेका छन् । हिन्दु धर्ममा गुरु पूर्णिमालाई व्यास पूर्णिमाका नामले पनि चिनिन्छ ।

यस दिन महर्षि कृष्णद्वैपायन वेदव्यासको जन्मभएको विश्वास गरिन्छ । वेदव्यासले विशाल वैदिक ज्ञानलाई व्यवस्थित गर्दै चार वेदको विभाजन गर्नुभयो । उहाँले महाभारत, ब्रह्मसूत्र तथा अठार पुराणको रचना गरेर भारतीय दर्शन, धर्म र संस्कृतिको संरक्षण तथा विकासमा अतुलनीय योगदान पु¥याउनुभयो । त्यसैले उहाँलाई आदिगुरुका रूपमा सम्मान गरिन्छ ।

गुरु पूर्णिमाको दिन वेदव्यासको स्मरण गर्नु भनेको सम्पूर्ण ज्ञान परम्परा, ऋषि संस्कृति र गुरु परम्पराप्रतिश्रद्धा प्रकट गर्नु हो । हिन्दु दर्शनमा गुरुको स्थान ईश्वरसरह मानिएको छ । गुरुले अज्ञानरूपी अन्धकार हटाएर ज्ञानको प्रकाश फैलाउनुहुन्छ । यसै भावलाई संस्कृतको प्रसिद्ध श्लोकले सुन्दर रूपमाव्यक्त गरेको छ ।

“गुरुब्र्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः।।“
यस श्लोकको भाव अत्यन्तगहन छ । गुरु ब्रह्माजस्तै ज्ञानको सृष्टि गर्नुहुन्छ । विष्णुजस्तै त्यसको संरक्षण गर्नुहुन्छ । महेश्वरजस्तै अज्ञान, अहंकार र अविद्याको विनास गर्नुहुन्छ । अन्ततः गुरु नै परम सत्यको अनुभूति गराउने परब्रह्मस्वरूप हुनुहुन्छ । त्यसैले गुरुको सम्मान गर्नु भनेको ज्ञान, सत्य र जीवनका सर्वोच्च मूल्यको सम्मान गर्नु हो । भगवद् गीतामा पनि गुरुको महत्व अत्यन्त स्पष्ट रूपमा वर्णन गरिएको छ । भगवान श्रीकृष्णले अर्जुनलाई भन्नुभएको छ ।

“तद्विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया।
उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस्तत्त्वदर्शिनः।।
यस श्लोकको भाव अनुसार विनम्रता, सेवा र जिज्ञासाका साथ गुरुको शरणमा जाने व्यक्तिलाई तत्वदर्शी गुरुहरूले सत्यज्ञान प्रदान गर्नुहुन्छ । यसले गुरु र शिष्यबीचको सम्बन्ध श्रद्धा, विश्वास, अनुशासन र समर्पणमा आधारित हुनुपर्ने सन्देश दिन्छ ।

हिन्दु सभ्यतामा वशिष्ठ, विश्वामित्र, याज्ञवल्क्य, द्रोणाचार्य, सन्दीपनि, शंकराचार्य लगायतका असंख्य गुरुहरूले समाजलाई ज्ञानको मार्गमा डो¥याएका छन् । उनीहरूको शिक्षाले सभ्यता, संस्कृति, दर्शन र नैतिक जीवनलाई बलियो बनाएको छ । यही गुरु परम्पराका कारण भारतीय ज्ञान संस्कृति हजारौं वर्षसम्म जीवन्त रहन सफल भएको हो । नेपालमा पनि गुरु पूर्णिमाको आफ्नै सांस्कृतिक र शैक्षिक महत्व छ ।

विद्यालय, विश्वविद्यालय, गुरुकुल, आश्रम तथा विभिन्न धार्मिक संस्थाहरूमा गुरुको सम्मान गरिन्छ । विद्यार्थीहरूले आफ्ना शिक्षक तथा गुरुबाट आशीर्वाद लिन्छन् । धार्मिक स्थलहरूमा पूजा, प्रवचन, वेद तथा धर्मग्रन्थ वाचन, ध्यान र दानका कार्यक्रम आयोजना गरिन्छ ।

यस दिन गुरु र शिष्यबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अवसरका रूपमा पनि लिइन्छ । यसले समाजमा ज्ञान, अनुशासन र नैतिकताको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ । बौद्ध धर्ममापनि गुरु पूर्णिमाको महत्व उत्तिकै गहिरो छ ।

आषाढ पूर्णिमाकै दिन भगवान गौतमबुद्धले बोधगयामा सम्यक सम्बोधिप्राप्त गरेपछि सारनाथको ऋषिपत्तन मृगदावमा पाँचजना पूर्व सहयोगी भिक्षुलाई पहिलो धर्मदेशना दिनुभएको थियो । यस ऐतिहासिक घटनालाई धर्मचक्र प्रवर्तन भनिन्छ । यही दिनबाट बौद्ध सङ्घको स्थापना भएको मानिन्छ । त्यसैले थेरवाद बौद्ध परम्परामा यस दिनलाई आसाढ पूजावाधम्म दिवसका रूपमा श्रद्धापूर्वक मनाइन्छ ।

बुद्धको पहिलो धर्मदेशनाले संसारलाई दुःख, त्यसको कारण, दुःखनिरोध र दुःख निरोध गामिनीमार्ग अर्थात् चार आर्य सत्यको शिक्षा दियो । साथै आर्य अष्टाङ्गिक मार्गमार्फत नैतिक, अनुशासित र सन्तुलित जीवन जिउने बाटो देखायो । बुद्धको सम्पूर्ण शिक्षाको केन्द्रमा करुणा, प्रज्ञा, अहिंसा र आत्म अनुशासन रहेको छ । धम्मपदमा बुद्धको शिक्षाको सार यसरी व्यक्त गरिएको छ ।
“सब्बपापस्स अकरणं।
कुसलस्स उपसम्पदा।
सचित्तपरियोदपनं।
एतं बुद्धान सासनं ।।
यस गाथाको भाव स्पष्ट छ । सबै प्रकारका पापकर्मबाट टाढा रहनु, सधैं शुभकर्म गर्नु र आफ्नो मनलाई शुद्ध राख्नु नै बुद्धहरूको शिक्षा हो । यसले बाहिरी आडम्बरभन्दा आन्तरिक शुद्धता, नैतिकजीवन र आत्मसंयमलाई प्राथमिकता दिएको छ ।

बुद्धले कालाम सुत्तमा दिएको शिक्षा आजपनि उत्तिकै सान्दर्भिक छ । उहाँले कुनै कुरा केवल परम्परा, प्रसिद्धि, ग्रन्थ वा कसैको प्रभावका आधारमा स्वीकार नगर्न भन्नुभयो । आफ्नै विवेक, अनुभव र परीक्षणका आधारमा सत्य ग्रहण गर्न प्रेरित गर्नुभयो ।

यसले बौद्ध धर्मलाई विवेक, अनुसन्धान र अनुभवमा आधारित जीवनदर्शनका रूपमा स्थापित गरेको छ । हिन्दु धर्म र बौद्ध धर्मका दार्शनिक आधार फरक भएपनि गुरु पूर्णिमाको मूलभावना समान छ । दुवैले ज्ञानलाई अज्ञानतामाथिको विजयका रूपमा स्वीकार गरेका छन् । दुवैले नैतिकजीवनलाई सफल जीवनको आधार मानेका छन् । दुवैले गुरुको सम्मानलाई सभ्य समाजको अनिवार्य संस्कारका रूपमा स्थापित गरेका छन् । हिन्दु धर्ममा गुरु ईश्वरको प्रतिनिधि हुनुहुन्छ । उहाँको कृपाबाट आत्मज्ञान र मोक्ष प्राप्त हुने विश्वास छ ।

बौद्ध धर्ममा बुद्ध महान शिक्षक हुनुहुन्छ । उहाँले मुक्ति आफ्नै प्रयास, नैतिक आचरण र सही ज्ञानबाट प्राप्त हुन्छ भन्ने शिक्षा दिनुभयो । दृष्टिकोण फरक भएपनि दुवैले सत्य, करुणा, अनुशासन र आत्म विकासलाई जीवनको आधार मानेका छन् । आजको डिजिटल युगमा गुरु पूर्णिमाको सान्दर्भिकता झन् बढेको छ । सूचना प्रविधिले संसारलाई नजिक ल्याएको छ । केही सेकेन्डमै हजारौं सूचना प्राप्त गर्न सकिन्छ । तर, सूचना र सत्य एउटै कुरा होइनन् । सही र गलत छुट्याउने विवेक, नैतिक निर्णय गर्ने क्षमता, मानवता र जिम्मेवारीबोधको विकास गुरुको मार्गदर्शनबाट मात्र सम्भव हुन्छ । पुस्तक, इन्टरनेट वा कृत्रिम बुद्धिमत्ताले जानकारी दिन सक्छन्, तर जीवनका मूल्य सिकाउने काम गुरुले नै गर्नुहुन्छ ।

त्यसैले आधुनिक युगमा पनि गुरुको आवश्यकता कुनैपनि रूपमा कम भएको छैन । गुरूपूर्णिमाको अवसरमा गुरुको पूजा गर्नु, सम्मान गर्नु वा उपहार अर्पण गर्नु राम्रो परम्परा हो । तर त्यो मात्र पर्याप्त हुँदैन । गुरुले दिएका शिक्षालाई व्यवहारमा उतार्नु नै सच्चा गुरु दक्षिणा हो । सत्य बोल्नु, इमानदार बन्नु, अनुशासन पालना गर्नु, श्रमको सम्मान गर्नु, करुणाशील बन्नु, समाजप्रति जिम्मेवार हुनु र निरन्तर सिकिरहनु नै गुरुको शिक्षाप्रतिको वास्तविक सम्मान हो । नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र सहिष्णु मुलुक हो ।

यहाँ हिन्दु र बौद्ध परम्परा शताब्दीयौंदेखि एकअर्काप्रति सम्मान प्रकट गर्दै विकसित भएका छन् । भगवान बुद्धको जन्मभूमि नेपालमा गुरूपूर्णिमाले धार्मिक सद्भाव, सांस्कृतिक एकता र ज्ञानप्रतिको साझा सम्मानलाई अझ सुदृढ बनाएको छ । यो पर्वले फरक धर्म र संस्कृतिका मानिसहरूलाई पनि एउटै सन्देश दिन्छ । ज्ञानभन्दा ठुलो सम्पत्ति छैन । असल गुरुजस्तो ठुलो मार्गदर्शक छैन ।

गुरूपूर्णिमा कुनै एक धर्म, सम्प्रदाय वा समुदायको पर्व मात्र होइन । यो सम्पूर्ण मानव समाजलाई अज्ञानबाट ज्ञानतर्फ, असत्यबाट सत्यतर्फ, हिंसाबाट करुणातर्फ र स्वार्थबाट मानवतातर्फ उन्मुख गराउने चेतनाको महापर्व हो । हिन्दु धर्मले गुरुलाई दिव्यशक्तिको प्रतीकका रूपमा सम्मान गर्छ भने बौद्ध धर्मले गुरुलाई सत्यको मार्ग देखाउने जागृत शिक्षकका रूपमा आदर गर्छ ।

दुवै परम्पराको केन्द्रमा मानव कल्याण, नैतिकता, ज्ञान र विवेकको प्रकाश रहेको छ । जबसम्म मानव समाज ज्ञानको खोजीमा रहनेछ, तबसम्म गुरुको आवश्यकता समाप्त हुने छैन, जबसम्म सत्य, करुणा, अनुशासन र विवेकको मूल्य जीवित रहनेछन्, तबसम्म गुरु पूर्णिमाको महत्वपनि अमर रहनेछ । त्यसैले गुरूपूर्णिमा केवल गुरुको सम्मान गर्ने दिन होइन । यो आफ्नै जीवनलाई ज्ञान, सदाचार, विवेक र मानवताको उज्यालोले आलोकित गर्ने प्रेरणाको महापर्व हो । यही यसको वास्तविक भाव, महत्व र सन्देश हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?