© 2026
बुटवल । राजनीतिलाई आम रूपमा समाज सेवा र नीति निर्माणको मुख्य माध्यम मानिन्छ । तर राजनीति गर्ने व्यक्ति स्वयं आर्थिक रूपमा आत्मनिर्भर भएन भने उसले कसरी निष्पक्ष र निष्कलङ्क भएर समाजको नेतृत्व गर्ला ?
यस्तै दूरदर्शी प्रश्न र आत्म समीक्षाबाट उब्जिएको सोचले अहिले पाल्पाको नुवाकोटगढीमा एक युवा उद्यमीको उदय गराएको छ । उनी हुन्, ३६ वर्षीय स्नातक युवा कृष्ण कुमाल, जसले राजनीतिको औपचारिक भाषणलाई छाडेर डाँडाकाँडामा पसिना बगाउँदै उद्यमशीलताको नयाँ उदाहरण प्रस्तुत गरिरहेका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालको विभिन्न कार्यक्रमहरूमा जाँदा शपथ खुवाउने भूमिकामा रहँदै आएका थिए कृष्ण । “हामी युवाहरूलाई राष्ट्रिय युवा सङ्घको कार्यक्रममा राज्यलाई कर तिर्नेछु, केही न केही उत्पादनसँग जोडिनेछु भनेर शपथ खुवाउँथ्यौँ,” आफ्नो व्यावसायिक यात्राको सुरुवात सम्झँदै कृष्ण भन्छन्, “अनि शपथ खुवाउने मान्छे नै आफैँ उत्पादनसँग जोडिएन र राज्यलाई कर तिरेन भने त्यसको केही अर्थ हुँदैन भन्ने लाग्यो । त्यही आत्म बोधले मलाई व्यवसायतर्फ मोड्यो ।”
सुरुमा उनले कन्स्ट्रक्सन कम्पनी दर्ता गरेर निर्माण व्यवसायमा हात नहालेका होइनन् । तर त्यहाँको वातावरण उति सहज थिएन । काम गरेर समयमा भुक्तानी नपाउने, ५ प्रतिशत ‘पिसि’ बुझाउनुपर्ने बाध्यता, चौतर्फी गाली खानुपर्ने र नाफा हुँदा पनि रकम फिर्ता माग्ने प्रवृत्तिले उनलाई निराश बनायो । “त्यही क्रममा एउटा कार्यक्रममा होटल तथा रेस्टुरेन्टमा एक पटक गरेको लगानीले पुस्तौँसम्म आम्दानी दिन्छ भन्ने सुनेको थिएँ,” उनी भन्छन्, “त्यसैले निर्माण छाडेर पर्यटन व्यवसाय तिरै लाग्ने मन जाग्यो ।”
लुम्बिनी प्रदेशका मन्त्रीको स्वकीय सचिव छँदा उनले मन्त्रालयको चौमासिक प्रगति विवरण बैठकमा पाल्पाको नुवाकोट जोड्ने बाटो सोही वर्षको अन्त्यसम्ममा कालोपत्रे हुने जानकारी पाएका थिए । बुटवलको गर्मी र भिडभाडबाट मात्र आधा घण्टाको दूरीमा रहेको, बुटवलभन्दा अझै माथि उचाइमा अवस्थित चिसो र मनमोहक नुवाकोटमा उनले कृषि पर्यटनको प्रचुर सम्भावना देखे ।
सम्भावना अध्ययनका क्रममा झिङ्गामारा र जन्तिलुङ्गसम्म पुगे पनि बुटवलको क्राउडलाई क्याच अप गर्न नुवाकोट नै उपयुक्त लागेपछि उनले आफ्ना साथीहरूसँग मिलेर नुवाकोट माथिको ओखलढुङ्गा भन्ने ठाउँमा जग्गा खरिद गरे । सोही सोचको जगमा वि.सं. २०८० मा स्थापना भयो— नुवाकोटगढी रिसोर्ट एन्ड एग्रो फार्म ।
बाहिरबाट हेर्दा रिसोर्ट लोभलाग्दो र रमणीय देखिए पनि यसको जगभित्र कृष्णको अथक सङ्घर्ष र ठूलो वित्तीय जोखिम लुकेको छ । हालसम्म करिब २ करोड रुपैयाँ लगानी भइसकेको यस रिसोर्टमा अधिकांश रकम ऋणको छ । “कमाएको त के नै थियो र दाजु, सबै ऋण हो,” आफ्नो लगानीबारे स्पष्ट पार्दै कृष्णले भने, “शाइन रेसुङ्गा बैङ्कबाट ७० लाख, कृषि विकास बैङ्कबाट २० लाख, स्वदेशी सहकारीबाट २५ लाख, ज्योति लाइफ इन्स्योरेन्सबाट १० लाख, दुई वटा टोल विकास समितिबाट १२ लाख, साझेदारको १५ लाख र छोरीको इन्स्योरेन्स पोलिसीसमेत रद्द गरेर साढे तीन लाख रुपैयाँभन्दा बढी जुटाएर लगानी गर्यौँ ।” यसका लागि उनले आफ्ना बुवा र ससुरालीको समेत जग्गा धितो राख्नुपरेको थियो ।
रिसोर्ट निर्माणको सुरुवाती चरण नै उनका लागि ठूलो परीक्षा साबित भयो । घना जङ्गलको बिचमा रिसोर्ट बनाउँदा इन्जिनियरले पानीको अभाव देखाउँदै निर्माण लागत दोब्बर पर्ने चेतावनी दिएका थिए । नभन्दै, संरचना निर्माणको क्रममा पानीकै लागि मात्र साढे आठ लाख रुपैयाँ खर्च भयो । त्यसपछि पनि प्राकृतिक विपत्तिले उनलाई पटक–पटक पछारे । २०८० सालको जेठमा भीषण हावाहुरीले रिसोर्टको हल र कटेजका टिनको छत नै उडाइदिँदा झन्डै १० लाख रुपैयाँको क्षति भयो । लगत्तै २०८१ सालको वैशाखमा जङ्गलको डढेलो उडेर रिसोर्टमा सल्किँदा कटेज, मोटरसाइकल र कुखुराको खोर डढेर खरानी भए ।
अझै पनि खाने र पकाउने पानीका लागि दुई जना कर्मचारी डोको र ग्यालेनमा पानी बोक्नमै व्यस्त हुन्छन् भने बाथरुमका लागि बुटवलबाट महँगो भाडा तिरेर ट्याङ्करमा पानी मगाउनुपर्ने बाध्यता छ । “बुटवलबाट सामान ल्याउने गाडी भाडा नै ३ देखि ४ हजार पर्छ,” भौगोलिक विकटताको चुनौती सुनाउँदै उनी भन्छन्, “जङ्गलको बिचमा भएकाले कर्मचारी पाइँदैन, धन्न परिवार र नातेदारहरू मिलेर सम्हालेका छौँ ।”
यी तमाम चुनौतीका बाबजुद “फिल द नेचर” अर्थात् प्रकृतिलाई महसुस गर्नुहोस् भन्ने मूल मर्मका साथ सञ्चालित यो रिसोर्टले छोटो समयमै पर्यटकको मन जित्न सफल भएको छ । बुटवलबाट १० किलोमिटरको दूरीमा रहेको यो ठाउँमा गर्मीमा चिसो, जाडोमा न्यानो घाम र बर्खामा पानी पर्नसाथ हुस्सुले ढाकिने मनमोहक मौसम पाइन्छ । यहाँको मुख्य आकर्षण भनेकै रैथाने परिकार र अर्ग्यानिक खानपान हो ।
जोखेर बिक्री गरिने लोकल कुखुराको भुटन, पोलेर साधेको र ग्रेभी परिकार यहाँका लोकप्रिय स्वाद हुन् । त्यसका साथै काभ्रा, सिप्लिकान, कालो निहुरो, जङ्गली च्याउ, केराको बोङ्गाको अचार, कोइरालाको फूल र कोदोको जुसजस्ता स्थानीय उत्पादनले पाहुनालाई आकर्षित गर्ने गरेको छ ।
गाउँलेले टिपेर ल्याएका जङ्गली सागपात र स्थानीय पशुपन्छी रिसोर्टले खरिद गरिदिने भएकाले स्थानीय अर्थतन्त्रलाई पनि ठूलो टेवा पुगेको छ । “स्थानीय उत्पादन र किसानसँग सहकार्य नगरी हाम्रो व्यवसाय चलाउनै सकिँदैन,” कृष्ण भन्छन्, “गाउँमा उब्जनी हुने लोकल काँक्रो, चामल, सागसब्जी र सिजनल अर्ग्यानिक तरकारी सबै किसानले यहीँ ल्याइदिनुहुन्छ, त्यसैले हाम्रो व्यवसाय चलेको छ ।” हाल रिसोर्टमा ४० जना सुत्न मिल्ने व्यवस्था छ भने प्रत्यक्ष रूपमा ९ जना र अप्रत्यक्ष रूपमा २० भन्दा बढी स्थानीय किसानहरूले यसबाट रोजगारी पाएका छन् ।
राजनीतिक पहुँचका आधारमा व्यवसाय चलाएको वा नेताको पैसा चलाएको भन्ने टीकाटिप्पणी पनि कृष्णले नखेपेका होइनन् । “कहिलेकाहीँ नेताको पैसा चलायो भन्ने आलोचना खेप्नु परेको पीडा आफैँसँग छ,” उनले दुखेसो पोखे, “त्यस्तो भन्ने मान्छेलाई मेरो बैङ्क, सहकारी र टोल विकास संस्थामा गएर बुझिदिए हुन्थ्यो नि जस्तो लाग्छ ।” यद्यपि, मन्त्री र मुख्यमन्त्रीको स्वकीय सचिव हुँदा बनेको चिनजानले व्यवसायमा सकारात्मक फाइदा पुगेको र राजनीतिमा सिकेको नम्रता र अनुशासन नै व्यवसायको सफलताको साँचो भएको उनी स्वीकार गर्छन् ।
आगामी पाँच वर्षभित्र यस रिसोर्टलाई १५० जना सुत्न मिल्ने क्षमताको व्यवस्थित र प्रविधियुक्त बनाउने उनको लक्ष्य छ । राजनीतिमा अब कार्यकारी पद नलिई सामान्य सदस्यका रूपमा मात्र क्रियाशील रहने उनको योजना छ ।
स्वदेशमा सम्भावना नदेखेर बिदेसिन खोज्ने युवाहरूका लागि कृष्ण कुमाल एक प्रेरणाका स्रोत हुन् । “हाम्रो देश प्रकृतिको अनुपम उपहारले भरिएको छ,” विदेश जाने सोचमा रहेका युवाहरूलाई सन्देश दिँदै कृष्ण भन्छन्, “विदेश जाने रकम लगाएर पहाडका खाली पुराना घरलाई लिजमा लिएर रिनोभेट गरी गाउँले रिसोर्ट सञ्चालन गर्दा धेरै राम्रो चल्छ ।
बाँझो जग्गामा अर्ग्यानिक खाद्यवस्तु उत्पादन गर्दै पाहुनालाई खुवाएर देशमै सम्भावना खोज्न सकिन्छ । तर यो व्यवसायमा दुःख धेरै छ, त्यो दुःखलाई नै आफ्नो सुख हो भन्ने सोचियो भने भविष्य उज्ज्वल हुन्छ ।”