Butwal Today

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

९ श्रावण २०८३, शनिबार
अ+
अ-

काठमाडौं । आर्थिक वर्ष २०८२ ८३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १२ लाख नाघेको छ। नेपाल पर्यटन बोर्डका अनुसार उक्त अवधिमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक नेपाल आएका छन्, जुन पछिल्ला वर्षहरूमध्ये उल्लेखनीय वृद्धि हो।

सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका छन्। त्यसपछि अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन्। भारतको हिस्सा कुल पर्यटक आगमनको करिब २५.७६ प्रतिशत रहेको बोर्डले जनाएको छ। बंगलादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अस्ट्रेलियाबाट ५३ हजार १९५, श्रीलंकाबाट ४३ हजार २११, भुटानबाट ३६ हजार २८९, म्यानमारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ र मलेसियाबाट २५ हजार ६४० पर्यटक नेपाल आएका छन्।

महिनागत रूपमा हेर्दा कात्तिकमा सबैभन्दा बढी १ लाख २४ हजार ८२९ विदेशी पर्यटक नेपाल आएका थिए। त्यसपछि चैतमा १ लाख १९ हजार ३९०, फागुनमा १ लाख १४ हजार १५२ र असोजमा १ लाख ११ हजार ७८० पर्यटक आगमन भएको बोर्डको तथ्यांकले देखाएको छ।नेपाल पर्यटन बोर्डले भारत, चीनलगायत प्रमुख स्रोत बजारमा पर्यटन प्रवर्द्धनलाई तीव्र बनाएको जनाएको छ। भारतका प्रमुख शहरहरूमा मात्रै १२ भन्दा बढी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो भने अन्तर्राष्ट्रिय बजारमा ४० भन्दा बढी पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको बोर्डले जनाएको छ।

बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले अन्तर्राष्ट्रिय प्रवर्द्धन, हवाई पहुँच विस्तार र निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सुधार आएको बताए।उनका अनुसार आरोग्य पर्यटन वर्ष २०२७ को घोषणासँगै चालु आर्थिक वर्षमा विदेशी पर्यटक आगमन अझ बढ्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?