© 2026
बाँके । बाँके र बर्दियाका थारु बस्तीमा धान रोपाइँ सकिएसँगै महिलाहरूको दैनिकी फेरिएको छ । केही दिनअघिसम्म खेतमा व्यस्त देखिने उनीहरू अहिले बिहानै हेल्का, डिलिया, डुम्सी र गुच्छा बोकेर खोल्सा, नहर र तालतर्फ माछा मार्न निस्किन्छन् ।
वर्षा याममा धान रोपाइँपछि केही समय फुर्सद मिल्ने भएकाले थारु महिलाहरूले यो समय परम्परागत रूपमा माछा मार्दै बिताउने गरेका छन् । यस क्रममा उनीहरू केवल परिवारका लागि माछा सङ्कलन मात्र गर्दैनन्, आपसमा भेटघाट, अनुभव आदानप्रदान र सामूहिक रमाइलो पनि गर्छन् ।
पश्चिम तराईका बाँके र बर्दियाका थारु बस्तीमा धान रोपाइँ सकिए लगत्तै देखिने यो दृश्य वर्षौँदेखि दोहोरिँदै आएको जीवनशैली हो । खेतीपातीको सबैभन्दा कठिन काममध्ये एक मानिने धान रोपाइँ सम्पन्न भएपछि केही दिनका लागि खेतको चटारो कम हुन्छ ।
यही समयलाई थारु महिलाहरूले केवल आराम गर्ने अवसरका रूपमा मात्र होइन, प्रकृतिसँग पुनः जोडिने, परम्परा जोगाउने र परिवारका लागि ताजा माछा जुटाउने अवसरका रूपमा उपयोग गर्छन् ।
बर्दियाको बढैया गाउँकी ५० वर्षीया माया थारु बिहानै साथीहरूलाई बोलाउँदै भन्छिन्, “आज पानी सफा छ, ठुला सिध्रा भेटिन सक्छन् ।” उनको हातमा बाँसको डुम्सी हुन्छ, टाउकोमा डिलिया र कम्मरमा सानो गुच्छा । उनीसँगै छोरीहरू पनि उत्साहका साथ हिँड्छन् । कसैले सानो प्लास्टिकको भाँडो बोक्छन् भने कसैले टोकरी । बाटोभरि हाँसो, ठट्टा र गीतले उनीहरूको यात्रा रमाइलो बनाइदिन्छ ।
खोल्साको किनारमा पुग्ने बित्तिकै महिलाहरूले पानीको बहाव, रङ्ग र गहिराइ नियाल्छन् । उनीहरूका लागि पानीको स्वरूप नै माछाको सङ्केत हो । “आज पानी अलि मधुरो छ, माछा झाडीमुनि लुकेको होला,” ७० वर्षीया जगिया थरुनी अनुभव सुनाउँछिन् । उनले जीवनको अधिकांश समय खेत, जङ्गल र खोल्साको आसपास बिताएकी छन् । “कुन ठाउँमा डुम्सी राख्ने, कहिले गुच्छा चलाउने र कुन मौसममा कुन माछा पाइन्छ भन्ने कुरा हामीले किताब पढेर होइन, प्रकृतिसँगै बसेर सिकेका हौँ,” उनी भन्छिन् ।
थारु समुदायमा माछा मार्ने सीप पुस्तौँदेखि पुस्तामा हस्तान्तरण हुँदै आएको अमूल्य परम्परा हो । आमा, हजुरआमा र सासूबाट सिकेको सीप अहिले छोरी र नातिनीहरूमा हस्तान्तरण भइरहेको छ । त्यसैले माछा मार्ने काम केवल भोजन जुटाउने माध्यम मात्र होइन, पुस्तान्तरण हुने सांस्कृतिक ज्ञान पनि हो ।
सिडिया, ढुकरी, पुतली, चिप्ली, गुर्खा र पेवा जस्ता स्थानीय माछाका प्रजाति महिलाहरूले सजिलै चिन्ने गर्छन् । कुन माछा झोलमा स्वादिलो हुन्छ, कुनलाई सुकाएर राख्न उपयुक्त हुन्छ र कुनलाई भुटेर खान राम्रो हुन्छ भन्ने ज्ञान उनीहरूको अनुभवमै आधारित हुन्छ । यही अनुभवले थारु भान्साको मौलिक स्वादलाई आजसम्म जोगाइराखेको छ ।
धान रोपाइँका दिनमा बिहानदेखि साँझसम्म खेतमा खटिने महिलाहरूका लागि यो समय मानसिक विश्रामको अवसर पनि हो । खेतको हिलोबाट केही दिनका लागि बाहिरिएर खोल्साको चिसो पानीमा खुट्टा डुबाउँदा उनीहरूको थकान पनि बगेर गएको अनुभूति हुन्छ । “अब केही दिन फुर्सद पाइन्छ, माछा मार्दै रमाइलो गर्छौँ,” बर्दियाकी मनमाया थारु भन्छिन् । उनका अनुसार माछा मार्ने यो समय महिलाहरूका लागि कामभन्दा बढी उत्सवजस्तै हुन्छ ।
बिहान करिब आठ बज्नासाथ गाउँका महिलाहरू साना–ठुला समूहमा विभाजित भएर दह, पोखरी, नहर र खोल्सातिर लाग्छन् । कतै १० जनाको समूह हुन्छ, कतै २० जनासम्म । उनीहरूको उद्देश्य केवल माछा समात्नु मात्र होइन, केही घण्टा आफ्नै संसारमा रमाउनु पनि हो । पानीभित्र खुट्टा डुबाएर, हातमा गुच्छा र डुम्सी चलाउँदै उनीहरू गीत गाउँछन्, ठट्टा गर्छन् र जीवनका सुख–दुःख साटासाट गर्छन् ।
घरभित्रको जिम्मेवारी, खेतबारीको काम र परिवारको चटारोबिच महिलाहरूले आफूका लागि समय निकाल्ने अवसर विरलै पाउँछन् । तर धान रोपाइँ सकिएपछिको यो समय उनीहरूका लागि स्वतन्त्रताको सानो उत्सवजस्तै हुन्छ ।
बर्दियाकी भगवती थारु भन्छिन्, “हामी माछा मार्न मात्रै निस्केका हुँदैनौँ । यही बेला गाउँघरका कुरा हुन्छन्, परिवारका समस्या साटासाट गर्छौँ, कसैलाई सहयोग गर्नुपर्ने भए सल्लाह पनि यहीँ हुन्छ । घरमा त कामकै चटारो हुन्छ ।”
महिलाहरूका लागि यो सामूहिकता मानसिक विश्रामको माध्यम पनि बनेको छ । एक अर्काका अनुभव सुन्ने, पीडा बाँड्ने र खुसी साट्ने क्रममा उनीहरूबिचको आत्मीयता अझ गहिरिँदै जान्छ । यही कारण माछा मार्ने यो परम्परालाई थारु महिलाहरू सामाजिक सम्बन्ध बलियो बनाउने अवसरका रूपमा पनि लिन्छन् ।
घर फर्किँदासम्म टोकरीमा जम्मा भएका माछाले दिनभरको भोजनको व्यवस्था गरिसकेका हुन्छन् । थारु भान्सामा माछाको विशेष स्थान छ । ताजा माछाको झोल, भुटेको माछा, सुकुटी बनाएर राखिएको माछा वा धुवाँमा सुकाएर बनाइने परिकार आज पनि थारु समुदायको खानपान संस्कृतिको अभिन्न हिस्सा हुन् ।
तर माछा मार्ने यो परम्परा केवल घरको भान्सासम्म सीमित छैन । कतिपय महिलाका लागि यो सानो आयआर्जनको स्रोत पनि बनेको छ । घरमा आवश्यकताभन्दा बढी माछा परे उनीहरू नजिकैको बजारसम्म पुगेर बिक्री गर्छन् । त्यसबाट प्राप्त रकमले घरका साना–साना आवश्यकता पूरा गर्न सहज हुने गरेको उनीहरू बताउँछन् ।
बर्दियाको टिटिहिरियाकी राधा थारु भन्छिन्, “धेरै माछा परे बजारमा बेच्न लैजान्छौँ । त्यसबाट नुन, तेल, मसला, छोराछोरीका कापीकलमजस्ता सामान किन्ने खर्च जुट्छ । धेरै रकम नआए पनि आफ्नै कमाइ हुँदा आत्मविश्वास बढ्छ ।”
थारु समुदायमा महिलाहरूको आर्थिक भूमिकालाई सुदृढ बनाउन यस्ता परम्परागत अभ्यासले पनि योगदान पु¥याइरहेका छन् । खेतीपातीसँगै प्राकृतिक स्रोतको सदुपयोग गरेर अतिरिक्त आम्दानी गर्ने यो अभ्यास अहिले पनि ग्रामीण जीवनको महत्त्वपूर्ण पाटो बनेको छ ।
थारु समुदायका लागि माछा केवल भोजनको परिकार होइन, संस्कृति र पहिचानको अभिन्न अङ्ग हो । विवाह, भोज, मङ्गल कार्य, पूजा–पर्वदेखि नयाँ बाली भित्र्याउने संस्कारसम्म माछाको विशेष स्थान रहँदै आएको छ । नयाँ धान घर भित्र्याएपछि गरिने पूजामा ताजा माछा चढाउने चलन अझै धेरै थारु बस्तीमा जीवित छ । त्यसैले माछा मार्ने परम्परा केवल जीविकोपार्जन वा मनोरञ्जनको माध्यम मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा पनि हो ।
तर समयसँगै गाउँको जीवनशैली बदलिँदै गएको छ । खेतमा गोरुको ठाउँ ट्याक्टरले लिएको छ । नहर र खोल्साका धेरै भाग साँघुरिँदै गएका छन् । बजारबाट ल्याइने तयारी परिकारले परम्परागत खानाको स्वादलाई चुनौती दिन थालेको छ । मोबाइल फोन र सामाजिक सञ्जाल गाउँसम्म पुगेपछि नयाँ पुस्ताको जीवनशैली पनि फेरिँदै गएको छ ।
यद्यपि, यी सबै परिवर्तनबिच पनि धान रोपाइँ सकिएपछि खोल्सा र नहरतिर हेल्का, डिलिया र गुच्छा बोकेर निस्किने थारु महिलाहरूको दृश्य भने अझै हराएको छैन । अहिले कतिपय युवतीहरू माछा मार्दै गरेका तस्बिर र भिडियो मोबाइलमा कैद गर्छन्, सामाजिक सञ्जालमा सार्वजनिक गर्छन् । प्रविधि फेरिए पनि पानीमा गुच्छा चलाउने सीप र माछा खोज्ने शैली भने उस्तै छ । यही निरन्तरताले थारु संस्कृतिको जीवन्तता प्रमाणित गरिरहेको छ ।
साँझ घर फर्कँदा महिलाहरूका डिलियामा जम्मा भएका माछाले घरको भान्सा मात्र भरिँदैन, परिवारको खुसी पनि बढाउँछ । छिमेकीहरू एकअर्काको घरमा पुगेर माछाको स्वाद साटासाट गर्छन् । त्यो दृश्यले गाउँमा केवल भोजनको तयारी होइन, सामुदायिक आत्मीयता पनि झल्काएको छ ।