Butwal Today

नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

६ श्रावण २०८३, बुधबार
अ+
अ-

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.भीमप्रसाद खतिवडाले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन। शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडालाई शपथ गराएका हुन। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन शाहले मंगलबार नै उहाँलाई उपकुलपतिमा नियुक्त गरेका थिए।

शिक्षा मन्त्रालयका अनुसार छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा कार्यविधि, २०८३ बमोजिम खतिवडालाई उपकुलपतिमा नियुक्त गरिएको हो। नाट्य विद्यामा विद्यावारिधि गरेका खतिवडा लामो समयदेखि संस्कृत साहित्य, अध्यापन र अनुसन्धानमा सक्रिय रहँदै आउनुभएको छ। उनले यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति तथा शिक्षाध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए।

झापामा जन्मिएका खतिवडाले धरानलाई कर्मथलो बनाउँदै पिण्डेश्वर विद्यापीठ तथा नेपाल संस्कृत विश्वविद्यालयको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन । संस्कृत साहित्यमा स्वर्णपदक प्राप्त उनले ‘दुःखान्त नाटकको दुःखान्तता सिद्धि’ विषयमा विद्यावारिधि गरेका छन। शपथपछि खतिवडाले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सम्पदाको संरक्षण तथा व्यवस्थापन तथा कला, साहित्य, संस्कृति र धर्मसम्बन्धी अध्ययन–अनुसन्धानलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

नेपाल संस्कृत विश्वविद्यालय मुलुकको दोस्रो पुरानो विश्वविद्यालय हो। यहाँ संस्कृत भाषा, साहित्य, दर्शन, संस्कृति तथा धर्मसम्बन्धी विषयमा स्नातकदेखि विद्यावारिधिसम्म अध्ययन, अध्यापन र अनुसन्धान हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?