© 2026
नवलपरासी । नेपालमै पहिलो पटक व्यावसायिक रूपमा पङ्गास (बैखी) माछाका भुरा उत्पादन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–२ सेमरीमा स्थापना गरिएको ह्याचरी अवलोकनकर्ताको आकर्षण बन्दै गएको छ ।
ह्याचरी सञ्चालनमा आएपछि कृषि तथा पशुपन्छी क्षेत्रसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिका साथै संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का प्रतिनिधिसमेत अवलोकनका लागि पुग्न थालेका छन् ।
ए.के. एक्वा रिसर्च ह्याचरी प्रालिले सञ्चालनमा ल्याएको ह्याचरीमा नेपालमै पहिलो पटक पङ्गास माछाका भुरा उत्पादनको सफल परीक्षण भएपछि विभिन्न निकायको चासो बढेको हो । ह्याचरीका सञ्चालक भवानीशंकर यादवले नेपालमा अत्यधिक माग हुने पङ्गास माछाको भुरा अब स्वदेशमै उत्पादन गर्न सफल भएपछि सरोकारवाला निकायले अध्ययन तथा अवलोकन गर्न थालेको बताए ।
उनका अनुसार हालै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिलगायतका निकायका प्रतिनिधिले ह्याचरीको अवलोकन गरी यसको सम्भावनाबारे जानकारी लिएका थिए ।
अनुगमन टोलीले स्वदेशमै माछाका भुरा उत्पादन सुरु हुनु मत्स्य क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यस्ता उद्योगको विस्तार र व्यवस्थापनमा सरकारी सहयोग आवश्यक रहेको धारणा व्यक्त गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले यति ठुलो निजी लगानीमा सञ्चालन भएको कृषि उद्यमलाई प्रोत्साहन गर्न सम्बन्धित सरकारी निकायले आवश्यक सहजीकरण गर्नुपर्ने बताए । जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले पनि यसलाई जिल्लाकै गौरवको परियोजना भएको उल्लेख गरे ।
अहिलेसम्म नेपालका अधिकांश माछापालक किसानले पंगास माछाका भुरा भारतलगायत अन्य मुलुकबाट आयात गर्दै आएका थिए । अहिले भने प्रतापपुरमै ह्याचरी स्थापना भएपछि स्वदेशमै भुरा उत्पादन सुरु भएको छ । सञ्चालक यादवका अनुसार पहिलो चरणको उत्पादन सफल भएको छ। एउटा माउ पङ्गास माछाबाट करिब दुई केजी अण्डा प्राप्त भएको र त्यसबाट करिब १० लाख भुरा उत्पादन हुने अनुमान गरिएको छ ।
हाल भुरा वैज्ञानिक विधिबाट हुर्काउने काम भइरहेको छ । माउ माछालाई पनि विशेष स्याहार आवश्यक पर्ने भएकाले सन्तुलित आहार र नियमित निगरानीमा राखिएको उनले बताए । करिब ६ केजी तौलको माउ माछाबाट उत्पादन भएको भुरा यसै सिजनमा दुई करोडसम्म पु¥याउने लक्ष्य राखिएको उनले जानकारी दिए ।
पङ्गाससँगै कार्प प्रजातिका माछाका भुरा पनि उत्पादन तथा बिक्री वितरण गरिँदै आएको छ । कम्पनीले आफ्नै २० बिघा क्षेत्रफलमा पोखरी निर्माण गरेर व्यावसायिक माछा पालनसमेत गर्दै आएको छ ।
डेढ दशकदेखि कार्प प्रजातिका माछा पालन गर्दै आएका यादव पछिल्ला तीन वर्षदेखि पङ्गास पालनमा केन्द्रित छन् । आयातित भुरा खोजेको बेला उपलब्ध नहुने, गुणस्तरमा असमानता हुने तथा आयात प्रक्रियामा झन्झट हुने समस्या देखेपछि करिब २५ लाख रुपियाँ लगानीमा ह्याचरी निर्माण गरिएको उनले बताए ।
नेपालमा प्रत्येक सिजन तीनदेखि पाँच करोड पङ्गासका भुराको माग हुने अनुमान गरिएको छ । त्यसलाई ध्यानमा राखेर कम्पनीले थाइल्यान्ड र बङ्गलादेशबाट अनुभवी मत्स्य प्राविधिकसमेत ल्याएर काम गरिरहेको छ । सञ्चालक यादवका अनुसार प्रविधि मात्र पर्याप्त हुँदैन, त्यसलाई सञ्चालन गर्न दक्ष जनशक्ति पनि आवश्यक पर्छ । यही कारण विदेशबाट उपकरणसँगै अनुभवी प्राविधिकसमेत ल्याइएको हो ।
उनले भविष्यमा माछाका भुरासँगै दाना उत्पादन गर्ने योजना रहेको जानकारी दिए । अहिले प्राथमिकतामा गुणस्तरीय भुरा उत्पादन रहेको उनको भनाइ छ ।
नेपाल मत्स्य विकास सङ्घका केन्द्रीय कोषाध्यक्षसमेत रहेका यादवका अनुसार नेपालमा पंगास माछाको माग अझै ठुलो छ । भारतको आन्ध्र प्रदेशबाट दैनिक ठुलो परिमाणमा पंगास नेपाल भित्रिने गरेको उहाँको दाबी छ । विराटनगर, वीरगञ्ज, सोनौली र नेपालगन्ज नाकाबाट दैनिक करिब ५५ मेट्रिक टन माछा नेपाल भित्रिने अनुमान रहेको उनले बताए । स्वदेशमै उत्पादन वृद्धि गर्न सके आयात प्रतिस्थापनसँगै किसानको आयसमेत बढ्ने उनको विश्वास छ ।
यादवले गहिरा पोखरीमा वैज्ञानिक विधिबाट माछा पालन गर्दा उत्पादन सुरक्षित र प्रभावकारी हुने अनुभवसमेत सुनाए । अधिकांश किसानले ६ फिट गहिराइका पोखरी बनाउने गरे पनि आफूले ३० फिटसम्म गहिरो पोखरी निर्माण गरी सफलतापूर्वक माछा पालन गर्दै आएको उनले बताए । गहिरो पोखरीमा तापक्रम सन्तुलित रहने, अक्सिजन व्यवस्थापन गर्न सहज हुने र माछाको मृत्युदर कम हुने उनको अनुभव छ ।
गण्डक नहर आसपासका क्षेत्रमा व्यावसायिक पङ्गास पालन विस्तार गर्न सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै यादवले किसानलाई आधुनिक प्रविधि र वैज्ञानिक व्यवस्थापनतर्फ आकर्षित गर्नुपर्ने आवश्यकता औँल्याए ।