© 2026
बुटवल । श्रावण शिवजीको प्रिय महिना भएकाले यो महिनालाई शिव उपासनाका लागि उत्तम महिना मानिन्छ । सूर्यको दक्षिणायन आरम्भ हुने, वर्षा ऋतु सुरु हुने र सूर्य कर्कट राशिमा विचरण गर्ने यस महिना प्राकृतिक तथा धार्मिक–सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको छ ।
स्कन्दपुराणअन्तर्गत शिव र सनतकुमारको संवादको प्रसङ्गमा श्रावण महिनाको महिमा बताउँदै अन्य महिनामा गरेको भन्दा श्रावण महिनामा गरिएका शुभकर्मको बढी फल प्राप्त हुने कुरा बताइएको छ ।
हिन्दुहरू श्रावण महिनाभरि शुद्ध आहार गर्ने र सोमबार शिवजीको उपासना एवं व्रत गर्ने परम्परा रहेको छ । श्रावण महिनाभरि र विशेष गरी सोमबारका दिन पवित्र नदीहरूबाट जल लिएर शिवालयहरूमा पुगी शिवजीलाई जल चढाउने बोलबमको परम्परा लामो समयदेखि चलिआएको छ ।
विगतमा बोलबम भन्दै जलार्पण गर्न भारतका विभिन्न धाममा जाने गरिए पनि पछिल्ला तीन दशकमा नेपाली भक्तजन मात्र नभई भारतका भक्तजनसमेत नेपालका शिवधामहरूमा आउन थालेका छन् । भगवान् शिवको पूजा–आराधना गर्ने र जलार्पण गर्ने भक्तजनका कारण श्रावण महिनामा शिवालय तथा नदीका मुख्य घाटहरूमा भक्तजनको भीड हुने गरेको छ ।

रूपन्देहीको सैनामैना नगरपालिका–१ मा रहेको ऐतिहासिक पर्रोहा परमेश्वर बोलबम धाम मन्दिरमा रूपन्देही जिल्ला र यसको आसपासका भक्तजन मात्र नभई भारतबाट समेत जलार्पण गर्न आउने गर्दछन् । पश्चिम नेपालको पशुपतिनाथ भनेर चिनिने बोलबम धाम मन्दिर पुनर्निर्माणपछिको नयाँ स्वरूपको प्यागोडा शैलीको कलात्मक मन्दिरले भक्तजनलाई निकै आकर्षित तुल्याएको छ । बोलबम धाममा रहेको शिव ज्योतिर्लिङ्गमा हरेक वर्ष गुरूपूर्णिमादेखि जनैपूर्णिमासम्म जलार्पण गर्ने परम्परा छ ।
बुटवलदेखि १५ किलोमिटर पश्चिममा रानीबगिया बजार पुगेर दुई किलोमिटर दक्षिणमा रहेको यो धाममा भक्तजनहरूले बाणगंगा, कालीगण्डकी, सप्तकोशी, तिनाउ तथा भारतको गङ्गा नदीबाट समेत जल उठाएर काबरियाहरूले खाली खुट्टा पैदल बोलबम यात्रा गर्दै धाममा रहेको शिव ज्योतिर्लिङ्गमा पूजा र जलार्पण गर्ने गरेका छन् । श्रावणको पहिलो सोमबारदेखि जनैपूर्णिमासम्म यो धाममा भक्तजनको निकै घुइँचो लाग्ने गरेको छ ।
तामनगर चोकबाट तीन किलोमिटर दक्षिण–पश्चिममा दानो नदीको छेउमा रहेको नर्बदेश्वर धाम (नरैनापुर) यो क्षेत्रको सबैभन्दा पुरानो शिवालय मानिन्छ । करिब दुई सय वर्षदेखि अखण्ड धुनी जलिरहेको यो स्थानमा दुईवटा थुम्कोमा दुईवटा शिवलिङ्ग रहेको कुरा १२६ वर्षअघि यो क्षेत्र भ्रमण गरेका पुरातत्वविद् पी. सी. मुखर्जीले उल्लेख गरेका छन् ।
शिवरात्रिमा ठूलो मेला लाग्ने यो धाममा नेपाल र भारतका थारू भक्तजनको विशेष श्रद्धा रहने गरेको छ । दानो नदीको कर्साघाट तथा अन्य नदीबाट जल लिएर यस धाममा रहेको शिवलिङ्गमा भक्तजनहरू जलार्पण गर्दछन् । रूपन्देहीको मायादेवी गाउँपालिका–५ सेमरहनामा रहेको प्रकटेश्वर महादेव मन्दिर रूपन्देहीका प्रसिद्ध शिवालयमध्ये एक हो ।

यहाँ श्रावण महिनामा विशेष मेला लाग्ने गरेको छ । धेरैजसो तराईवासी तथा भारतीय भक्तजन शिव उपासना र जलार्पणका लागि यो मन्दिर जाने गरे पनि यातायातको सहजताका कारण भैरहवा र बुटवल क्षेत्रबाट समेत भक्तजनहरू पुगिरहेका छन् भन्ने स्थानीय राम जियावन यादव बताउँछन् ।
भैरहवा क्षेत्रमा बसडिलवा शिवालय, मणिग्रामको रामेश्वर शिवालय, खैरेनीको लौकेश्वर शिवालय, नयाँगाउँको मुक्तिनाथधाम, सूर्यपुरामा दानो नदीको संगममा रहेको शिवालय र चिडियाखोलामा रहेको शिवालयसमेत श्रावणी जलार्पणका श्रद्धाका थलो मानिन्छन् ।
नारायणी, सोनभद्रा र पञ्चा नदीको संगममा रहेको त्रिवेणीधाम श्रावणी स्नानका लागि महत्वपूर्ण स्थान हो । यस धामबाट शुद्ध जल लिएर भक्तजनहरू देशका विभिन्न स्थानमा रहेका शिवालयहरूमा जलार्पणका लागि जाने गर्दछन् ।
नारायणी किनारमा रहेको जटाशंकर महादेव मन्दिर यहाँ पुग्ने भक्तजनहरूले पूजा गर्न नछुटाउने मन्दिर हो । पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिकामा रहेको लोहरौली मन्दिर, बर्दघाट नगरपालिकामा रहेको कञ्चनकुटी, सुनवल नगरपालिकामा रहेको बाबा बर्दगोरिया मन्दिर, सोमनाथ मन्दिर र बैरागनाथ मन्दिर यस जिल्लाका प्रसिद्ध शिव मन्दिर हुन् ।
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजारमा अवस्थित प्रख्यात तौलेश्वरनाथ मन्दिर यस जिल्लाकै प्राचीन महादेव मन्दिर हो । सुब्बा गोस्वामी जयकृष्ण पुरीले विक्रम संवत् १८७२ मा काष्ठ मन्दिरको निर्माण गरेका थिए । पटक–पटक जीर्णोद्धार गरिएको यो मन्दिरको वर्तमान शिखर शैलीको स्वरूप निकै आकर्षक र कलात्मक छ ।
यस मन्दिरको गर्भगृहमा कालो प्रस्तरको करिब तीन फिट अग्लो शिवलिङ्ग रहेको छ, जसलाई तामाको नागले घेरेको छ । यस मन्दिरमा दिनहुँ भारतीय र नेपाली भक्तजनहरू पूजा–आराधना गर्न आउने भए पनि सोमबार, शिवरात्रि र श्रावण महिनामा विशेष पूजा–आजा र भीडभाड हुन्छ । यसको ऐतिहासिकता र कलात्मक स्वरूपले पनि भक्तजनलाई आकर्षित गरिरहेको छ ।
कपिलवस्तु जिल्लाकै धार्मिक स्थल बाणगंगा नगरपालिका–२, पिपरामा अवस्थित प्रकटेश्वर महादेव मन्दिरमा श्रावण सोमबार विशेष पूजा–अर्चनाका लागि श्रद्धालुहरूको बाक्लो उपस्थिति हुने गरेको छ ।
कपिलवस्तुका शिवगढी, सोनवागढ, हथौसा मन्दिरका साथै सुरही नाकामा नवनिर्मित शिवधाम पनि श्रावणी पूजाको रोजाइमा परेका छन् । साथै बाणगंगा नदी, विशेष गरी लक्ष्मणघाट, श्रावणी स्नानका लागि भक्तजनहरू पुग्ने स्थान हो । त्यहाँबाट घडामा जल भरेर देशका अन्य स्थानमा रहेका शिवालयहरूमा जलार्पणका लागि लैजाने प्रचलन छ ।
श्रावण महिनाभर कालीगण्डकी नदीमा स्नान गरेर रिडीका शिवालयहरूमा पूजा गर्न भक्तजनहरू पुग्ने गर्दछन् । तम्घास नजिकैको रेसुङ्गा पनि श्रावण महिनामा शिवको पूजा–आराधनाका लागि रोजाइमा पर्दछ । वामीटक्सार बजारमा रहेको शिवालय पनि गुल्मीको प्रसिद्ध शिवालयका रूपमा रहेको छ ।
अर्घाखाँची जिल्लाको पाणिनि सेरोफेरो शिवको नृत्य गर्ने स्थान रहेको किंवदन्ती छ । बल्कोटको परशुरामेश्वर शिवालय र पाणिनिको दुप्तेश्वर गुफामा शिवभक्तहरू पुग्ने गर्दछन् । प्रसिद्ध पाणिनि तपोभूमिमा श्रावण महिनाभर श्रावणी मेला लाग्ने र विशेष पूजा–आजा हुने गर्दछ ।
बुटवलदेखि नजिक रहेको पाल्पा जिल्लामा पर्ने सिद्धबाबा मन्दिर यो क्षेत्रकै प्रसिद्ध शिवधाम हो । सधैं भक्तजनको घुइँचो हुने यो मन्दिरमा शिवरात्रि, सोमबार र श्रावण महिनामा विशेष पूजा–आजा गर्न ठूलो संख्यामा भक्तजनहरू जाने गरेका छन् ।

प्रभासमा रहेको मणिमुकुन्देश्वर मन्दिर र रिडीमा रहेको सत्येश्वर महादेव मन्दिर यहाँका प्रमुख शिवालय हुन् । राम्दीमा रहेको कालीगण्डकी नदी श्रावणी स्नानका लागि भक्तजनहरूको रोजाइमा पर्दछ । त्यहाँबाट जल लिएर अन्य स्थानमा रहेका मन्दिरमा जलार्पण गर्ने गरिन्छ ।
दाङ जिल्लाको घोराहीमा रहेको धारापानी पाण्डवेश्वर मन्दिर, चौघेराको रत्ननाथ मन्दिर र लमही नगरपालिकामा पर्ने रिहार दाङका श्रावणी जलार्पणका रोजाइका स्थल बनिरहेका छन् । नेपालगञ्जको बागेश्वरी मन्दिर र जुँगे महादेव मन्दिर तथा नरैनापुर गाउँपालिका–५, वेदिहवा चुरे पहाडमा रहेको सन्तानेश्वर महादेव मन्दिर यस जिल्लाका प्रख्यात शिवधाम हुन् । सिधनिया घाट र राप्ती नदीका अन्य स्थानमा स्नान गरी बाँकेका शिवालयहरूमा जलार्पण गर्ने कार्य श्रावण महिनाभरि चल्दछ ।
केदारेश्वर धाम बर्दियाको बाँसगढी नगरपालिकास्थित बाँसगढी बजार नजिक रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र हो । पूर्व–पश्चिम राजमार्ग किनारमै रहेको यस धाममा विश्वप्रसिद्ध एक सय आठ फिट अग्लो ज्योतिर्लिङ्ग, एक सय आठ वटा धारा तथा एक सय आठ कैलाशमार्ग रहेका छन् । बढैयाताल वडा नं. ७ बकोटियामा रहेको प्राचीन शिव मन्दिर, बारबर्दिया नगरपालिका–५ मा रहेको सदाशिव मन्दिर, गुलरिया–११ भैसाही गाउँमा रहेको कारेश्वरनाथ शिव मन्दिर, राजापुर नगरपालिका–१० गिद्धरपुरमा रहेको भीमेश्वर पशुपतिनाथ मन्दिर तथा गुलरिया नगरपालिका–१ मा रहेको शिव पञ्चेश्वर महादेव मन्दिर यस जिल्लाका प्रमुख शिवालय हुन् । यी शिवालयहरूमा विशेष गरी स्थानीय थारू समुदायले भव्य रूपमा शिवको पूजा गर्ने गर्दछन् ।
प्युठान जिल्लाको स्वर्गद्वारी मन्दिरमा श्रावणी जलार्पणका लागि नेपाल र भारतबाट ठूलो संख्यामा भक्तजन पुग्ने गरेका छन् । खलङ्गा बजारमा रहेको शिव मन्दिर, गौमुखी गाउँपालिकामा रहेको गौमुखी मन्दिर, रोल्पाको जलजला र बोजु–बज्यै क्षेत्र तथा रुकुमको कमलदह क्षेत्रमा ती जिल्लाका शिवभक्तहरू पुग्ने गरेका छन् ।
श्रावण महिनामा गरिने बोलबम यात्रा र शिव मन्दिरहरूमा गरिने जलार्पण प्रकृति र संस्कृतिलाई बुझ्ने तथा त्यसको संरक्षण गर्ने राम्रो अवसर भएको पूर्वीय दर्शनका अध्येता प्रा. डा. बाबुराम ज्ञवाली बताउँछन् । उनी भन्छन्, “जलाशयदेखि शिवालयसम्मको पदयात्राले नदीको महत्व र अवस्था बुझ्न तथा स्थानीय प्रकृति र संस्कृतिसँग परिचित हुन सहयोग पुग्छ । एक महिनाभर चल्ने शिव उपासनाले समाजमा आध्यात्मिकता वृद्धि गर्न मद्दत पुग्छ भने महिनाभर शिवालयहरूमा भक्तजन पुग्दा स्थानीय व्यापार–व्यवसाय पनि बढ्छ ।”
