© 2026
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश फासीवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टीको वेबसाइट तथा एपको नयाँ संस्करण सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारका गतिविधि फासीवादतर्फ उन्मुख भएको बताएका हुन् ।
‘नहुने कुरा भएको छ । हुन नहुने कुरा पनि सहनुपरेको छ । फासिजम भनेको यही हो । नाजिजम भनेको यही हो,’ ओलीले भने, ‘राष्ट्रिय स्वयंसेवा दल बनेकै थियो । अब त्यसलाई ठूलो सरकारी खर्चमा राजनीतिक उद्देश्य पूरा गर्न प्रयोग गर्न खोजिएको छ ।’
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारका गतिविधि तानाशाही शैलीतर्फ उन्मुख भएको आरोप लगाउँदै उनले सञ्चारमाध्यमका कार्यालयको गेटमा सरकारी पक्षले नै गाडी तेर्स्याएर जनताको अपमान गरेको दाबी गरे ।
विरोध प्रदर्शनमा उत्रिनेहरूलाई सिभिल पोसाकमा प्रशिक्षित व्यक्तिहरू पठाएर आक्रमण गराउने प्रयास भइरहेको पनि उनले आरोप लगाए । गाडी तेर्स्याउने, मानिसलाई धम्क्याउने र त्रास सिर्जना गर्ने काममा सरकार लागेको भन्दै उनले देश निसासिएको र ऐंठनको अवस्थामा पुगेको टिप्पणी गरे ।
समाज भाँड्ने, बिथोल्ने तथा कानुनविपरीतका गतिविधिको नेतृत्व सरकारले नै गरिरहेको आरोप लगाउँदै ओलीले संसद् पनि सरकारबाट दमित भएको बताए ।
राज्यका सबै अङ्ग कार्यकारिणीको नियन्त्रणमा पुगेको दाबी गर्दै उनले त्यस अवस्थालाई राजनीतिक दलहरूले अन्त्य गर्न आवश्यक रहेको बताए । साथै, राजनीतिक दलहरूमा दूरदृष्टि ९भिजन० हराउँदै गएको टिप्पणी पनि गरे ।