© 2026
नेपालगन्ज । एक समय गाउँघरका आँगनमा परिवारका सदस्यझैँ हुर्काइने गाई आज बुढ्यौली लागेपछि सडक र चोकमा अलपत्र छाडिने क्रम बढ्दो छ ।
दूध दिँदासम्म माया गर्ने, गोरुले खेतबारी जोत्दासम्म स्याहार गर्ने तर उमेर ढल्किएपछि बेवारिसे छाडिदिने प्रवृत्तिले बाँकेका स्थानीय तहहरूलाई नयाँ सङ्कटमा पारेको छ ।
छाडा पशु चौपायाले किसानका बालीनालीमा क्षति पु¥याउने, सडक दुर्घटना निम्त्याउने र सार्वजनिक जीवन नै प्रभावित पार्न थालेपछि जिल्लाका केही पालिकाले गौशाला सञ्चालन गरेर गाई व्यवस्थापनको प्रयास गरिरहेका छन् । तर सडकबाट उद्धार गरिएका गाईहरूको सङ्ख्या निरन्तर बढ्दै जाँदा अहिले गौशालाहरू आफैँ क्षमताभन्दा बढी भार बोक्न बाध्य भएका छन् ।
बाँकेको राप्ती सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा सञ्चालित आठ वटा गौशालामा हाल दुई हजार ६ सय ५१ भन्दा बढी गाई संरक्षणमा राखिएका छन् । तीमध्ये सबैभन्दा ठूलो गौशाला राप्ती सोनारी गाउँपालिका–२ स्थित मंगल राधिका षडानन्द धाम गौशाला हो, जहाँ मात्रै करिब ११ सय गाई राखिएका छन् ।
गौशालाका गाई सेवक तथा महन्त प्रितम दासका अनुसार ती सबै गाई सडकबाट उद्धार गरिएका छाडा पशु हुन् । राप्ती सोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाले सङ्कलन गरेका गाई यही गौशालामा ल्याइने गरिएको छ ।
सम्भवतः नेपालकै सबैभन्दा ठूलो गौशाला यही हुन सक्ने उनको दाबी छ । तर गाईको सङ्ख्या बढ्दै जाँदा समस्या पनि थपिँदै गएको छ । गाईका लागि आवश्यक आहारा, उपचार, स्याहार र जनशक्ति व्यवस्थापन दिनानुदिन चुनौतीपूर्ण बन्दै गएको महन्त दास बताउँछन् ।
“स्थानीय सरकारले वार्षिक दुई–चार लाख रुपैयाँ सहयोग गरे पनि उहाँहरूलाई त्यो धेरै जस्तो लाग्ला, तर गौशाला व्यवस्थापनका लागि त्यो बजेट उँटको मुखमा जिरा जस्तै भएको छ,” दास भन्छन् । उनका अनुसार गाईको आहारा र कर्मचारीको पारिश्रमिकमा मात्रै दैनिक एक लाख रुपियाँभन्दा बढी खर्च हुने गरेको छ । बाँकी खर्च षडानन्द गुरुको दान तथा सहयोगबाट जेनतेन धानिँदै आएको छ ।
एक हजार गाई राख्ने क्षमताको गौशालामा अहिले करिब ११ सय गाई कोचिएर बसेका छन् । त्यसैले गाईका लागि टहरा र जनशक्ति थप्न नसकिए व्यवस्थापन झन् जटिल बन्ने देखिएको छ । हाल गौशालामा ४० जना कर्मचारी कार्यरत छन् ।
तीमध्ये १५ जना नियमित र २५ जना दैनिक ज्यालादारीमा खटिएका छन् । करिब १७४ हेक्टर क्षेत्रफलमा फैलिएको गौशालामा पर्याप्त खुला जमिन भए पनि गाई राख्ने संरचना र थप जनशक्तिको आवश्यकता रहेको दास बताउँछन् । “यहाँ ठाउँ अझै प्रशस्त छ, तर गाई राख्ने टहरा र थप जनशक्तिको आवश्यकता छ,” उनले भने ।
गौशाला परिसरभित्र करिब १० बिघा क्षेत्रफलमा घाँस खेती गरिएको छ । सुत्केरी तथा बिरामी गाईलाई हरियो घाँस र अन्य गाईलाई पराल, भुस, पिना तथा दाना मिसाएर खुवाइने गरिन्छ । तर आहाराको जोहो पनि कम चुनौतीपूर्ण छैन । “गाउँ–गाउँमा पराल खोज्न जाँदा सहजै भेटिँदैन ।
किन्न पनि पैसा चाहिन्छ। गाईको मल दिन्छौं, पराल दिनुस् भन्दा पनि पाइँदैन,” दासको गुनासो छ । गौशालालाई दैनिक पाँच ट्रली पराल आवश्यक पर्छ । तर ढुवानीका लागि तीन वटा मात्रै ट्याक्टर हुँदा समस्या हुने गरेको उनी बताउँछन् ।
गौशालामा कार्यरत कर्मचारीहरूको समर्पण भने उदाहरणीय छ । उनीहरूले गाई र बाच्छाबाच्छीलाई आफ्नै सन्तानसरह स्याहार गर्ने गरेका छन् । गौशालामा सेवा गर्दै आएकी गौरी आचार्य भन्छिन्, “सडकमा भेटिने सबै गाई स्वस्थ हुँदैनन् । कतिपय पेटमा बच्चा बोकेका हुन्छन्, कतिपय घाइते अवस्थामा ल्याइएका हुन्छन् । बच्चा जन्माएर आमा मरेपछि ती टुहुरा बाच्छाबाच्छीलाई अरू गाईको दूध खुवाएर हुर्काउने गरेका छौं ।”
टुहुरा बाच्छाबाच्छीलाई बोतलको निप्पलबाट दूध खुवाउने अनुभव सुनाउँदै उनी भावुक बन्छिन् । “करिब चार महिनासम्म आफ्नै हातले दूध खुवाउँछु, उनीहरू आमा जस्तै गरेर मलाई पछ्याउँछन् । त्यसबेला मलाई पनि आफ्नै सन्तानजस्तै माया लागेर आउँछ,” उनले भनिन् ।
केही वर्षअघिसम्म बाँकेका सडक र गल्लीहरूमा छ्याप्छ्याप्ती छाडा गाई देखिन्थे । गौशालामा व्यवस्थापन गरिएपछि सङ्ख्या केही घटे पनि समस्या पूर्ण रूपमा समाधान भएको छैन । नेपालगन्ज उपमहानगरपालिकाले सडकमा भेटिने गाईलाई नियन्त्रणमा लिएर काँजीहाउसमा राख्ने गरेको छ । सङ्ख्या बढेपछि ती गाईलाई राप्ती सोनारीस्थित मंगल राधिका षदानन्द धाम गौशालामा पठाइन्छ ।

तीन वर्षअघि गौशालालाई ३५ लाख रुपैयाँ सहयोग गरेको उपमहानगरपालिकाले केही दिनअघि मात्रै थप ३ सय गाई त्यहाँ पठाइसकेको छ । हाल नेपालगञ्जको काँजीहाउसमा १५ वटा गाई रहेको नगर प्रहरी प्रमुख सूर्य बोगटी बताउँछन् ।
उनका अनुसार खुला सीमाका कारण नयाँ गाई थपिने क्रम रोकिएको छैन । “गौशालाबाट अब नल्याउनु भनेर जवाफ आइसकेको छ । अब जम्मा हुने छाडा गाई कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको छ,” बोगटीले भने ।
राप्ती सोनारीमा मंगल राधिका षदानन्द धाम बाहेक वडा नं. ९ मा वैंकटुश्वर गौशाला, वडा नं. ४ मा राधाकृष्ण गौशाला र वडा नं. ७ मा पोखरा माता गौशाला सञ्चालनमा छन् । ती गौशालामा ७० देखि २०० सम्म गाई राखिएका छन् ।
राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुका अनुसार गाउँपालिकाले आवश्यकता अनुसार कर्मचारी पारिश्रमिक तथा टहरा निर्माणमा सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०८१/८२ मा १२ लाख र २०८२/८३ मा ८ लाख रुपियाँ गौशाला व्यवस्थापनमा खर्च गरिएको छ । “आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममै गौशाला व्यवस्थापनलाई प्राथमिकतामा राखेका छौं,” उपाध्यक्ष थारुले बताइन् । आर्थिक सहयोगसँगै गाउँपालिकाको कृषि शाखामार्फत वर्षे तथा हिउँदे घाँसका बीउ पनि निःशुल्क वितरण गरिँदै आएको छ ।
नरैनापुर गाउँपालिकामा पनि छाडा गाई व्यवस्थापन चुनौतीकै विषय बनेको छ । वडा नं. ३ स्थित गौशालामा हाल ८ सय गाई छन् भने वडा नं. ५ को गौशालामा १५० भन्दा बढी गाई राखिएका छन् ।
नरैनापुर–६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यका अनुसार केही वर्षअघि भारतबाट खेत जोत्नका लागि ल्याइने गोरुसँगै अन्य गाई पनि भित्रिने भएकाले समस्या झन् बढेको थियो । पर्याप्त बजेट नहुँदा स्थानीय बासिन्दाले घर–घरबाट अन्न सङ्कलन गरेर गौशालामा सहयोग गर्ने गरेका थिए । “स्थानीयको सक्रियतामा भारतीय गोरु ल्याउन रोक लगाएपछि गाउँघरमा छाडा गाईको सङ्ख्या केही घटेको छ,” उनले भने ।
यता डुडुवा गाउँपालिका–५ कम्दीस्थित गौशालामा पनि एक सय गाई छन् । संरचना निर्माण भए पनि व्यवस्थापन कमजोर हुँदा कतिपय गाई मरेका र कतिपय भागेर गएका कारण अहिले तारबारको काम भइरहेको बताइएको छ ।
गौशाला सञ्चालकहरूका अनुसार शहरी क्षेत्रमा भेटिने अधिकांश गाईले प्लास्टिक खाएका हुन्छन् । एक पटक प्लास्टिक खाइसकेपछि लामो समयसम्म बाँच्न कठिन हुने उनीहरू बताउँछन् । महन्त प्रितम दासका अनुसार गाई संरक्षणको कुरा गर्ने हो भने स्थानीय सरकारले प्लास्टिकजन्य फोहोर व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्नुपर्छ । “गाई संरक्षण र जनधनको क्षति रोक्न गौशालाको महत्त्वपूर्ण भूमिका छ । गौशाला व्यवस्थापनका लागि सबैले हातेमालो गरौँ,” उनले आग्रह गरे ।
बाँकेमा छाडा गाईको सङ्ख्या घटाउन गौशालाले महत्त्वपूर्ण योगदान पु¥याइरहेका छन् । तर बढ्दो सङ्ख्या, सीमित स्रोतसाधन र व्यवस्थापनको चुनौतीले यो केवल गौशालाको मात्र नभई, समुदाय, स्थानीय सरकार र समाजका सबै पक्षको साझा जिम्मेवारी महत्त्वपूर्ण देखिन्छ ।