© 2026
काठमाडौँ । नेकपा नेता तथा सांसद वर्षमान पुनले सार्वजनिक चासोका विषयमा बोल्दासमेत घरमा गाडी तेर्स्याउन आउने हो कि भन्ने डरको अवस्था सिर्जना भएको भन्दै सरकारप्रति व्यङ्ग्य गरेका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको लेखा समितिको सोमबार बसेको बैठकमा राहदानी (पासपोर्ट) ठेक्का विवादबारे धारणा राख्दै उनले लोकतान्त्रिक संस्थालाई सुदृढ बनाउन जनप्रतिनिधिले सार्वजनिक सरोकारका विषयमा निर्भीक रूपमा बोल्न पाउनुपर्ने बताए ।
‘जनताले उठाएका विषयमा बोल्नै पर्छ । त्यस क्रममा संविधानको मर्म, मर्यादा र आ आफ्नो कार्यक्षेत्रको पनि सम्मान गर्नुपर्छ । त्यसो नगरे लोकतान्त्रिक संस्था बलियो हुन सक्दैनन्,’ उनले भने ।
सार्वजनिक सरोकारका विषयमा बोलेकै कारण ‘घरमा गाडी तेर्स्याउन आउने हो कि’ भन्ने डर लाग्ने अवस्था बनेको भन्दै उनले व्यङ्ग्य गरे । यस्तो प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यास क्रमशः सीमित हुँदै गएको उनको भनाइ थियो ।
‘यो विषय आज कसलाई पर्यो भन्नेभन्दा पनि यस्तो प्रवृत्ति मौलाउँदै जानु सबैभन्दा चिन्ताजनक कुरा हो,’ उनले भने ।
लोकतन्त्रमा स्वतन्त्र रूपमा बोल्ने र अभिव्यक्ति दिने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिँदै पुनले शक्ति सधैँ एउटै पक्षसँग नहुने भएकाले लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण सबैका लागि आवश्यक रहेको बताए ।