Butwal Today

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

२९ असार २०८३, सोमबार
अ+
अ-

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार नियुक्त भएका घिमिरेले सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्ति पत्र ग्रहण गरेका हुन् । उनले आजै पद तथा गोपनीयताको शपथसमेत लिएका छन् ।

नियुक्ति पत्र प्रदान गर्दै सञ्चार मन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आएका अध्यक्ष घिमिरेप्रति उच्च अपेक्षा रहेको बताए । सिफारिस समितिले अन्य उम्मेदवारभन्दा न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी ढङ्गले जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वासका आधारमा उनलाई छनोट गरेको उल्लेख गर्दै उनले नियामक निकायले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए ।

मन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रका विद्यमान समस्या समाधानमा विशेष ध्यान दिन, कानुनी जिम्मेवारीअनुसार निष्पक्ष रूपमा काम गर्न तथा नागरिकको हित र सेवाको गुणस्तरलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न निर्देशन दिए । उनले अधिकारको दुरुपयोग नगरी अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्य योजना बनाएर अघि बढ्न पनि सुझाव दिए ।

नवनियुक्त अध्यक्ष घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान कमी–कमजोरी हटाउँदै समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कानुन, नियम र नीतिको परिधिभित्र रहेर दूरसञ्चार क्षेत्रको विकास, सेवा विस्तार र सुशासनका लागि काम गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?