© 2026
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारद्वारा घरबारविहीन बनाइएका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आमसञ्चार माध्यममा सार्वजनिक भएका सुकुमबासीका पीडा अत्यन्त हृदयविदारक र संवेदनशील रहेको उल्लेख गरेका छन् ।
महासचिव पोखरेलले एकातिर नागरिकलाई उठिबास लगाउने र अर्कोतिर सरकारले आफैँ स्थापना गरेका होल्डिङ सेन्टरसमेत व्यवस्थापन गर्न नसकेर खाली गर्न लगाउनुले अमानवीयताको सीमा नाघेको बताएका छन् । त्यहाँ आश्रय लिएका नागरिकलाई गाँस र पानीसमेत बन्द गरिएको तथा सुरक्षित भनिएका होल्डिङ सेल्टरहरू नै डुबानमा परेको समाचार सार्वजनिक भइरहेको भन्दै उनले सरकारको आलोचना गरेका छन् ।
असुरक्षित र अनधिकृत क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूलाई हटाउनुअघि उनीहरूको उचित व्यवस्थापन र पुनर्स्थापना गर्नु राज्यको पहिलो दायित्व भएको उनले स्मरण गराएका छन् । बस्ती खाली गराउने क्रममा प्रधानमन्त्रीबाट आकर्षक प्रतिबद्धता सार्वजनिक भए पनि व्यवहारमा त्यस्तो केही नदेखिएको उनको भनाइ छ ।
सुकुम्वासी बस्ती खाली गर्नुलाई नै बहादुरी ठानिएका कारण अहिले विस्थापितहरूको अवस्था निकै जटिल बन्दै गएको उनले बताएका छन् ।
सरकारले समयमै आफ्ना कमजोरी र त्रुटिहरू सच्याउँदै विस्थापितहरूको न्यायोचित व्यवस्थापनमा अविलम्ब ध्यान दिनुपर्ने माग पोखरेलले गरेका छन् । नागरिकलाई त्रासमा राखेर र सास्ती दिएर होइन, उनीहरूको सुरक्षित आवास र बाँच्न पाउने हकको सम्मान गरेर मात्र कानुनी राज्यको मर्यादा कायम राख्न सकिने उनको तर्क छ ।
नेपाली समाजले गणेश नेपालीको जस्तै फेरि अर्को कुनै अप्रिय घटना सुन्न नपरोस् भन्दै उनले त्यसतर्फ सरकारको समयमै ध्यान जानुपर्नेमा जोड दिएका छन् ।