Butwal Today

नवलपरासीमा पहिलो पङ्गास ह्याचरी

२६ असार २०८३, शुक्रबार
अ+
अ-

नवलपरासी । नेपालमा पहिलो पटक व्यावसायिक रूपमा पंगास (बैखी) माछाका भुरा उत्पादन गर्ने ह्याचरी निर्माण अन्तिम चरणमा पुगेको छ ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका–२ सेमरीस्थित ए.के. एक्वा रिसर्च ह्याचरी प्रालि ले करिब २५ लाख रुपैयाँ लगानीमा यस्तो ह्याचरी निर्माण गरिरहेको हो । ह्याचरी सञ्चालनमा आएपछि नेपालका माछा पालक किसानले भारतबाट भुरा आयात गर्नुपर्ने बाध्यता उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ ।

हालसम्म नेपालका अधिकांश किसानले पंगास माछाका भुरा भारतलगायत अन्य मुलुकबाट आयात गरेर पालन गर्दै आएका छन् । मागअनुसार समयमा भुरा नपाउने, गुणस्तरमा एकरूपता नहुने, ढुवानीमा समस्या हुने तथा लागत बढ्ने जस्ता चुनौती किसानले लामो समयदेखि भोग्दै आएका छन् । ती समस्यालाई समाधान गर्ने उद्देश्यले नेपालमै पहिलो पटक पंगास माछाका भुरा उत्पादन गर्ने ह्याचरी स्थापना गरिएको कम्पनीका सञ्चालक भवानीशंकर यादवले बताए ।

विगत डेढ दशकदेखि कार्प जातिका माछा पालन गर्दै आएका यादव पछिल्ला तीन वर्षदेखि पंगास माछाको व्यावसायिक उत्पादनमा सक्रिय छन् । उनका अनुसार तीन वर्षको अनुभवले पंगास माछामा उच्च व्यावसायिक सम्भावना रहेको पुष्टि गरेपछि भुरा उत्पादनमै लगानी गर्ने निर्णय गरिएको हो ।

“हरेक वर्ष भारतबाट भुरा ल्याउँदा ढुवानीदेखि गुणस्तरसम्म धेरै समस्या भोग्नुप¥यो । कहिले खोजेको समयमा भुरा पाइँदैन, कहिले अपेक्षित गुणस्तर हुँदैन । त्यसैले आफ्नै देशमा उत्पादन सुरु गर्ने निर्णय गरेका हौँ,” यादवले भने ।

तीन महिनादेखि निर्माण भइरहेको ह्याचरी केही दिनभित्र सञ्चालनमा आउने तयारीमा रहेको उनले जानकारी दिए । सञ्चालनमा आएपछि एक पटकमा करिब ६० लाखसम्म पंगासका भुरा उत्पादन गर्न सकिने क्षमता रहनेछ । ह्याचरीका लागि आवश्यक उन्नत जातका अभिभावक (ब्रुड) माछाको व्यवस्थापनसमेत भइसकेको उनले बताए ।

गत वर्ष मात्रै आफ्नो फार्मका लागि भारतको कोलकाताबाट करिब एक लाख ५० हजार भुरा आयात गरिएको स्मरण गर्दै यादवले नेपालमा प्रत्येक सिजन तीनदेखि पाँच करोडसम्म पंगासका भुराको माग हुने अनुमान रहेको बताए । “त्यही मागलाई मध्यनजर गर्दै उत्पादन सुरु गर्न लागिएको हो । अब आफ्नै फर्मका लागि मात्र होइन, देशभरका किसानलाई पनि गुणस्तरीय भुरा उपलब्ध गराउने लक्ष्य राखेका छौँ,” उनले भने ।

उनका अनुसार नेपालमै उत्पादन हुने भएकाले भारतबाट आयात गरिने भुराभन्दा सस्तो मूल्यमा किसानलाई उपलब्ध गराउन सकिनेछ । उत्पादन भएका भुरा देशभर सुरक्षित रूपमा ढुवानी गर्न आवश्यक प्रविधि र व्यवस्थापनको तयारीसमेत भइरहेको छ ।

ह्याचरी सञ्चालनका लागि अत्याधुनिक प्रविधिसँगै दक्ष जनशक्तिको पनि व्यवस्था गरिएको छ । यसका लागि थाइल्यान्ड र भारतको पश्चिम बंगालबाट अनुभवी मत्स्य प्राविधिक ल्याइएको यादवले जानकारी दिए । उनका कान्छा छोरा पनि मत्स्य विज्ञान अध्ययन गरी फर्मको व्यवस्थापनमा संलग्न छन् ।

“प्रविधि मात्रै भएर हुँदैन, त्यसलाई सञ्चालन गर्ने दक्ष प्राविधिक पनि आवश्यक पर्छ । त्यसैले जहाँबाट प्रविधि ल्याएका छौँ, त्यहीँबाट अनुभवी प्राविधिक पनि ल्याएका छौँ,” उनले भने ।

यादवका अनुसार करोडौँ रुपैयाँ लगानी गरेर पोखरी निर्माण गरेपछि पनि भुराका लागि विदेशी बजारमा निर्भर रहनुपर्दा किसानले ठुलो आर्थिक जोखिम बेहोर्नुपरेको छ । नेपालमै गुणस्तरीय भुरा उत्पादन हुन थालेपछि किसानको उत्पादन लागत घट्ने र माछा पालन व्यवसाय थप प्रतिस्पर्धी बन्ने उनको विश्वास छ ।

भुरा उत्पादनसँगै भविष्यमा माछाका लागि आवश्यक दाना उत्पादन गर्ने योजना पनि कम्पनीको रहेको छ । तर तत्कालका लागि गुणस्तरीय भुरा उत्पादनलाई प्राथमिकता दिइएको यादवले बताए । दानाका लागि भने गुणस्तरीय उत्पादन गर्ने सर्तमा स्वदेशी दाना उद्योगसँग सहकार्य गर्ने तयारी गरिएको छ ।

नेपालमा पंगास माछाको माग निरन्तर बढिरहेको भए पनि स्वदेशी उत्पादनले बजार धान्न सकेको छैन । यही कारण भारतको आन्ध्र प्रदेशलगायत क्षेत्रबाट ठुलो परिमाणमा पंगास माछा नेपाल आयात हुँदै आएको छ । नेपाल मत्स्य विकास संघका केन्द्रीय कोषाध्यक्षसमेत रहेका यादवका अनुसार अहिले पनि नेपाल माछामा आत्मनिर्भर हुन सकेको छैन

उनका अनुसार विराटनगर नाकाबाट दैनिक करिब १५ मेट्रिक टन, वीरगञ्जबाट १० मेट्रिक टन, बेलहिया (सोनौली) नाकाबाट करिब २० मेट्रिक टन तथा नेपालगन्जबाट करिब १० मेट्रिक टन माछा नेपाल भित्रिने अनुमान छ । अधिकांश आयातित माछा पंगास जातिकै हुने गरेको उनको दाबी छ ।

“दैनिक झन्डै ५५ मेट्रिक टन माछा विदेशबाट आयात भइरहेका बेला नेपाली किसानले त्यसको सानो हिस्सा मात्रै प्रतिस्थापन गर्न सके पनि ठुलो आर्थिक अवसर सिर्जना हुन्छ,” यादवले भने ।

उनले सरकारी नीति र संरक्षणको अभावका कारण नेपाली माछा पालक किसानले अपेक्षित लाभ लिन नसकेको गुनासो गरे । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नेभन्दा आयातमै निर्भर बनाउने नीति हावी हुँदा किसान निरुत्साहित हुने गरेको उनको भनाइ छ । “किसानले उत्साहका साथ व्यवसाय सुरु गर्छन्, तर आवश्यक प्राविधिक, वित्तीय र नीतिगत सहयोग नपाउँदा धेरैले व्यवसाय नै छोड्न बाध्य हुन्छन्,” उनले भने ।

पोखरी निर्माणको विषयमा पनि नेपालमा प्रचलित अभ्यास सुधार गर्नुपर्ने उनको सुझाव छ । अधिकांश प्राविधिकले छ फिटसम्म गहिरो पोखरी बनाउन सिफारिस गरे पनि आफूले ३० फिट गहिरो पोखरी निर्माण गरेर सफल उत्पादन गरिरहेको उनले बताए ।

“गहिरो पोखरीमा पानीको तापक्रम सन्तुलित रहन्छ । गर्मीमा धेरै नतात्ने र जाडोमा चाँडै नचिसिने भएकाले माछाको मृत्यु दर कम हुन्छ । पानीभित्र अक्सिजन प्रवाह गर्ने प्रविधि प्रयोग गरेपछि उत्पादन पनि उल्लेखनीय रूपमा बढाउन सकिन्छ,” उनले भने ।

नेपालमै पहिलो पटक निर्माण भइरहेको पंगास माछाका भुरा उत्पादन गर्ने यो ह्याचरी सञ्चालनमा आएपछि विदेशी आयातमा निर्भरता घट्नुका साथै स्वदेशी मत्स्य व्यवसायको लागत कम हुने, किसानलाई गुणस्तरीय भुरा सहज रूपमा उपलब्ध हुने र नेपाललाई माछा उत्पादनमा आत्मनिर्भर बनाउने अभियानमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?