© 2026
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ ।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् ।
विधेयकमाथिको छलफलमा राष्ट्रियसभा सदस्य वासुदेव घिमिरेले भाग लिँदै आफूहरूले प्रस्ताव गरेका संशोधन स्वीकार गरिएकोमा सरकारप्रति धन्यवाद व्यक्त गरे ।
अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको उक्त विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा आएको हो । राष्ट्रियसभाले विधायन व्यवस्थापन समितिको संशोधनसहितको प्रतिवेदन स्वीकार गर्दै विधेयक सर्वसम्मतिले पारित गरेको छ । अब उक्त विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता पठाइनेछ ।
बैठकका अध्यक्ष नारायणप्रसाद दाहालले समयको चापका बिच छोटो अवधिमै छलफल सम्पन्न गरी अध्यादेश प्रतिस्थापनसम्बन्धी चार तथा बजेटसँग सम्बन्धित दुई विधेयक पारित गर्न सफल भएकोमा सम्बन्धित मन्त्री, समितिका सदस्य तथा राष्ट्रियसभा सदस्यहरूलाई धन्यवाद दिए ।
राष्ट्रियसभाको अर्को बैठक असार २६ गते शुक्रबार दिउँसो १ः१५ बजे बस्नेछ ।