Butwal Today

नदीमा तैरिरहेको ३०८ किलो गाँजा बरामद

२५ असार २०८३, बिहीबार
अ+
अ-

सुनसरी । सुनसरी प्रहरीले सप्तकोसी नदीमा तैरिरहेको अवस्थामा करिब ३०८ किलो गाँजा बरामद गरेको छ। बिहीबार बिहान कोसी गाउँपालिका–७ स्थित केराबारी र भण्टाबारीबीचको सप्तकोसी नदीको बाँध नजिकबाट गाँजा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार नियमित गस्तीका क्रममा प्रहरी टोलीले नदीको किनारमा पानीमा तैरिरहेका कालो प्लास्टिकले बेरिएका आठ वटा शंकास्पद पोका फेला पारेको थियो।

उक्त पोका खोलेर जाँच गर्दा भित्र गाँजा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। बरामद गाँजाको तौल करिब ३०८ किलो रहेको छ। प्रहरीका अनुसार गाँजा सप्तकोसी नदीमार्फत भारततर्फ तस्करी गर्न खोजिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

यद्यपि, गाँजा कसले ल्याएको, कहाँबाट ल्याइएको र कसका लागि ओसारपसार गर्न खोजिएको भन्ने विषयमा अनुसन्धान जारी रहेको डीएसपी खड्काले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?