© 2026
बुटवल । शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको युनिगाईडले युवा क्रिकेटर तिलकराज भण्डारी र आदिल खानलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
शनिबार बुटवलमा आयोजित कार्यक्रममा युनिगाईडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेश दाहाल, प्रबन्ध निर्देशक ऋषि खनाल तथा क्रिकेटर तिलकराज भण्डारी र आदिल खानबीच एक वर्षका लागि ब्रान्ड एम्बेसडर सम्झौतामा हस्ताक्षर भएको हो । सोही अवसरमा युनिगाईडको बुटवल शाखाको पनि उद्घाटन गरिएको छ ।
कार्यक्रममा सिइओ दाहालले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली क्रिकेटको विकासमा योगदान पु¥याउने उद्देश्यले युवा खेलाडीसँग सहकार्य गरिएको बताए । विगत दुई वर्षदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको संस्थाले विद्यार्थीलाई उचित परामर्शका कारण भिसा अस्वीकृत हुने दर न्यून रहेको उनको दाबी थियो ।
उनका अनुसार युनिगाईडले पछिल्लो एक वर्षदेखि बेलायतसँगै क्यानडा, अमेरिका र अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।
प्रबन्ध निर्देशक ऋषि खनालले विद्यार्थीको रुचि, योग्यता र भविष्यको सम्भावनाअनुसार उपयुक्त विश्वविद्यालय तथा अध्ययन कार्यक्रम छनोटमा सहयोग गर्दै आएको बताए । विदेशमा उच्च शिक्षा हासिल गरेर स्वदेश फर्किएपछि देशको विकासमा योगदान गर्न सक्ने जनशक्ति तयार पार्ने लक्ष्यका साथ गुणस्तरीय परामर्श सेवा प्रदान गरिरहेको उनले उल्लेख गरे ।
कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी सञ्जय गुरुङले नेपाली क्रिकेटले पछिल्लो समय उल्लेखनीय प्रगति गरेको बताए । सुरुआती दिनमा रुचिका रूपमा खेलिने क्रिकेट अहिले व्यावसायिक खेलका रूपमा स्थापित हुँदै गएको उनको भनाइ थियो ।
उनले सन् २०१४ मा पारस खड्काको कप्तानीमा नेपालले आइसिसी वल्र्ड टि–२० खेलेपछि नेपाली क्रिकेटप्रति आम नागरिकको दृष्टिकोण परिवर्तन भएको उल्लेख गरे । निजी क्षेत्रको लगानी र सहकार्यका कारण क्रिकेट पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता तथा अम्पायरिङलगायत क्षेत्रमा उल्लेखनीय विकास भएको उनले बताए ।
कार्यक्रममा युनिगाईड बुटवलका काउन्सिलर सञ्जय खनाल, रोयल फुडकोर्टका केशव भुसाल तथा लुम्बिनी लायन्सका अपरेसन म्यानेजर लक्की आचार्यले खेलकुद क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण बन्दै गएको धारणा व्यक्त गरे ।