Butwal Today

बुटवलको शैक्षिक चमक: ‘ज्ञान निर्माणको असली थलो’ बन्दै ज्ञानपुञ्ज

१९ असार २०८३, शुक्रबार
अ+
अ-

बुटवल । लुम्बिनी प्रदेशको प्रमुख शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै गएको बुटवल पछिल्लो समय देशकै महत्त्वपूर्ण शैक्षिक गन्तव्यका रूपमा स्थापित छ ।

यहाँ रहेका निजी तथा सामुदायिक विद्यालयहरूको उत्कृष्ट नतिजा, नवीनतम शिक्षण पद्धति र अनुशासित शैक्षिक वातावरणले देशभरकै ध्यान आकर्षित गरिरहेका छन् । यिनै प्रतिष्ठित र नेतृत्वदायी शैक्षिक संस्थाहरूको भीडमा बुटवल उपमहानगरपालिका–११, नहरपुरमा अवस्थित एउटा नाम अग्रपङ्क्तिमा आउँछ– ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुल ।

गुणस्तरीय, व्यावहारिक र बहुआयामिक शिक्षाको सफल गन्तव्यका रूपमा आफूलाई चिनाउन सफल यो विद्यालय एक विशिष्ट पहिचान बनाएर शैक्षिक उन्नयनमा अनवरत लागिरहेको छ । पछिल्लो समय ज्ञानपुञ्ज बुटवलमा मात्र सीमित नभएर देशकै अब्बल शैक्षिक संस्थाहरूसँगको प्रतिस्पर्धामा खरो र सफल रूपमा उत्रिएको छ ।

यस विद्यालयको स्थापना कालको पृष्ठभूमि निकै सङ्घर्षपूर्ण र ऐतिहासिक छ । विक्रम संवत् २०५२ सालमा सनराइज इङ्ग्लिस बोर्डिङ स्कुलको नामबाट रुपन्देहीको फर्साटिकरमा यसको जग बसालिएको थियो ।

गुणस्तरीय शिक्षा प्रदान गर्ने पवित्र लक्ष्य बोकेर स्थापना भएको यो स्कुल समयको माग र व्यवस्थापकीय परिमार्जनसहित विक्रम संवत् २०६२ सालमा ज्ञानपुञ्जमा रूपान्तरण भयो र बुटवलमा आफ्नो सेवा विस्तार गर्‍यो। हाल करिब ९ कट्ठा क्षेत्रफलमा फैलिएको यस विद्यालयको आफ्नै सुविधा सम्पन्न, आधुनिक र सुरक्षित भौतिक पूर्वाधार अर्थात् भवन रहेको छ, जसले विद्यार्थीलाई शान्त वातावरणमा सिक्ने अवसर प्रदान गर्दछ ।

विक्रम संवत् २०६२ सालदेखि निवर्तमान प्राचार्य तोयाराम पौडेलको कुशल नेतृत्व र एकल व्यवस्थापकीय छत्रछायामा यो विद्यालयले आफ्नो बलियो जग खडा गर्‍यो । सोही बलियो जगमाथि टेकेर यसै शैक्षिक सत्रदेखि विद्यालयले नयाँ र ऊर्जावान् कप्तानी पाएको छ ।

देशका विभिन्न प्रतिष्ठित शैक्षिक संस्थाहरूमा नेतृत्व गरिसकेका अध्ययनशील, जुझारु, स्पष्ट दृष्टिकोण र निश्चित लक्ष्य भएका युवा नेतृत्व शङ्कर भण्डारीले अहिले विद्यालयको प्रधानाध्यापकका रूपमा कार्यभार सम्हालेका छन् । भण्डारीको आगमनसँगै विद्यालयमा परम्परागत शिक्षण शैलीलाई परिमार्जन गर्दै आधुनिक, प्रविधिमैत्री र व्यावहारिक ज्ञान सिकाउने नयाँ युगको सुरुवात भएको छ ।

ज्ञानपुञ्ज परीक्षाको नतिजामा मात्र होइन, सिकाइको गुणस्तरमा पनि सधैँ अगाडि छ । विक्रम संवत् २०६७ सालको तत्कालीन प्रवेशिका परीक्षामा विशिष्ट श्रेणीसहित शतप्रतिशत नतिजा निकाल्न सफल भएदेखि यता विद्यालयले हरेक वर्ष आधारभूत तह, माध्यमिक शिक्षा परीक्षा र प्रवेशिका परीक्षामा उल्लेखनीय र गर्विलो नतिजा दिँदै आएको छ । तर, विद्यालयले केवल घोकन्ते विद्या र परीक्षाको अङ्कलाई मात्र सफलता मान्दैन ।

शैक्षिक उन्नयनमा अब्बल यस संस्थाले पढाइसँगै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापहरूमा समेत जिल्ला र प्रदेश स्तरमै आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ ।

वर्तमान समयमा निजी विद्यालयहरूलाई व्यापारिक केन्द्र वा नाफा कमाउने थलोका रूपमा आलोचना गर्ने गरिन्छ । तर, ज्ञानपुञ्ज यो भाष्यभन्दा बिलकुल फरक छ । विशुद्ध नाफा मात्र हेर्ने र महँगो शुल्क असुलेर लुट धन्दा चलाउनेहरूको भिडमा ज्ञानपुञ्ज यो समुदायको एउटा साझा चौतारी बनेको छ । विद्यालयले सामाजिक उत्तरदायित्वलाई भुलेको छैन ।

विद्यार्थीहरूमा मानवीय भावनाको विकास गराउन देउसी भैलो खेलेर होस् वा आन्तरिक रूपमा आर्थिक सहयोग सङ्कलन गरेर, विद्यालयले मानव सेवा आश्रम तथा देशका विभिन्न क्षेत्रका आगलागी पीडितहरूलाई यथोचित सहयोग पुर्‍याउँदै आएको छ ।

यो विद्यालय आर्थिक रूपमा विपन्न तर पढ्ने तीव्र इच्छा भएका विद्यार्थीहरूका लागि सहारा बनेको छ । अन्य शैक्षिक संस्थाहरूको तुलनामा यहाँको शुल्क संरचना निकै व्यावहारिक र अनुकूल छ । विद्यार्थीको पारिवारिक र आर्थिक अवस्था पहिचान गरेर निःशुल्क वा अत्यन्त कम शुल्कमा समेत गुणस्तरीय शिक्षा प्रदान गर्दै धेरै मेधावी र क्षमतावान् विद्यार्थीहरूलाई उनीहरूको गन्तव्यसम्म पुर्‍याउन विद्यालयले अभिभावकीय भूमिका निर्वाह गरिरहेको छ ।

विद्यालयले विशुद्ध नाफा बाहेक अरू कुनै पनि प्रकारको दायित्व बोध नगर्ने अन्य विद्यालयभन्दा फरक पहिचान बनाएको छ । यहाँ युगसापेक्ष शैक्षणिक विधि, विश्वस्तरीय सीप र विश्वसनीय सम्बन्ध विस्तारमा जोड दिइन्छ । यहाँ पढ्ने–पढाउने र सिक्ने–सिकाउने कर्म बढी हुन्छ ।

विद्यालय प्रशासनले यसलाई धन्दा होइन, ज्ञान निर्माणको थलो बनाउन चाहेको स्पष्ट पारेको छ । ज्ञानपुञ्जमा किताबका कुरा मात्र हुँदैनन्, समाज र विश्वका कुरा हुन्छन्, तर कमिसन, तानातान र सस्तो प्रचारबाजी हुँदैन ।

नयाँ नेतृत्वको सोच अनुसार ज्ञानपुञ्जले आगामी दिनका लागि केही नवीन र रचनात्मक कार्य योजनाहरू अघि सारेको छ, जसले विद्यार्थीको नेतृत्व विकासमा ठुलो सघाउ पुर्‍याउनेछ । प्रधानाध्यापक शङ्कर भण्डारीका अनुसार विद्यालयले निकट भविष्यमै दुई लाख रुपैयाँ पुरस्कार राशि भएको जिल्ला स्तरीय अन्तर–विद्यालय फुटबल प्रतियोगिता आयोजना गर्दै छ ।

त्यसै गरी जिल्ला स्तरीय अन्तर–विद्यालय अङ्ग्रेजी भाषामा वक्तृत्वकला तथा वादविवाद प्रतियोगिता, विद्यार्थीहरूको कूटनीतिक क्षमता बढाउन नमुना संयुक्त राष्ट्र सङ्घ कार्यक्रम, सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, पढौँ र पढाऔँ अभियान अन्तर्गत विद्यालयभित्रै एउटा समृद्ध सार्वजनिक पुस्तकालयको स्थापना गर्ने लक्ष्य लिइएको छ ।

विद्यार्थीहरूको आफ्नै नेतृत्व र व्यवस्थापकीय भूमिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम, बालबालिकाहरूको सृजनशीलता प्रस्फुटन गराउन बृहत् बाल साहित्य सम्मेलन, पर्यावरण संरक्षणका लागि प्लास्टिकमुक्त विद्यालय र बालमैत्री वातावरणका लागि दण्डमुक्त विद्यालयको पूर्ण कार्यान्वयन गर्ने योजना अघि सारिएको छ ।

विद्यालयका प्रधानाध्यापक एवं शैक्षिक अभियन्ता शङ्कर भण्डारी विद्यालयको वर्तमान मूल मन्त्र र भावी मार्गचित्रबारे प्रष्ट पार्दै भन्छन्, “हाम्रो विद्यालयले केवल किताबी ज्ञान र घोकन्ते शिक्षामा मात्र जोड दिँदैन, बरु विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई केन्द्रमा राखेको छ ।

हामीले संवादात्मक शिक्षण पद्धति मार्फत विद्यार्थीहरूलाई संवाद, सहभागिता, खोज, अनुसन्धान र प्रयोगका माध्यमबाट सिक्ने जीवन्त वातावरण प्रदान गरेका छौँ ।” उनका अनुसार विद्यालयमा नियमित पाठ्यक्रमका अलावा अभिभावकत्व अभिमुखीकरण, आधुनिक डिजिटल कम्प्युटर कोर्स, सूचना तथा सञ्चार प्रविधि तालिम, वित्तीय साक्षरता कार्यक्रम, करियर परामर्श, निरन्तर विद्यार्थी मूल्याङ्कन तालिम तथा खुल्ला पुस्तकालय जस्ता विशिष्ट कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन् ।

शारीरिक र मानसिक सन्तुलनका लागि विद्यालयले फुटबल, क्रिकेट, कबड्डी, बुद्धिचाल लगायतका खेलकुद र विभिन्न सह–पाठ्यक्रम गतिविधिहरूलाई उत्तिकै प्राथमिकता दिएको छ । पाहुना कार्यक्रम मार्फत समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई विद्यालयमै आमन्त्रण गरी विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गराउने परिपाटी समेत ज्ञानपुञ्जले बसालेको छ ।

आगामी दिनहरूमा अझ बढी प्रविधिमैत्री सिकाइ, नेतृत्व विकास तथा सीपमूलक कार्यक्रमहरू थप विस्तार गर्दै ज्ञानपुञ्जलाई देशकै एक नमुना शैक्षिक प्रतिष्ठान बनाउने सङ्कल्प विद्यालय परिवारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?