Butwal Today

२३औँ धान दिवस तथा रोपाइँ महोत्सव सन्धिखर्कमा सम्पन्न

१५ असार २०८३, सोमबार
अ+
अ-

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उत्साहपूर्वक मनाइएको छ।

सन्धिखर्क नगरपालिका–६ को करेबांगफाँटमा आयोजित महोत्सवमा स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, कृषक तथा सर्वसाधारणको उल्लेखनीय सहभागितामा रोपाई गरिएको हो ।

परम्परागत नेपाली संस्कृति झल्किने पञ्चेबाजाको ताल, असारे भाका र रोपाइँ गीतसँगै खेतमा धान रोपेर धान दिवस मनाइएको थियो। हिलोमा रमाउँदै सहभागीहरूले सामूहिक रूपमा धान रोपेपछि कार्यक्रमले कृषि, संस्कृति र सामाजिक एकताको सन्देश दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले जानकारी दिए।

धान नेपालका अधिकांश नागरिकको मुख्य खाद्यान्न बाली हो। नेपालीहरूको दैनिक भोजन, कृषि अर्थतन्त्र, संस्कृति र जीवनशैलीसँग धानको गहिरो सम्बन्ध रहेको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । देशका लाखौँ किसानको आयआर्जनको प्रमुख आधार धान खेती भएकाले यसको उत्पादनले खाद्य सुरक्षा, रोजगारी र राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

नेपालमा हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव का रूपमा मनाइन्छ। यस दिन धान रोपेर, असारे गीत गाउँदै र कृषकको सम्मान गर्दै धान खेतीको महत्त्व उजागर गरिन्छ। धान दिवस मनाउनुको उद्देश्य धान उत्पादन वृद्धि, आधुनिक खेती प्रविधिको प्रयोग, कृषिप्रति युवाको आकर्षण बढाउनु तथा कृषकका समस्या र सम्भावनाबारे जनचेतना फैलाउनु हो।

धान खेतीले खाद्यान्नमा आत्मनिर्भर बन्न सहयोग गर्नुका साथै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँछ। तर जलवायु परिवर्तन, समयमा वर्षा नहुनु, सिँचाइको अभाव, मल–बिउको समस्या, कृषि मजदुरको कमी र खेतीयोग्य जमिन बाँझो रहने चुनौतीले धान उत्पादन प्रभावित भइरहेको छ।

यस वर्ष समयमै पर्याप्त वर्षा नहुँदा सिँचाइका लागि पानीको अभाव भएको र खेतमा काम गर्ने खेतालाको कमीले धान रोपाइँ प्रभावित बनेको कृषकहरूले बताएका छन्। स्थानीय कृषक खिमबहादुर थापाले धान दिवस  पर्याप्त वर्षा नहुँदा रोपाइँ गर्न कठिन भएको, सिँचाइको व्यवस्था कमजोर रहेको र खेतमा काम गर्ने जनशक्ति अभावले खेती गर्न झन् समस्या भएको गुनासो गरे।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले कृषि नेपालको अर्थतन्त्रको आधार भएकाले किसानका समस्या समाधान गर्न सबै तहका सरकार एकजुट हुनुपर्ने बताए।

सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले  नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

नगर उपप्रमुख मिश्रा आचार्यले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउन स्थानीय सरकारले किसानमुखी योजना अघि बढाइरहेको बताइन्।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले कृषि उत्पादन बढाउन सरकारी निकायबिच समन्वय आवश्यक रहेको बताए।

उनले प्राकृतिक विपद्, जलवायु परिवर्तन र अनियमित वर्षाका कारण कृषि क्षेत्रमा चुनौती थपिँदै गएको उल्लेख गर्दै उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोगमार्फत किसानलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीहरूले असारे संस्कृति संरक्षणसँगै कृषिप्रति नयाँ पुस्ताको आकर्षण बढाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताएको कृषि शाखा प्रमुख राम बहादुर थापाले बताए ।

पञ्चेबाजा, रोपाइँ गीत र सामूहिक धान रोपाइँले खेतहरूमा उत्साह थपेको थियो भने स्थानीय कला, संस्कृति र कृषि परम्पराको समेत प्रवर्द्धन हुने विश्वास छ । तर यस वर्ष पर्याप्त वर्षा नहुँदा अर्घाखाँचीका धेरै स्थानमा रोपाइँ प्रभावित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?