© 2026
काठमान्डौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उमेर मात्रै सबैथोक नभएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले युवा हुनु मात्र पनि सबै कुरा नभएको बताए । ‘हामीलाई हाम्रो अनुभवले सिकाएको छ– उमेर मात्रै सबै कुरा होइन रहेछ, युवामात्रै पनि सबै कुरा होइन रहेछ,’ अध्यक्ष लिङ्देनले भने ।
उनले ३५–३६ वर्ष पुग्दैमा सबै बालेन शाह नहुने जिकिर गरे । ‘३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्,’ उनले भने, ‘अहिले ९३–९४ वर्षका मानिसहरू पनि राष्ट्रपति छन् ।’
लिङ्देनले ८० वर्षीय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाशक्ति राष्ट्र अमेरिकाको नेतृत्व गरिरहेको उदाहरण पनि दिए । ८० वर्षका डोनाल्ड ट्रम्प महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति हुनुहुन्छ,’ उनले भने, ‘तर ८० वर्षका सबै डोनाल्ड ट्रम्प हुँदैनन् । त्यसैगरी ३६ वर्षका सबै बालेन शाह पनि हुँदैनन् । उमेर मात्रै सबै कुरा होइन ।’
राप्रपामा २५ वर्षदेखि ८५ वर्षसम्मका व्यक्तिहरू पार्टी कमिटीमा सक्रिय रहेको उल्लेख गर्दै उनले युवाको ऊर्जा र अग्रजको अनुभवको उत्कृष्ट संयोजन भएको पार्टी राप्रपा नै भएको दाबी गरे । २५–२६ वर्षका युवादेखि ८५–८६ वर्षसम्मका व्यक्तिहरू पार्टी कमिटीमा सक्रिय हुनुहुन्छ,’ उनले भने, ‘युवाको ऊर्जा र अग्रजको अनुभवको सबैभन्दा राम्रो संयोजन भएको पार्टी राप्रपा हो ।’
सबैलाई पार्टीमा समेटेर अघि बढाउने जिम्मेवारी नेतृत्वको भएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले आफूबाट त्यसमा कुनै कमी हुन नदिने बताए । सबैलाई मिलाएर लैजाने जिम्मेवारी र दायित्व नेतृत्वको हो । त्यसमा हामी कुनै पनि प्रकारको कमी हुन दिनेछैनौं,’ उनले भने ।
उनले हल्ला र आधारहीन कुराको भरमा निर्णय वा धारणा नबनाउन आग्रह गरे । हुँदै नभएका कुरा सुनेर–सुनाएर त्यसैको भरमा निर्णय गर्ने र धारणा बनाउने काम तत्काल बन्द गर्न म सबैलाई आग्रह गर्छु,’ उनले भने ।
आधारहीन आरोप र हल्लाले न पार्टीलाई फाइदा पुग्ने, न व्यक्तिलाई नै लाभ हुने उनको भनाइ थियो ।
‘त्यसले पार्टीलाई पनि कतै पुर्याउँदैन, व्यक्तिलाई पनि पुर्याउँदैन,’ उनले भने, ‘आवश्यकताअनुसार हामीले कहिले युवालाई महत्व दिएका छौं भने कहिले अग्रजहरूको निर्णयलाई केन्द्रमा राखेर अघि बढेका छौं ।’