© 2026
विराटनगर। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्रीअभिषेक गिरीको विराटनगरस्थित निवासमा प्रहरीले खानतलासी गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विराटनगर–८, मधुमारास्थित गिरीको घरमा शनिबार छापा मार्दै विस्तृत खोजतलास गरेको हो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार गिरीको घरमा शङ्कास्पद वस्तु रहेको विशेष सूचनाका आधारमा प्रहरी परिचालन गरिएको हो। यद्यपि, शङ्कास्पद वस्तु के हो वा कुन प्रकृतिको सूचनाका आधारमा छापा मारिएको हो भन्ने विषयमा प्रहरीले हालसम्म विस्तृत विवरण सार्वजनिक गरेको छैन।
खानतलासीका क्रममा प्रहरीले गिरीको घर अगाडि पार्किङ गरिएका सेतो र कालो रङका दुईवटा कार समेत जाँच गरेको छ। ती दुवै सवारीसाधन गिरीले प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ । हालसम्म खानतलासीबाट के–कस्ता सामग्री बरामद भए भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।