© 2026
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन कार्य तालिका पाँचौँ पटक संशोधन गरी सार्वजनिक गरिएको छ ।
संशोधित कार्य तालिकाअनुसार दोस्रो चरणमा हुने ६ पदाधिकारी पदको निर्वाचनका लागि बिहीबार राति ९ः१५ बजेदेखि १२ः१५ बजेसम्म मतदान हुने भएको छ । मतदानको नतिजा राति १ः३० बजे सार्वजनिक गर्ने तालिका तय गरिएको छ ।
त्यसअघि पदाधिकारी पदका लागि उम्मेदवारी फाराम वितरण बिहीबार साँझ ६ः३० बजेदेखि ७ बजेसम्म गरिनेछ । उम्मेदवारीउपर दाबी–विरोधको समय राति ८ बजे तोकिएको छ ।
पहिलो चरणको निर्वाचनको नतिजा सार्वजनिक गर्न ढिलाइ भएपछि निर्वाचन कार्य तालिका पुनः संशोधन गरिएको जनाइएको छ । १९ पदाधिकारीमध्ये सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।
रास्वपाका प्रवक्ता मनिष झाले बाँकी दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि दोस्रो चरणको निर्वाचन हुने जानकारी दिए । यद्यपि ती ६ पदमा सहमतिको प्रयास जारी रहेकाले निर्वाचन नै नहुने सम्भावना पनि रहेको बताइएको छ ।
रास्वपाको विधानअनुसार एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सह प्रवक्ता, एक कोषाध्यक्ष तथा दुई सह कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था छ ।
त्यस्तै, रास्वपाको १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरिएको छ । सात वटै प्रदेशका पदाधिकारी पदेन सदस्य रहनेछन् । केन्द्रीय समितिका ५१ सदस्य मनोनयन गर्ने अधिकार सभापतिलाई प्रदान गरिएको छ ।