© 2026
पाल्पा । तानसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
१९औँ नगरसभा तथा अधिवेशनमा नगरसभा अध्यक्ष एवं नगरप्रमुख सन्तोषलाल श्रेष्ठले ‘समृद्ध सांस्कृतिक नगर तानसेन’को परिकल्पनालाई साकार पार्न कृषि, पर्यटन, सम्पदा संरक्षण, स्थानीय आर्थिक विकास, सामाजिक समावेशीकरण तथा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको बताए ।
नगरप्रमुख श्रेष्ठले नीति तथा कार्यक्रममा तानसेनलाई मासु, दूध, अण्डा र तरकारीमा आत्मनिर्भर घोषणा गर्ने लक्ष्य राखिएको जानकारी दिए । दूध उत्पादक कृषकलाई प्रतिलिटर ३ रुपैयाँ अनुदान उपलब्ध गराइने, बाँझो जमिनलाई उत्पादनमूलक खेतीमा उपयोग गर्न प्रतिरोपनी ५ हजार रुपैयाँ अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।
साथै वडा नं. ७ मा शीतभण्डार सञ्चालनमा ल्याइने तथा वडा नं. ५ स्थित गोदामघरमा अदुवा बिउ भण्डारण गर्ने कृषकलाई प्रतिकेजी ५० रुपैयाँ अनुदान उपलब्ध गराइने व्यवस्था गरिएको छ । हेफर प्रोजेक्ट नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको ‘तानसेन आर्थिक विकास परियोजना’लाई थप प्रभावकारी बनाइने नगरप्रमुख श्रेष्ठले बताए ।
उनले तानसेनका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरू श्रीनगर, गुफाचौर, पाल्पा दरबार क्षेत्र, रानीमहल, ऋषिकेश रुरु क्षेत्र तथा रणउजिरेश्वरी भगवती मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन आवश्यक पहल तथा समन्वय गरिने बताए ।
पाल्पाका परम्परागत तथा ऐतिहासिक जात्राहरू—बाघजात्रा, भैरवजात्रा, गाईजात्रा, भीमसेनजात्रालगायतको संरक्षण गर्दै नगरको मौलिक संस्कृतिलाई जोगाउन पुराना तथा मौलिक शैलीमा निर्माण हुने घरहरूलाई विशेष प्रोत्साहन दिइने नीति लिइएको छ । साथै रुरु क्षेत्रमा अवस्थित प्रसिद्ध तीनमुखे पुलमा लाइटिङ तथा अन्य सौन्दर्यकरणका कार्यका लागि बजेट सुनिश्चित गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी गराए ।
युवाहरूलाई उद्यमशीलता तथा दिगो रोजगारीमा जोड्न इन्स्योर परियोजनासँगको सहकार्यमा कुक, प्लम्बिङ, इलेक्ट्रिसियन तथा कम्प्युटर हार्डवेयर/नेटवर्किङसम्बन्धी सीपमूलक तालिम प्रदान गरिनेछ । विद्यालयस्तरमा प्राविधिक शिक्षा तथा ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
स्वास्थ्य क्षेत्रतर्फ ‘म स्वस्थ, मेरो समुदाय स्वस्थ’ अभियानअन्तर्गत टोलस्तरमा स्वास्थ्य प्रवर्द्धन तथा नसर्ने रोगसम्बन्धी स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिनेछ । पूर्ण खोपयुक्त तथा कुपोषणमुक्त पालिका बनाउने लक्ष्यका साथ एचआईभी संक्रमितलाई मासिक ५०० रुपैयाँ औषधि उपचार सहायता उपलब्ध गराइनेछ । प्रत्येक वडामा हरित पार्क तथा खुला व्यायामशाला निर्माण गरी ‘स्वस्थ नागरिक, स्वस्थ नगर’ अभियानलाई प्रभावकारी बनाइने नीति अवलम्बन गरिएको छ ।
भौतिक पूर्वाधारतर्फ आगामी आर्थिक वर्षभित्र वनदेवी बसपार्क निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ । घर नक्सापास प्रणालीलाई आधुनिक तथा वैज्ञानिक बनाउन ‘इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम’ लागू गरिनेछ । ‘जहाँ मार्किङ, त्यहाँ पार्किङ’ अवधारणाअनुसार बजार सौन्दर्यकरण गरिनेछ । ‘एक घर, एक धारा’ कार्यक्रममार्फत स्वच्छ खानेपानी उपलब्ध गराइनेछ भने फोहरमैला व्यवस्थापनका लागि ल्यान्डफिल साइट तथा डम्पिङ साइटको सुधार गरिनेछ ।
करदाता शिक्षा तथा विद्युतीय राजस्व सङ्कलन प्रणालीलाई अनिवार्य बनाउँदै डिजिटल भुक्तानीलाई प्रोत्साहन गरिनेछ । सुशासनतर्फ ‘जनताको घरदैलोमा मेयर’ कार्यक्रम सञ्चालन गरिने तथा बेरुजु फर्छ्योट प्रक्रियालाई प्रभावकारी बनाइने नगरप्रमुख श्रेष्ठले बताए ।
नगरप्रमुख श्रेष्ठले नीति तथा कार्यक्रम सफल कार्यान्वयनका लागि नेपाल सरकार, प्रदेश सरकार, आन्तरिक स्रोत तथा एसिया फाउन्डेसन, युनिसेफ र यूएनडीपीलगायत विकास साझेदार संस्थासँग आवश्यक समन्वय तथा सहकार्य गरिने जानकारी दिए ।
नगरसभामा सदस्यहरू दिलबहादुर थापा, कमल दर्लामी, राधिका थापा, यमबहादुर कार्की, करणबहादुर रेश्मी, माधव बस्याल र सीता बस्नेतले आ–आफ्ना क्षेत्रका समेटिन बाँकी विषयवस्तु उठान गरेका थिए । नगरसभा अध्यक्ष श्रेष्ठले सदस्यहरूले उठाएका विषयहरू कार्यपालिकामा छलफल गरी आवश्यकताअनुसार समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।