Butwal Today

आज प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची

४ असार २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिने तथा विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ ।

सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा सम्बन्धित मन्त्रीहरूले सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ दिनेछन् । कार्यसूचीअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि छलफल हुनेछ ।

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विभिन्न शीर्षकहरूमा उठेका प्रश्नहरूको समेत सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ ।

बैठकमा सभामुखले विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमाथि २० जना सांसदले दर्ता गराएका खर्च कटौतीका प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्नेछन् । खर्च कटौती प्रस्ताव प्रस्तुत गर्ने सांसदहरूमा कृपाराम राना, युवराज दुलाल, पार्वती विक, एशुदाकुमारी बराल, जोगकुमार बरबरिया यादव, गुरुप्रसाद बराल, सन्तोष सुब्बा, मोहम्मद इस्तियाक राई, नीता घतानी, बलावती शर्मा, परशुराम तामाङ, विष्णुमाया विक, अर्जुनकुमार कार्की, यज्ञबहादुर बोगटी, नरेन्द्रकुमार केरुङ, ऐनबहादुर महर, रमेशकुमार मल्ल, पुष्पराज कँडेल, साजिदा खातुन सिद्दिकी र पद्माकुमारी अर्याल रहेका छन् ।

व्यवस्थापन कार्य अन्तर्गत आजै विनियोजन विधेयक, २०८३ का विभिन्न दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?