© 2026
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम सुरु गरिएको छ ।
उक्त पार्टीको पहिलो महाधिवेशन चितवन जिल्लाको भरतपुरमा यही असार ७ देखि ९ गतेसम्म हुने भएकाले निर्वाचनमा मतदान गर्ने प्रतिनिधिको नामावली तयारी हुन लागेको हो ।
केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठले मधेस प्रदेश र विभिन्न १३ जिल्लामा निर्वाचन हुन नसकेका स्थानमा जिल्ला तदर्थ समितिबाटै प्रतिनिधि चयन गराइने जानकारी दिए ।
त्यसै गरी, २०७९ को आम निर्वाचनमा उम्मेदवार भई निर्वाचित हुन नसकेका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूलाई समेत प्रतिनिधिका रूपमा सहभागी गराइने भएको छ ।
यस्तै पालिका सभापति, पालिकाको अधिवेशनबाट छनोट भएका महाधिवेशन प्रतिनिधि, केन्द्रीय समिति र केन्द्रीय संरचनामा रहेका प्रतिनिधिहरू महाधिवेशन प्रतिनिधिमा रहनेछन् ।
केन्द्रका ३८ विभागका ११ जनाका दरले रहेका समितिका सदस्यहरू महाधिवेशन प्रतिनिधिका रूपमा हुनेछन् । तीन आयोगका ११ जनाका दरले रहेका सदस्यहरू र सल्लाहकार पनि प्रतिनिधिका रूपमा रहनेछन् ।
सङ्घीय नेतृत्व मञ्चका सबै सदस्यहरू, सातै प्रदेशका प्रदेश समिति, प्रदेश विभागका प्रमुख, उपप्रमुख र सचिव, जिल्ला समितिका सभापतिसहित पाँच जना महाधिवेशनका लागि प्रतिनिधि बन्नेछन् ।
विभिन्न जिल्लाका ‘जिल्ला–काठमाडौँ सम्पर्क विभाग’ का प्रमुखहरू, निर्वाचन क्षेत्रका संयोजक र उपसंयोजक पनि प्रतिनिधि रहनेछन् । विभिन्न २५ देशबाट प्रतिनिधिहरू आउने तय भएको छ । ती देशबाट सङ्ख्याका आधारमा तीनदेखि ११ जनासम्म प्रतिनिधि आउने श्रेष्ठले बताए ।
यससँगै केन्द्रीय सभापतिले विशेष निर्णयमार्फत दुई सय जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्न पाउने व्यवस्था रहेको छ ।
विधान र पार्टीको निर्णय अनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको सूचि तयार गरिँदै छ । महाधिवेशन प्रतिनिधिको यकिन सङ्ख्या साँझसम्ममा तय हुने उनले बताए ।
यसैसाथ महाधिवेशनमा पर्यवेक्षकका रूपमा सहभागी हुनेहरूको सूची पनि तयार हुँदै छ । महाधिवेशनमा सहभागी हुनका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरू, विशिष्ट व्यक्तित्व, विदेशी पार्टी तथा अन्य निकायलाई निमन्त्रण पठाउने काम भइरहेको बताइन्छ ।
महाधिवेशनको पहिलो दिन असार ७ गते भरतपुरको गेष्टहाउस मैदानमा उद्घाटन गरिँदै छ । ८ र ९ गते मैदान नजिकै रहेको उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्द सत्र हुनेछ ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्य चयन गर्दै छ । निर्वाचित सदस्यबाट दोस्रो चरणमा तीन जना उपसभापति, दुई जना महामन्त्री र चार जना सहमहामन्त्रीका लागि निर्वाचन हुने श्रेष्ठले जानकारी दिए ।
महाधिवेशन तयारीका लागि केन्द्रीय नेताहरू आउने क्रम सुरु भइसेको । महाधिवेशन मूल आयोजक समितिअन्तर्गतका १८ वटा उपसमितिले आ¬–आआफ्नो काम गरिरहेका छन् ।