काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
बैठकमा विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले धारणा राख्न समय उपलब्ध गराएका थिए ।
सो अवसरमा सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्रीले संसद् उठाउनुभएको राष्ट्रियताको विषय, सम्पत्ति छानबिनसम्बन्धी आयोगको प्रतिवेदन र मानव अधिकारसम्बन्धी प्रतिवेदन कार्यान्वयनलगायत विषयमा पटकपटक ध्यानाकर्षण गराइए पनि त्यसको सुनुवाइ नभएको गुनासो गरे।
सांसद लक्ष्मीप्रसाद पोखरेलले अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक पहल तीव्र बनाउनुपर्नेमा जोड दिँदै गत जेठ १७ गते प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता हुनुपर्ने माग गरे ।
सांसद रमेशकुमार मल्लले प्रतिपक्षी दलले संसद् उठाएका प्रश्नको उचित सम्बोधन नहुने गरेको भनी दुःख व्यक्त गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने धारणा राखे । उनले लोकतन्त्र र संवैधानिक व्यवस्था कमजोर हुने अवस्थामा रहेकाले त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।
सांसद ऐन महरले संसद्को गरिमा कायम राख्नु सांसद र सरकार दुवैको साझा दायित्व भएको बताए । सांसद हर्कराज राईले भुटानी शरणार्थीका माग र समस्याको उचित सम्बोधन गर्न सरकारसँग आग्रह गगरे ।
सांसद ताहिर अली भाटले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै बढ्दो इन्धन मूल्यले आमउपभोक्ता माथि थप आर्थिक भार परेको बताए ।