Butwal Today

५ वर्षमा ४ म्याद थप, तर बनेन अस्पताल भवन

२२ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

गुल्मी । पाँच वर्ष अघिदेखि निर्माण सुरु गरिएको गुल्मी अस्पताल भवन अझै पूरा हुन सकेको छैन । जिल्ला सदरमुकाम तम्घासमा निर्माणाधीन ५० शैयाको गुल्मी अस्पताल भवन चार पटकसम्म म्याद थप हुँदा पनि सम्पन्न हुन सकेको छैन ।

लामो समयसम्म भवन निर्माणमा भएको ढिलाइका कारण अस्पतालको सेवा विस्तार प्रभावित हुनुका साथै दैनिक सेवा प्रवाहमा समेत समस्या परेको छ ।

सदरमुकाम तम्घास स्थित गुल्मी अस्पतालको नयाँ भवन निर्माणका लागि २०७८ असार १८ गते स्वच्छन्द–बानियाँ जेभी, मकवानपुरसँग सम्झौता गरिएको थियो । भ्याट बाहेक रु २५ करोड ९४ लाख लागतमा निर्माण हुन लागेको उक्त भवन तोकिएको समयमा सम्पन्न हुन नसक्दा पटक–पटक म्याद थप गर्नु परेको बताइएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना पाल्पाका सूचना अधिकारी पुष्पराज भट्टका अनुसार हालसम्म भवनको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ७२ प्रतिशत भएको छ । सम्झौता अनुसार निर्माण कम्पनीले २०८० असार १७ गतेभित्र काम सम्पन्न गर्नुपर्ने थियो तर निर्धारित समयमा काम नसकिएपछि पहिलो पटक २०८० असार १८ देखि पुस १७ गतेसम्म म्याद थप गरिएको थियो ।

त्यसपछि दोस्रो पटक २०८० पुस १८ देखि २०८१ पुस १७ गतेसम्म तथा तेस्रो पटक २०८१ पुस १८ देखि २०८२ कात्तिक ७ गतेसम्म म्याद थप गरिएको थियो । हाल चौथो पटक २०८२ कात्तिक ९ गतेदेखि २०८३ जेठसम्मको समयावधि दिइएको भए पनि निर्माण कार्यले तीव्रता लिन सकेको छैन ।

सूचना अधिकारी भट्टका अनुसार भवन बाहिरको ¥याम्प निर्माण, ट्रान्सफर्मर तथा जेनेरेटर जडान लगायतका काम गर्न अझै बाँकी रहेको बताइएको छ । “निर्माण व्यवसायीले न्यून जनशक्ति राखेर काम गरिरहेको हुँदा हाम्रो स्पिड अनुसार काम हुन सकेको छैन,” सूचना अधिकारी भट्टले बताए ।

उनका अनुसार निर्माण व्यवसायीलाई सहरी विकास तथा भवन निर्माण विभाग काठमाडौँ र पाल्पा कार्यालयमा बोलाएर काम छिटो गर्नका लागि पटक पटक ताकेता गर्दै आएको बताइएको छ ।

भवन निर्माणमा भएको ढिलाइले अस्पतालको दैनिक सेवा सञ्चालनमा समेत समस्या थपिएको छ । ५० शैयामा स्तरोन्नति भइसके पनि पुरानै संरचनाबाट सेवा दिनुपर्दा सेवाग्राही र स्वास्थ्यकर्मी दुवैले सास्ती भोग्नु परेको अस्पताल प्रशासनको भनाइ छ ।

गुल्मी अस्पतालमा हाल दैनिक सरदर दुई सय ५० जना बिरामीहरूले सेवा लिँदै आएका छन् । पर्याप्त कोठा अभावका कारण एउटै कोठाबाट धेरै चिकित्सकले सेवा दिनुपर्ने अवस्था रहेको छ ।

निर्माण कम्पनीले रङरोगन, विद्युतीय जडान तथा फिनिसिङ् लगायतका काम समयमै सम्पन्न गर्न नसक्दा भवन निर्माण पूरा हुन नसकेको हो । सघन सहरी तथा भवन निर्माण आयोजना पाल्पाले भवन निर्माणको काम हेरिरहेको छ ।

गुल्मी अस्पतालका प्रमुख विभव बस्यालले भवन अभावकै कारण अस्पतालले सेवा विस्तारमा समस्या भोगिरहेको बताएका छन् । उनले भवन निर्माणको काम सुस्त गतिमा भएको हुँदा भवन नहुँदा नयाँ सेवा विस्तार र व्यवस्थापनमा चुनौती थपिएको बताए ।

भवन अभावकै कारण सघन उपचार कक्ष (आइसियु) सञ्चालन तथा मिर्गौला डायलाइसिस सेवा विस्तार हुन सकेको उनले बताए । अस्पतालमा सेवा लिन अस्पताल आएका बिरामीहरूलाई बस्ने ठाउँको समेत अभाव रहेको छ ।

नयाँ भवन चाँडै सञ्चालनमा ल्यानका लागि रेसुङ्गा नगरपालिकाले पनि पटक पटक सम्बन्धित कार्यालय र निर्माण व्यवसायीलाई भेटेर ताकेता गरिरहेको रेसुङ्गा नगरपालिकाले जनाएको छ । यस अस्पतालबाट गुल्मी लगायत अर्घाखाँची, वाग्लुङ् र प्युठानसम्मका मानिसहरूले सेवा लिँदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?