Butwal Today

गफ धेरै, योजना शून्य: कहिले बन्ला एकीकृत बुद्ध परिपथ ?

१९ जेष्ठ २०८३, मंगलवार
अ+
अ-

बुटवल ।  नेपाल भित्रिने विदेशी पर्यटकको राष्ट्रिय औसत बसाई करिब १६ दिनभन्दा बढी रहँदा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य एवं बुद्ध जन्मस्थल लुम्बिनी र यस आसपासको क्षेत्रमा भने पर्यटकको औसत बसाई केवल डेढ दिन (१.५ दिन) मात्रै सीमित छ ।

११ लाखभन्दा बढी विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिँदा त्यसको सुखद प्रभाव रुपन्देही र सिङ्गो लुम्बिनी प्रदेशको पर्यटन व्यवसायमा पर्न सकेको छैन । तथ्याङ्कअनुसार हवाई मार्गबाट आउनेमध्ये केवल दुई लाख पर्यटक मात्र लुम्बिनी आउने गरेका छन् ।

लुम्बिनी आउने पर्यटकको सङ्ख्या बढाउन र उनीहरूको बसाई लम्ब्याउने गरी ठोस प्याकेज योजना, बलियो डिजिटल प्रचार र सीमावर्ती क्षेत्रको नीतिगत सुधार नभएसम्म राज्य र स्थानीय अर्थतन्त्रले पर्यटनबाट वास्तविक लाभ लिन नसक्ने सरोकारवालाहरूले औँल्याएका छन् ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा रुपन्देही उद्योग सङ्घको आयोजनामा बुटवलमा सोमबार भएको ‘रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती’ विषयक बृहत् गोष्ठी तथा प्यानल छलफलमा सहभागी प्राज्ञिक व्यक्तित्व, स्थानीय सरकारका प्रतिनिधि र वरिष्ठ पर्यटन व्यवसायीहरूले मोफसलको पर्यटन क्षेत्र निर्वाहमुखी चरणमै अड्किएको भन्दै चिन्ता व्यक्त गरे ।

उनीहरूले अब ‘मास टुरिजम’ (सङ्ख्यात्मक पर्यटन) मात्र नभई ‘लक्जरियस टुरिजम’ (गुणस्तरीय तथा खर्चालु पर्यटन) मा जोड दिनुपर्ने र पर्यटकलाई खर्च गर्ने वातावरण सिर्जना गर्नुपर्ने सुझाव दिएका छन् ।

कोभिड–१९ महामारी अघिसम्म बुद्ध जन्मस्थल लुम्बिनीमा वार्षिक १५ लाखसम्म पर्यटक भित्रिने गरेको आधिकारिक तथ्याङ्क छ । तर, पछिल्ला वर्षहरूमा यो सङ्ख्या खस्किएर औसतमा वार्षिक १३ लाखमा झरेको छ ।

यसरी आउने कुल पर्यटकमध्ये झण्डै ७ लाख त आन्तरिक (नेपाली) नै हुने गरेका छन् भने छिमेकी मुलुक भारतबाट २ लाख र तेस्रो मुलुकका विभिन्न बौद्ध राष्ट्रहरूबाट अन्य पर्यटक लुम्बिनी आउने गर्छन् ।

विदेशी पर्यटकहरू भारतको बाटो हुँदै सिधै लुम्बिनी आउने, मायादेवी मन्दिर फन्को मार्ने र सोही दिन वा भोलिपल्टै फर्कने परिपाटीले रुपन्देहीका खर्बौँ लगानी भएका होटल तथा पर्यटन उद्योगहरू चरम सङ्कटमा परेका छन् ।

नाटा लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष सागर अधिकारीले व्यवसायीहरूले धेरै ठुलो आशाका साथ यस क्षेत्रमा लगानी गरे पनि सोचेजस्तो सफलता हासिल हुन नसकेको तीतो यथार्थ पोखे । सीमा नाकाबाट भित्रिने पर्यटकलाई सरकारले राष्ट्रिय तथ्याङ्कमा बलियो गरी नजोड्ने प्रवृत्ति बाधक रहेको र गोरखपुर कनेक्टिभिटीलाई नेपाल भित्रिने महत्वपूर्ण खम्बाका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय नीतिगत अवरोधबारे बोल्दै अधिकारीले थपे, “थाइल्याण्ड र श्रीलंकाका पर्यटकहरू सिधै नेपाल भित्रिएको खण्डमा उनीहरूले भारत प्रवेश नपाउने कतिपय प्रावधान बाधक छन्, जसका कारण पर्यटकहरू पहिले भारत घुमेर अन्तिममा मात्र लुम्बिनी आउँछन् र तुरुन्तै फर्किहाल्छन् ।”

गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुमन घिमिरे, अध्येता एवं प्राध्यापक युवराज कंडेल र लुम्बिनी बौद्ध विश्वविद्यालयका विभागीय प्रमुख डा. श्रीप्रसाद भट्टराईले स्मार्ट डिजिटल पर्फमेन्सको विश्लेषण गर्दा पछिल्लो समय पर्यटनको ट्रेन्ड पहाड र हिमालतर्फ ‘सिफ्ट’ भइरहेको तथ्य उजागर गरे । पर्यटकको सन्तुष्टि र रुचि पहाडतिर बढी देखिएकाले तराई क्षेत्रमा बसाई घटेको उनीहरूको निष्कर्ष छ ।

यो चुनौतीलाई चिर्न तराईका जिल्लाहरूलाई ‘रमाउने र खर्च गर्ने थलो’ का रूपमा विकास गर्नुपर्ने सुझाव विज्ञहरूको छ । यसका लागि क्यासिनो, स्पा, र आधुनिक मनोरञ्जनात्मक पूर्वाधारमा लगानी बढाउन आवश्यक छ । “पर्यटनको विकासका लागि सेवा मात्र होइन, अब स्टोरी टेलिङ जरुरी भइसकेको छ,” विज्ञहरूले कार्यपत्रमा उल्लेख गरेका छन्, “गन्तव्य नक्कली बनाउने अर्थात् डेष्टिनेशन डुब्लिकेशनको समस्या दीर्घकालीन रूपमा गम्भीर बन्न सक्छ, त्यसैले प्राकृतिक र सांस्कृतिक मौलिकतामै जोड दिनुपर्छ ।”

छिमेकी भारतका सीमावर्ती राज्यहरूमा मदिरा निषेध (ड्राइ स्टेट नीति) रहेकाले नेपालका सीमावर्ती क्षेत्रहरूका लागि यो एउटा ठुलो अवसर बन्न सक्ने र यसलाई सुरक्षित रात्रिकालीन पर्यटनको बलियो नीति बनाएर उपयोग गर्नुपर्ने धारणा कार्यक्रममा आएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रुपन्देहीको आर्थिक मेरुदण्ड नै पर्यटन भएकाले यसको विकासमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । बुद्ध जन्मस्थल लुम्बिनी मात्र नभई आदिमानव रामापिथेकसको अवशेष फेला परेको स्थल, र सामरिक महत्वको ऐतिहासिक जितगढी किल्ला जस्ता सम्पदाहरूलाई आपसमा जोडेर वृहत् प्रचार गर्नुपर्ने उनको जोड थियो ।

बुटवल केवल ट्रान्जिट सहर मात्र नभई यहाँको आफ्नै विशिष्ट संस्कृति भएकाले त्यसलाई पर्यटकीय उत्पादनमा बदल्न स्थानीय तहले काम गरिरहेको उनले दाबी गरे ।

त्यस्तै उपप्रमुख सावित्रादेवी अर्याल र देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले देवदह, रामग्राम, कतिलवस्तु र लुम्बिनीलाई समेटेर एउटा एकीकृत बुद्ध परिपथको योजना बनाई नयाँ पुस्तालाई रोजगारीसँग जोड्नुपर्ने धारणा राखे । स्थानीय सरकारले पर्यटन सूचना केन्द्रको स्थापना, ब्रोसर र डिजिटल बुकलेटहरू तयार पार्न नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिइयो ।

पर्यटन क्षेत्रलाई हेर्ने दृष्टिकोण र जनशक्ति उत्पादनमा पनि व्यापक सुधारको खाँचो औँल्याइएको थियो । होटल व्यवस्थापन र टुरिजम अध्ययन गर्ने विद्यार्थीहरूलाई कक्षाकोठामा मात्र सीमित नराखी होटलमै लगेर व्यावहारिक ज्ञान दिनुपर्ने र लुम्बिनी बौद्ध विश्वविद्यालयले यसको सुरुवात गरिसकेको जानकारी दिइयो । समाजमा स्पा र मसाज व्यवसायप्रति रहेको नकारात्मक दृष्टिकोणलाई अन्त्य गर्न यसलाई शैक्षिक पाठ्यक्रम र औपचारिक कोर्षमै समेट्नुपर्ने बहस समेत गोष्ठीमा उठेको छ ।

पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद भुसालले कार्यालयले पर्यटन उद्योग, टुर तथा ट्राभल एजेन्सीहरूको दर्ता, नवीकरण र धार्मिक–सांस्कृतिक पूर्वाधार विकासमा काम गरिरहेको बताए । उनले दर्ता भएका धेरै व्यवसायहरूमध्ये हाल कार्यालयमा करिब १ सयको संख्यामा मात्र होटेल तथा एजेन्सीहरू सक्रिय रूपमा सञ्चालनमा रहेको जानकारी दिँदै कानुनी दायरा र गुणस्तर सुदृढीकरणमा जोड दिए ।

प्यानल छलफलमा वरिष्ठ पर्यटन व्यवसायी माधव नेपाल तथा नाटाका पूर्व अध्यक्ष सागर अधिकारीले लगानीको सुरक्षा र प्रतिफलका लागि राज्यले पूर्वाधार र यातायातमा ध्यान दिनुपर्ने बताए । पर्यटन बोर्डका सुमन घिमिरेले प्रमुख ल्यान्ड मार्कहरूमा लगानी बढाउनुको विकल्प नरहेको स्पष्ट पारे ।

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली र महासचिव सुमन बस्यालले उद्योग र पर्यटन एकापसका पूरक भएकाले निजी क्षेत्र र सरकार मिलेर एक्सन ओरियन्टेड (परिणाममुखी) काम गर्नुपर्ने बेला आएको बताए । विश्व परिवेश र प्रविधिको बदलिँदो स्वरूपलाई आत्मसात् गर्दै रैथाने समुदाय विस्थापित नहुने गरी पर्यटन नीति परिमार्जन गर्न आवश्यक रहेको उनीहरूको भनाइ छ ।

पर्यटनको लाभ कम्तीमा ३० प्रतिशत स्थानीय बासिन्दाको जीवनस्तर सुधारमा पुग्ने गरी मोडेल तयार पार्नुपर्ने समेत कार्यक्रममा औँल्याइएको छ । लुम्बिनी आउने पर्यटकलाई बुद्ध परिपथका अन्य ऐतिहासिक स्थल र बुटवलका गन्तव्यसम्म डो¥याउने प्याकेज, सिधै अन्तर्राष्ट्रिय हवाई मार्गको सुदृढीकरण, र पर्यटकलाई भुल्ने वातावरण बनाएर मात्रै बसाई लम्ब्याउन सकिनेमा जोड दिइएको छ ।

गफ र गोष्ठीमा मात्र सीमित नभई अब ठोस कार्ययोजनाका साथ अघि बढेमा मात्र रुपन्देही पश्चिम नेपालकै समृद्ध पर्यटकीय हब बन्न सक्ने निश्चित रहेको सरोकारवालाको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?