Butwal Today

चैते धान खेती: माडीमा हरायो, वडमानमा फस्टायो

१५ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

पाल्पा । वगनासकाली गाउँपालिका–पोखराथोकका ७० वर्षीय देवबहादुर कुमाललाई अहिले पनि बाल्यकाल र युवावस्थाका ती दिनहरू झल्झली सम्झना आउँछन्, जब चैतको पहिलो सातादेखि नै माडी फाँट हरियाली बन्थ्यो ।

गाउँका सबै परिवार मिलेर चैते धान रोप्ने, रोपाइँमा रमाइलो गर्ने र वैशाख–जेठसम्म हरियै खेत हेर्दै खुशी साट्ने परम्परा थियो । “त्यो बेला चैत लाग्नासाथ फाँटमा रोपाइँको चहलपहल सुरु हुन्थ्यो,” उनी सम्झिन्छन्, “माडी फाँटबाट चैते धान नै हराएर जाला भन्ने कहिल्यै कल्पना गरेको थिइनँ ।”

एक समय पाल्पाको माडी क्षेत्र चैते धान उत्पादनका लागि परिचित थियो । स्थानीय जातका बिउ प्रयोग गरेर कृषकहरूले चैत महिनामा धान रोप्ने गर्थे । वर्षमा दुई बाली उत्पादन हुने भएकाले माडीलाई ‘अन्नको भण्डार’ समेत भन्ने गरिन्थ्यो ।

यहाँ उत्पादन भएको धान र चामल जिल्लाबाहिर समेत निर्यात हुने गरेको पुराना कृषकहरू बताउँछन् । तर समयसँगै त्यो दृश्य फेरिएको छ । अहिले माडी फाँटबाट चैते धान खेती लगभग लोप भइसकेको छ । सिँचाइ अभाव, पानीका स्रोत सुक्दै जानु, कृषि मजदुरको कमी र युवापुस्ता गाउँ छाडेर बाहिरिनुले चैते धान खेती सङ्कटमा परेको कृषकहरूको भनाइ छ ।

माथागढी गाउँपालिका–कसेनीका अगुवा कृषक डिलबहादुर थापा भन्छन्, “पहिला दुई बाली लगाएर गाउँ आत्मनिर्भर थियो । अहिले धेरै खाद्यान्न बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । खेतमा काम गर्ने मानिस घटे, सिँचाइको समस्या बढ्यो, त्यसैले चैते धान हराउँदै गयो ।”

कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार जिल्लाभर अहिले पनि ३ सय २८ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको तथ्याङ्क छ । तर पछिल्लो समय यो खेती सीमित क्षेत्रमै खुम्चिएको छ । रामपुर नगरपालिका–वडमान क्षेत्रमा भने सिँचाइ सुविधा विस्तार भएसँगै चैते धान खेती विस्तार हुन थालेको छ ।

पूर्वखोला गाउँपालिका–पूर्वखोलाका अगुवा कृषक ईश्वरीप्रसाद खनालका अनुसार पहिले यो मौसममा फाँटभरि हरियाली देखिन्थ्यो । “अहिले खेत बाँझै देखिन थालेका छन्,” उनी भन्छन्, “काम गर्ने जनशक्ति बूढा भए, नयाँ पुस्ता विदेश र शहरतिर लागे। त्यसपछि दुई बाली खेती गर्ने परम्परा हराउँदै गयो ।”

तर रामपुरको वडमान क्षेत्रमा भने फरक दृश्य देखिन्छ । यहाँ पर्याप्त सिँचाइ सुविधा पुगेपछि चैते धान खेती विस्तार हुँदै गएको छ । रामपुरकी कृषक पविसरा राना भन्छिन्, “तनहुँ माइती हुँदा मैले चैतमा धान रोप्ने चलन त्यतै देखेकी थिएँ ।

अहिले यहाँ पनि त्यही खेती विस्तार भएको छ ।” उनका अनुसार एक दशकअघि सम्म वडमान क्षेत्रको जमिन सुख्खा थियो । तर कुलो निर्माण र सिँचाइ सुविधा बलियो बनेपछि खेत हरियाली बन्न थालेका छन् । उनले अहिले १० रोपनी क्षेत्रफलमा चैते धान खेती गर्दै आएकी छन् ।

स्थानीय कृषक माया पोखरेल पनि पछिल्लो पाँच वर्षदेखि चैते धान खेतीतर्फ आकर्षित भएकी छन् । “वर्षे धानभन्दा चैते धानको चामल बढी राम्रो र बहुउपयोगी हुन्छ,” उनी भन्छिन्, “सिँचाइ सुविधा भएपछि उत्पादन पनि राम्रो हुन थालेको छ ।”

चैते धानप्रति कृषकहरूको आकर्षण बढ्दै गएपछि राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले पनि सिँचाइ तथा यान्त्रिकीकरणमा सहयोग विस्तार गरेको छ । परियोजना प्रमुख सन्तोष चौधरीका अनुसार कृषकको मागअनुसार साना सिँचाइ कार्यक्रममार्फत पक्की कुलो निर्माण, कृषि उपकरण सहयोग तथा यान्त्रिकीकरणलाई प्राथमिकता दिइएको छ ।

“हाल करिब २ सय ५० रोपनी क्षेत्रफलमा चैते धान खेती भइरहेको छ,” उनले भने, “कुलो निर्माण र प्रविधिको प्रयोग बढेसँगै कृषकको आकर्षण पनि बढ्दै गएको छ ।”

स्थानीय कृषक नुरबहादुर किसानका अनुसार सिँचाइ सुविधा नै चैते धान विस्तारको मुख्य आधार बनेको छ। “पहिला पानी थिएन, खेत बाँझो जस्तै हुन्थ्यो,” उनले भने, “अहिले कुलो बनेपछि फाँट बाह्रै महिना हरियो देखिन थालेको छ ।”

उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष मात्रै करिब २० रोपनी क्षेत्रफलमा चैते धान खेती थपिएको छ। सिँचाइ, कृषि यान्त्रिकीकरण र बजारको सम्भावनाले कृषकहरू फेरि चैते धानतर्फ आकर्षित हुन थालेका छन् ।

पाल्पाका केही क्षेत्रमा चैते धान खेती हराउँदै गए पनि कतिपय स्थानमा भने आधुनिक सिँचाइ र कृषि प्रविधिको सहायताले यसको पुनः विस्तार सुरु भएको छ । पुरानो कृषि संस्कृतिलाई नयाँ प्रविधिसँग जोड्न सके चैते धान खेतीले फेरि एकपटक गाउँका फाँट हराभरा बनाउने आशा कृषकहरूले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?