Butwal Today

एभरेष्ट समिटर्स समिटः २६ देशका १७६ आरोहीलाई सम्मान

१३ जेष्ठ २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ अन्तर्गत २६ देशका १७६ सगरमाथा आरोहीलाई सम्मान गरिएको छ ।

एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा आज काठमाडौँमा आयोजित कार्यक्रममा विश्वका २६ देशका १७६ सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

आरोहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडगराज पौडेल, मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, आयोजक संस्था एभरेष्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपाल, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया, ट्रेकिङ एजेन्सीस् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेलगायतले सम्मान गरेका हुन ।

कार्यक्रममा पर्यटनमन्त्री पौडेलले सगरमाथा आरोहीहरूको साहस र दृढ सङ्कल्पको प्रशंसा गरे । उनले सुरक्षित र दिगो पर्वतीय पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए ।

मन्त्री पौडेलले आरोहीको सुरक्षामा सुधार, आपत्कालीन उद्धार प्रणालीको सुदृढीकरण र स्थानीय हिमाली समुदायको आर्थिक सशक्तिकरणलाई विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । उनले हिमालय क्षेत्रमा देखिएका जलवायु परिवर्तनका गम्भीर असरप्रति चिन्ता व्यक्त गरे ।

उनले  हिमनदी पग्लिने क्रम, जैविक विविधताको ह्रास र बढ्दो फोहोर व्यवस्थापनका चुनौती थपिँदै गएको बताए । हिमालयको संरक्षण नेपालको मात्र नभई सम्पूर्ण विश्वको साझा उत्तरदायित्व भएको उनको भनाइ थियो ।

वरिष्ठ पर्वतारोही एवम् सेभेन समिट ट्रेक्सका सञ्चालक मिङ्मा शेर्पाले नेपालका हिमालले विश्वभरका पर्यटकलाई आकर्षित गरिरहेको बताए । हिमाल आरोहणमा शेर्पा गाइडले खेलेको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

“पहिलेको तुलनामा अहिलेका शेर्पाहरू धेरै बलिया र तालिमप्राप्त छन्, हामी हाम्रो विदेशी आरोहीलाई सुरक्षित रूपमा शिखरमा पु¥याउन सधैँ तत्पर छौँ,” उनले भने ।

एभरेष्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका आरोहीको सम्मानका लागि विगत दुई वर्षदेखि ‘एभरेष्ट समिटर्स समिट’ आयोजना गरिएको बताए ।

“हामीले गत वर्षदेखि सगरमाथा आरोहीलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रम सुरुआत गरेका थियौँ, पहिलो संस्करण भव्य रूपमा सम्पन्न हुनुले नै यसको महत्त्व र दायरा प्रस्ट पारेको छ । यो नेपालको मात्र नभएर विश्वव्यापी मञ्च बनिसकेको छ,” उनले भने ।

हिमालयको भविष्यका लागि एकजुट आवाज विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहीहरूको अद्वितीय साहस र योगदानलाई कदर गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ । यसबाट नेपालको पर्वतीय पर्यटनलाई विश्वमाझ अझ उच्च राख्न र साहसी आरोहीको सम्मानका लागि मद्दत पुग्ने अध्यक्ष नेपालले बताए ।

कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको ३२औँ पटक आरोहण गरेर विश्व कीर्तिमान राख्ने कामीरिता शेर्पा, सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने महिला लाक्पा शेर्पालगायत विभिन्न देशका आरोहीलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रमको पूर्व सन्ध्यामा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका थिए । राष्ट्रपति पौडेलले ‘समिटर्स ब्रेकफास्ट’ मा सरिक भई आरोहीहरूसँग साक्षात्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?