Butwal Today

फरार प्रतिवादी पक्राउ, २ ट्याक्टर नियन्त्रणमा

१३ जेष्ठ २०८३, बुधबार
अ+
अ-

सल्यान ।  सल्यान प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गर्नुका साथै अवैध रूपमा बालुवा उत्खनन तथा ढुवानीमा संलग्न दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सल्यानको त्रिवेणी गाउँपालिका वडा नं, ३ घर भई हाल दाङको शान्तिनगर गाउँपालिका, ५ बस्दै आएका अन्दाजी ५० वर्षीय तिलक राम घर्तीलाई पक्राउ गरिएको हो । उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले शारदा नगरपालिका, २ खलङ्गाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईले पक्राउ परेका घर्तीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङको जिम्मा लगाइएको जनाए ।

यस्तै चोरी मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका अर्का फरार प्रतिवादी पनि पक्राउ परेका छन् । जिल्ला अदालत सल्यानको २०८२ मङ्सिर २३ गतेको फैसला आदेशले तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएका सिद्धकुमाख गाउँपालिका, २ घर भई हाल सोही वडाको नेटा बजार बस्दै आएका २० वर्षीय ज्योति प्रकाश बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले कुमाख गाउँपालिका, २ नेटा बजारबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई सोमबार जिल्ला अदालत सल्यानमा बुझाइएको प्रहरीले जनाएको छ ।

अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको प्रहरीको भनाइ छ । यसैबिच प्रहरीले अवैध रूपमा बालुवा उत्खनन तथा ढुवानीमा संलग्न दुई वटा ट्याक्टर पनि नियन्त्रणमा लिएको छ ।

आइतबार कुमाख गाउँपालिका, १ टाट्केबाट रागेचौरतर्फ अवैध रूपमा बालुवा उत्खनन तथा ढुवानी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको प्रहरी टोलीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्याक्टरहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?