Butwal Today

जेनजी प्रतिनिधिलाई संविधान संशोधन बहसमा सहभागी हुन कार्यदलको आग्रह

२ जेष्ठ २०८३, शनिबार
अ+
अ-

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजी प्रतिनिधिहरूसँग आज तय गरिएको छलफलबारे देखिएको अन्योल हटाउँदै सकारात्मक संवादमा सहभागी हुन आग्रह गरेको छ। कार्यदलका संयोजक असिम शाहाले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य उद्देश्य रहेको बताएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सोही उद्देश्यअनुसार जेनजी प्रतिनिधिहरूलाई पनि छलफलका लागि आमन्त्रण गरिएको हो।

आज अपराह्न ५ बजे तय गरिएको छलफलअघि केही जेनजी प्रतिनिधिहरूले अघिल्लो सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। केहीले छलफल बहिष्कार गर्ने चेतावनीसमेत दिएका थिए। यस विषयमा प्रतिक्रिया दिँदै संयोजक शाहले अघिल्लो सरकारसँग भएका सहमतिहरू कार्यान्वयनकै चरणमा रहेको र जेनजी परिषद् निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको स्पष्ट पारेका छन्।

उनले अहिलेको छलफल संविधान संशोधनका लागि सुझाव संकलन गर्ने विशेष उद्देश्यका लागि आयोजना गरिएको भन्दै अन्य विषयसँग नमिसाउन आग्रह गरेका छन्। कार्यदलले जेनजी प्रतिनिधिबाट मौखिक र लिखित दुवै माध्यमबाट सुझाव लिने व्यवस्था गरिएको जनाएको छ। बोल्नका लागि पर्याप्त समय नदिइएको भन्ने प्रचारप्रति संकेत गर्दै शाहले कसैको आवाजलाई नजरअन्दाज नगरिने विश्वास दिलाएका छन्।

उनले राजनीतिक विवाद वा भ्रमभन्दा माथि उठेर आफ्नो अधिकार र दायित्वलाई ध्यानमा राख्दै छलफलमा सहभागी हुन सबै जेनजी प्रतिनिधिलाई अनुरोध गरेका छन्। कार्यदलले गत चैत २५ गतेदेखि विभिन्न सरोकारवालासँग छलफल सुरु गरेको थियो। हालसम्म संविधानविद्, पूर्वप्रशासक तथा सञ्चार क्षेत्रका विज्ञहरूसँग परामर्श गरिसकिएको छ भने आगामी दिनमा अन्य समूहसँग पनि छलफल गरिने जनाइएको छ। सरकारको १०० बुँदे कार्यसूची अनुसार शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयताजस्ता विषयमा साझा धारणा बनाउन यो प्रक्रिया अघि बढाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?