Butwal Today

सुकुम्बासी आन्दोलन चर्किंदै, जेठ ३ मा बुटवलमा राष्ट्रिय सम्मेलन र बिरोध सभा

३० बैशाख २०८३, बुधबार
अ+
अ-

बुटवल । सरकारले देशभर डोजर चलाएर अव्यवस्थित बसोबासी तथा सुकुम्बासी बस्ती हटाउन थालेको भन्दै भूमिहिन सुकुम्बासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीहरुले आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेका छन् । उनीहरुले वर्तमान सरकारले गरिबी घटाउनेभन्दा गरिबलाई विस्थापित गर्ने काम गरेको आरोप लगाएका छन् ।

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित संघर्ष समिति रुपन्देहीले जेठ ३ गते बुटवलमा वृहत विरोध प्रदर्शन तथा राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको जानकारी दिएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले जेठ ३ गते दिउँसो १ बजे राजमार्ग चौराहाबाट र्याली सुरु हुने र ट्राफिक चोकमा पुगेर सरकारविरुद्ध दबाबमूलक कोणसभा आयोजना गरिने बताए । अर्को दिन जेठ ४ गते बुटवलस्थित उद्योग वाणिज्य संघको हलमा अव्यवस्थित बसोबासी तथा भूमिहिन सुकुम्बासीको नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

उनका अनुसार कार्यक्रममा देशभरबाट अव्यवस्थित बसोबासी तथा भूमिहिन सुकुम्बासी सहभागिता रहनेछन कार्यक्रममा कम्तीमा ३० हजार जनाको सहभागिता हुने आयोजकले दाबी गरेको छ । संघर्ष समितिले रुपन्देहीका पालिका स्तरमा संघर्ष समिति गठन गरिसकेको जनाएको छ । संयोजक पौडेलले सरकारले रणनीतिक रूपमा सुकुम्बासीमाथि दमन बढाएको महसुस भएकाले देशभरका भूमिहिन र अव्यवस्थित बसोबासीलाई एउटै आवाजमा संगठित गर्न राष्ट्रिय सम्मेलन आयोजना गरिएको बताए । सम्मेलनपछि देशव्यापी आन्दोलनको स्वरुप तय गरिने उनले जानकारी दिए ।

संघर्ष समितिले भू–उपयोग नीति २०७६ कायम गर्नुपर्ने, नापजाँच सम्पन्न भएका स्थानमा तत्काल लालपूर्जा वितरण गर्नुपर्ने तथा खारेज गरिएको भूमि आयोग पुनः गठन गरी बसोबास गरिरहेका स्थानमा पुनः नापजाँच सुरु गर्नुपर्ने माग अघि सारेको छ ।राष्ट्रिय सम्मेलनका लागि हालसम्म २२ जिल्लाका प्रतिनिधिहरु सम्पर्कमा आइसकेको तथा अन्य जिल्लाबाट पनि सहभागिताको तयारी भइरहेको संघर्ष समितिले जनाएको छ । सम्मेलनलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु गठन गरी तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

विघटित भूमि आयोगका अनुसार रुपन्देहीका तथ्यांकअनुसार रुपन्देहीमा लालपूर्जाका लागि ७९ हजार २६१ परिवारले निवेदन दिएका छन्। तीमध्ये ३ हजार ७६ भूमिहीन दलित, ६ हजार ७६१ भूमिहीन सुकुम्बासी र ६९ हजार ४२६ अव्यवस्थित बसोबासी रहेका छन्। क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?