© 2026
कोलम्बो ।
मध्यपूर्वमा जारी युद्धका कारण ऊर्जा आपूर्तिमा आएको असरले लागत बढेपछि श्रीलङ्काले बिजुली महसुल १८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ ।
सार्वजनिक उपयोगिता आयोगका अनुसार सोमबारदेखि लागू हुने नयाँ दरअनुसार मासिक १८० युनिटभन्दा बढी बिजुली प्रयोग गर्ने उपभोक्ताले १८ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्नेछ । सोभन्दा कम खपत गर्ने उपभोक्तामा भने तत्काल असर पर्ने छैन ।
आयोगले जारी गरेको विज्ञप्तिअनुसार यो वृद्धि उद्योग, होटल, व्यवसाय, सरकारी कार्यालय तथा धार्मिक संस्थाहरूमा लागू हुनेछ ।
यो निर्णय पछिल्ला केही महिनामा गरिएको ऊर्जा सम्बन्धी श्रृङ्खलाबद्ध वृद्धि पछिको अर्को कदम हो । गत महिना मात्र पनि बिजुली महसुल ४० प्रतिशतले बढाइएको थियो ।
इन्धन मूल्य र महँगाइ पनि बढ्यो
ऊर्जा आपूर्तिमा अवरोधका कारण श्रीलङ्काले इन्धन मूल्य ३५ प्रतिशतभन्दा बढीले बढाएको छ र केही क्षेत्रमा राशनिङ समेत लागू गरेको छ ।
सरकारी तथ्याङ्कअनुसार महँगाइ बढेर अप्रिलमा ५.४ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिनाहरूको तुलनामा उल्लेखनीय वृद्धि हो ।
आर्थिक सङ्कटबाट पुनःस्थापनाको प्रयास
श्रीलङ्का सन् २०२२ मा विदेशी मुद्रा सङ्कटका कारण ठूलो आर्थिक संकटमा परेको थियो, जसले खाद्यान्न, इन्धन र औषधि आयातमा गम्भीर असर पारेको थियो ।
गत वर्ष आएको ठूलो आँधीले समेत देशलाई थप प्रभावित बनाएको थियो, जसमा सयौंको मृत्यु र ठूलो भौतिक क्षति भएको थियो ।
देशले सन् २०२३ देखि अन्तर्राष्ट्रिय मुद्रा कोषको सहायता कार्यक्रममार्फत आर्थिक स्थायित्व ल्याउने प्रयास गरिरहेको छ । तर उच्च ऊर्जा मूल्य र बाह्य संकटहरूले पुनःउत्थान प्रक्रियामा चुनौती थपिरहेका छन् ।