© 2026
गुल्मी । चन्द्रकोट गाउँपालिका शान्तिपुर क्षेत्रका युवा व्यवसायीहरूको लगानीमा यात्रु तथा वातावरणमैत्री इलेक्ट्रिक सवारी सेवा औपचारिक रूपमा शुभारम्भ भएको छ। शान्तिपुर बसपार्क र काठमाडौं बसपार्कबाट बिहान ७ बजे छुट्ने गरी सञ्चालनमा ल्याइएको मिनी माइक्रो बस सेवा रुद्रवेणी हुँदै कालिगण्डकी करिडोर, अर्वेनी, पुर्तिघाट, जैमिनी, मालढुंगा, कुश्मा र पोखरा मार्ग हुँदै काठमाडौंसम्म सञ्चालन हुनेछ। करिब ३५० किलोमिटर दूरीको यात्रा १० घण्टाभित्र सहज रूपमा पूरा गर्न सकिने सेवा सञ्चालक तथा उद्योग वाणिज्य संघ शान्तिपुरका अध्यक्ष तेजेन्द्र थापाले जानकारी दिए ।
गुल्मी यातायात प्रालिमार्फत सञ्चालन हुने उक्त सेवामा हाल १६ सिट क्षमताका ३ वटा ईभी गाडी सञ्चालनमा ल्याइएको छ। करिब २ करोड २५ लाख रुपैयाँ लगानीमा १५ जना व्यवसायीहरूको संयुक्त लगानी रहेको शान्तिपुर बजार व्यवस्थापन समिति अध्यक्ष तथा सेवा सञ्चालक तेज बहादुर थापाले बताए ।
सोहि क्षेत्र चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीको प्रमुख आतिथ्यतामा सम्पन्न शुभारम्भ कार्यक्रममा वातावरणमैत्री र सर्वसुलभ यातायात सेवाले यस क्षेत्रका नागरिकलाई राजधानीसँगको पहुँच सहज बनाउने तथा इन्धनको वैकल्पिक प्रयोगमार्फत राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने अध्यक्ष केसीले बताए ।