© 2026
काठमाडौं । सरकारले आगामी सोमबारदेखि जेठ १ गतेसम्म देशभरका संघ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गनिर्देशन २०८३ जारी गर्दै सबै सरकारी निकायलाई अनिवार्य सहभागिताका लागि निर्देशन दिएको हो।
स्वच्छ, स्वस्थ र व्यवस्थित कार्यालय वातावरण निर्माण गर्ने उद्देश्यसहित सुरु हुन लागेको अभियानको शुभारम्भ सोमबार बिहान ८ः३० बजे वीर अस्पताल बाट गरिनेछ। सोही समयमा देशभरका अस्पताल तथा सरकारी निकायमा पनि सरसफाइ कार्यक्रम एकसाथ सञ्चालन गरिने जनाइएको छ।
सरकारले कार्यालय परिसर, शौचालय, क्यान्टिन, भान्साघर, सार्वजनिक स्थल तथा फोहर व्यवस्थापनको अवस्थाको मापन गर्दै सरसफाइमा कडाइ गर्ने तयारी गरेको छ। साथै, सेवाग्राहीको अनुभव र संस्थागत स्वच्छतालाई समेत मूल्याङ्कन गरिने भएकाले अभियानलाई केवल औपचारिक नभई परिणाममुखी बनाइने बताइएको छ।अभियानमार्फत सार्वजनिक निकायमा स्वच्छता संस्कृतिको विकास गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउने लक्ष्य राखिएको छ।