Butwal Today

उपसभामुखको स्पष्टिकरण : प्रधानन्यायाधीश कार्यक्षमताका आधारमा सिफारिस गरिएको हो

२६ बैशाख २०८३, शनिबार
अ+
अ-

काठमाडौं । उपसभामुख रुवि कुमारी ठाकुरले प्रधानन्यायाधीश सिफारिस प्रक्रिया कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको बताउँदै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छन्। फेसबुकमार्फत सार्वजनिक गरिएको आफ्नो धारणामा उनले न्याय प्रणालीप्रति जनतामा लामो समयदेखि गुनासो रहँदै आएको उल्लेख गर्दै मुद्दा टुंगिन ढिलाइ हुनु न्याय प्रणालीको गम्भीर चुनौती भएको बताएकी छन्।

उपसभामुख ठाकुरले न्यायिक नियुक्ति प्रक्रिया योग्यता, क्षमता र कार्यसम्पादनका आधारमा हुनुपर्नेमा जोड दिँदै राजनीतिक दल वा प्रभावका आधारमा गरिने नियुक्तिले नकारात्मक परिणाम निम्त्याउने टिप्पणी गरेकी छन्।

उनले लेखेकी छन्, “प्रधानन्यायाधीश सिफारिस कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको छ, यसमा कुनै किन्तु–परन्तुको आवश्यकता छैन।” साथै उनले राज्यका सबै अंगले देश, जनता र संविधानको हितलाई सर्वोपरि राखेर काम गर्नुपर्ने बताउँदै निष्पक्ष, सक्षम र जिम्मेवार न्याय प्रणाली नै लोकतन्त्रको आधार भएको उल्लेख गरेकी छन्।

विशेषतः उनले आफ्नो धारणा नेपाली र मैथिली दुवै भाषामा सार्वजनिक गरेकी छन्। उक्त पोस्टसँगै ‘च्याट जीपीटी’को स्क्रिनसट समेत साझा गरेपछि सामाजिक सञ्जालमा यस विषयले थप चर्चा र बहस सिर्जना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?