© 2026
काठमाडौं । गोङ्गबु बसपार्क क्षेत्रका होटलहरूमा बस्दै आएका सुकुम्बासी बस्तीका नागरिकलाई सरकारले नागार्जुन अपार्टमेन्टमा स्थानान्तरण गरेको छ। तर अपार्टमेन्टमा सारिएपछि पनि आधारभूत सुविधा नपाएको भन्दै विस्थापित परिवारहरूले असन्तुष्टि जनाएका छन्।
सरकारले ४० परिवारका ९३ जनालाई अपार्टमेन्टमा राखेको भए पनि पूर्वतयारीबिनै स्थानान्तरण गरिएको उनीहरूको गुनासो छ। विस्थापित परिवारका अनुसार शुक्रबार साँझ करिब ७ बजेतिर आफूहरूलाई अपार्टमेन्टमा ल्याइएको थियो, तर कसले र किन त्यहाँ ल्याएको भन्नेबारे स्पष्ट जानकारी दिइएको थिएन। खानेपानीको उचित व्यवस्था नभएकाले सुरुवातमै त्यहाँ तनावपूर्ण अवस्था सिर्जना भएको बताइएको छ। पछि दैनिक प्रयोगका लागि पानीको व्यवस्था गरिए पनि नियमित खानेपानी आपूर्ति अझै व्यवस्थित हुन नसकेको स्थानीयहरूको भनाइ छ। स्थानीय तह, प्रहरी र सम्बन्धित निकायबीच समन्वय गरेर समस्या समाधान गर्ने प्रयास भइरहेको जनाइएको छ।
मनोहरा बस्तीबाट विस्थापित भएका विश्वनाथ दाहालले सरकारले प्रयास गरे पनि व्यवस्थापन प्रभावकारी नभएको बताए। उनले भने, “हामीलाई यहाँ कति दिन राख्ने हो, कसरी व्यवस्थापन गर्ने हो, खानेकुरा र अन्य सुविधा के हुन्छ भन्ने केही स्पष्ट छैन।” अधिकांश परिवारमा दीर्घरोगी बिरामी रहेकाले स्वास्थ्य उपचारमा थप समस्या भएको उनीहरूको भनाइ छ। दुवै मिर्गौला फेल भएकी मुना खनाललाई हप्तामा दुई पटक वीर अस्पताल मा डायलासिस गर्न जानुपर्ने बाध्यता छ। आर्थिक अवस्था कमजोर र विस्थापनपछि अस्पताल पुग्नसमेत कठिन भएको उनले बताइन्।
हाल एम्बुलेन्सको अस्थायी व्यवस्था गरिएको भए पनि आगामी दिनमा सेवा निरन्तर रहने वा नरहनेबारे आफूहरू चिन्तित रहेको विस्थापित परिवारहरूको भनाइ छ। खोला किनारमा रहेको आफ्नो सानो घरसमेत गुमेपछि अब आफूहरूसँग केही बाँकी नरहेको उनीहरूले बताएका छन्। विस्थापित परिवारहरूले सरकारले जसरी हटायो, त्यसरी नै व्यवस्थित पुनर्स्थापना गर्नुपर्ने माग गरेका छन्। आफ्नै नाममा जग्गा उपलब्ध गराउन, उचित छानबिन गर्न तथा दीर्घकालीन पुनर्स्थापनाको स्पष्ट योजना ल्याउन उनीहरूले सरकारसँग आग्रह गरेका छन्।