© 2026
काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई लिएर नेपाल–भारतबीच लामो समयदेखि चल्दै आएको सीमा विवाद फेरि चर्किएको छ। यसैबीच भारतले नेपालसँग छलफल गर्न तयार रहेको संकेत दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रबिन्द्र जैसवालले पत्रकार सम्मेलनमा बोल्दै भारत नेपालसँग रहेका सबै विषयमा संवाद गर्न खुला रहेको बताएका छन्। उनले सीमा विवादलाई वार्ताबाट समाधान गर्न सकिने भन्दै औपचारिक छलफलको सम्भावना खुला राखिएको संकेत गरे।
तर उनले लिपुलेकमार्फत हुने कैलाश मानसरोवर यात्रा नयाँ विषय नभएको दाबी गर्दै नेपालका केही दाबीहरूलाई “एकतर्फी” भनेका छन्। उनका अनुसार, “यदि सीमा विवाद छ भने छलफल गर्न तयार छौँ, तर एकतर्फी दाबी उचित होइन।”यसअघि भारत र चीनले जुनदेखि अगस्टसम्म लिपुलेक नाका हुँदै मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने तयारी गरेपछि नेपालले कडा आपत्ति जनाएको थियो। त्यसपछि नेपालले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएको थियो।
नेपालको परराष्ट्र मन्त्रालयले भने सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको स्पष्ट अडान दोहोर्याएको छ। नेपालको विरोधपछि भारतले ती क्षेत्रलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको थियो। तर अहिले पहिलोपटक भारतले सार्वजनिक रूपमा वार्ताका लागि तयार रहेको संकेत दिएपछि यो विषय फेरि कूटनीतिक छलफलको केन्द्रमा आएको छ।